Tanahun Awaj
Uncategorized

लयमा फर्किए विद्यालय

दमौली/कोरोना भाइरस डिजिज–१९ का कारण लामो समयदेखि नियमित विद्यालय जान नपाएका विद्यार्थीहरु कोरोना कहर कम भएसंगै विद्यालय जान थालेका छन् । 
आइतबारबाट काठमाण्डौं उपत्यकाका विद्यालयहरु खुलेका छन् भने तनहुँका अधिकांश विद्यालयहरु खुलेका छन् । व्यास नगरपालिका भित्रका विद्यालयहरु पनि असोजबाट आंशिक सञ्चालनमा रहेकामा माघ, ४ गते आइतबारबाट नियमित रुपमा सञ्चालन भएका छन् । 
तनहुँकै घिरिङ, शुक्ला गण्डकी लगाएतका स्थानीय तहका विद्यालयहरु यस अघिनै  नियमित अर्थात १०–४ सञ्चालन भएका भएपनि व्यास नपा भित्रका विद्यालय कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सावधानी अपनाउँदै दैनिक ४ घण्टामात्र सञ्चालनमा थिए । कोभिड संक्रमणको जोखिम कम भएको भन्दै व्यास नगरपालिकाले पालिका भित्रका विद्यालयहरु नियमित सञ्चालन गर्न निर्देश जारी गरेसंगै यहाँका विद्यालयहरु पनि नियमित भएका हुन् । 
यसैबीच कोरोना संक्रमणको जोखिम पुनः देखा परेमा सिकाई निरन्तरताको लागि नेपाल टेलिकमको सियुजी सिम मार्फत पठनपाठनको व्यवस्था मिलाउने विषयमा समेत केही विद्यालयले प्रक्रिया अगाडि बढाएका छन् । सियुजी सीम प्राप्त विद्यार्थीका लागि ग्रुपमा संलग्न व्यक्तिहरुबीच असिमित कल सुुविधा रहने व्यवस्थाका अतिरिक्त पाठ्य सामग्री हेर्न मिल्ने डाटा समेत विद्यार्थीले  पाउने छन् ।  सीयुजी(क्लोज युजर ग्रुप) सिम विद्यार्थीले निःशुल्क पाउने छन् । असिमित निःशुल्क कल र डाटाको लागि आवश्यक पर्ने शुल्क भने नेपाल सरकारले स्थानीय सरकार मार्फत व्यहोर्ने छ । यो शुल्क मासिक एकसय २९ रुपैयाँ हुनेछ । यसका लागि आवश्यक रकमा स्थानीय सरकारहरुलाई पठाईसकिएको सरकारले जनाएको छ । 

Related posts

राहत वितरण स्थगित

admin

चर्चामा कांग्रेस युवा नेता

admin

देउराली नगर र झापुटार जोड्न पक्की पुल

admin