23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिमा नेकाको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको जनाएको छ ।
संविधानले प्रत्याभूत गरेको फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न पाउने हक विरुद्ध अभिव्यक्ति दिनुले प्रधानमन्त्रीको अधिनायकवादी आकांक्षालाई थप उजागर गरेको कांग्रेसले प्रष्ट पारेको छ । उसले भनेको छ, कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो ।
माघ १२ मा कांग्रेसले जारी गरेको विज्ञप्तीमा सम्मानित र पाका अधिवक्ताले सम्मानित सर्वाेच्च अदालतमा गरेको वहसलाई तमासाको संज्ञा दिनु सम्पूर्ण जेष्ठ नागरिकको अपमान भएको भन्दै कांग्रेसले आलोचनामा समाचार लेख्ने पत्रकारलाई नर्क जान्छन् भन्नु प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति भएको र पूर्व प्रधान न्यायाधीशहरुलाई अजासु भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट भएको उल्लेख गरेको छ ।
प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरुले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेको भन्दै कांग्रेसले उनको प्रवृत्ति दुःखद मात्रै नभएर लज्जास्पद समेत भएको उल्लेख गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रुपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनैपनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई कांग्रेसले चेतावनी दिएको छ । आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदायका हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत प्रधानमन्त्रीले तिनको भन्दा बढी आफ्नै अपमान गरिरहेको कांग्रेसको ठम्याई छ ।

Related posts

हराउँदै गरेका विद्यालयहरु

admin

हाम्रो घर

admin

मुटु दिवसमा बृद्धाश्रममा कार्यत्रम गरिने

admin