28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

कविता नारी

मनकी धनी मायाँकी खानी कोमल फूल सरी
सृष्टिकर्ता सधैँ भरी अमर रहन्छिन् नारी
कुल घरान माइतीको इज्जत राख्छु भनी
भत्केका घर सिंगारी वस्ने सुनौला सपना बुनी
यी नै नारी छोरी, बुहारी, आमा भइकन सासु
्धर्तीसरी सहेर पीडा, वस्छिन् झारेर आँशु
इच्छा, चाहना, मनै मारी अरु हँसाउनु पर्ने
हाँसो, खुसी बन्धक राखी बाध्यतामा बाँच्नु पर्ने
टुहुरा बनाई लाला र बाला नफुटेका बोली
मरेका थे सती बनेर जिउँदै चितमा जली
शान्ति–सुव्यवस्था ल्याउन गरेका आन्दोलनमा
कहिँ पछि हटेका नजिर छैन इतिहासमा
दिनदिनै अझ पनि परेकै छ बेचिनुलाई
देउकी, झुमा, छाउपडी परेकै छ भोग्नलाई
गणतन्त्र, लोकतन्त्र आएपनि देशमा
बिलो हिस्सा दिइ राखे आरक्षणको नाममा
समान काम समान ज्याला कानुन लेखे पनि
श्रम शोषण भएकै छ आजका दिनमा पनि
मागेको दाइजो माइतीबाट नल्याएको भनि
जिउँदै पेट्रोल छर्की मारे रुँदै कराए पनि
कुनै कुरामा निर्णय गर्न खोेजे भने नारीले
पोथी बास्यो भनि उपहास गर्दछन् सब जनाले
सहनशील क्षमता अनि अदृश्य छन् शक्ति
सब घरबार स्वर्ग बन्छ, गरे नारी भक्ती
कयौं नारी पिंजडासरी छन् घरकै मझेरीमा
आफन्तै बाट लुटिएकी छन् पानी पँधेरीमा
जति उत्तम कानुन बनेपनि नारी हितमा
नाताबाद र कृपावादले सिमित कागजमा
जाति, भाषा, पेशा, धर्ममा हुँदैन फुट्न
अधिकार लिन एकभई पर्छ नारी जुट्न
पिडाहरु हामी नारीले पाउनसम्म पाइयो
अब हाम्रो देशमा पनि नारी हित चाहियो
आउन सब मिली उठौं, जुटौं नारी हिंसा रोक्न
आफ्नो काँधमा आएको सबै जिम्मेबारी बोक्न
पहिल्यै देखि उठेकै हो नारी हितका कुरा
तर कस्तो विडम्बना सकेको छैन हुन पूरा
विकृती र कुसंस्कारको जरो अब तोड्नु छ
हटी होइन डटी सब नारी अघि बढ्नु छ
आफ्नै आमा, दिदी बहिनी विर्सी मारेका छन् कुटी
कतै पाए खुवाउन हुन्थ्यो मानवतको बुटी
एक जुट बनौं नारी हुँदैन बस्न चुपलाई
निर्मला, भागरथी, सम्झनालाई छाडौं न्याय दिलाई
विश्वकै उत्कृष्ट संविधान हुन्छ कि त बेकार
नारी हिंसा बलात्कार रोक्ने बनोस् सरकार
अधिकार, न्याय नपाई भा छन् नारी विवश
नारा, जुलुस, भाषणमा सिमित नहोस् नारी दिवस
मिनु सेन्च्युरी व्यास–१ तनहुँ

Related posts

बाह्रौं साधारण सभा सम्पन्न

admin

सम्मान

admin

जनयुद्ध दिवसको सन्देश

admin