22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

झरिले दिएको पीडा र सिकाएको पाठ

छविदीप आले
[email protected]

– असारे महिनामा पानी प¥यो रुझाउने
एक्लो मेरो यो मन कसरी बुझाउने…
–असारे महिना सिमसिमे पानी परिरहेकै छ नि
तिमीलाई भेट्न भनेर छाता ओढेर आ’को सानी…
–झरी परेछ, हुस्सु र कुहिरोले मेरो मायालुको गाउँ छेकेछ….
असारको महिना, बर्षायाम, झरी पर्ने समय, असारको महिनामा पर्ने झरीलाई लिएर धेरै गितहरु सिर्जना गरिएका छन् । यो बर्ष पनि असार महिनामा झरी प¥यो । राम्रैसंग प¥यो, धेरै ठूलो झरी प¥यो, । यस पटकको असारको झरीले सर्जकहरुलाई सृजना गर्ने माहोल बनायो कि बनाएन त्यो त थाहा भएन । यो बर्षको झरीले चोट र पीडाहरु भने धेरै ठूलो दिएको छ ।
‘बाह्र बर्षमा खोला पनि फर्कन्छ’ यो एउटा प्रचलित र नेपाली जनजिब्रोले प्रयोग गरिरहने उखान हो । प्राकृतिक तत्वको प्रयोग गरिएको यस उखानको अर्थ भने आलंकारीक छ । मानिहरुले यो उखानलाई आफ्नो परिस्थिति अनुकूल प्रयोग गर्ने गर्दछन् । जस्तै यदि कसैको खराब समय चलिरहेको छ, सोंचे अनुसार कार्य सफलता प्राप्त भएको छैन भने त्यस्तो अवस्थामा बाह्र बर्षमा खोला त फर्कन्छ भन्छन्, मेरो पनि कसो दिन नफर्केला र ? भन्ने मनसायमा यस्को प्रयोग गर्न सकिन्छ । यस्तै कोही कसैसंग सम्बन्ध विग्रियो, सम्बन्धमा चिसोपन आयो र लामो समयसम्म पनि सम्बन्ध सुध्रेन भने बाह्र बर्षमा खोला पनि फर्कन्छ भन्थे । तै उसको मन फर्किएन भन्ने आशयमा पनि यो उखान प्रयोग गर्न सकिन्छ । जे होस् समय परिस्थिति र अवस्था फरक भएपनि यो उखानको अर्थ भने एउटा समय चक्र पुरा भएपछि त्यो दिन अर्थात सुरुवात कै अवस्था आउँछ भन्ने हिसाबमा बुझ्दा गलत नहोला । अर्थात भनौं,व कुनै एउटा विन्दुबाट शुरु भएको खोला, लामो समयसम्म (बाह्र बर्ष) यात्रा गरिसकेपछि पुनः त्यही विन्दुमा आईपुग्छ । सोझो अर्थमा यसरी पनि बुझ्न सकिन्छ ।
पंक्तिकारलाई नेपाली उखान टुक्का सम्बन्धी त्यति गहिरो ज्ञान नभएको हुँदा यसको धेरै विश्लेषण गर्न तर्फ लाग्न उचित ठानिन किन भने कतिपय नेपाली उखान टुक्काले दिने भित्री अर्थ र जनमानसले त्यसलाई प्रयोग गर्दा आउने अर्थमा भिन्नता पनि पाईन्छ । जस्तो कि ‘मर्ने बेला हरियो काक्रो’ । ‘बाँदरको हातमा नरिवल’ जस्ता उखानको भित्री अर्थ र जनमानसले प्रयोग गर्दा आउने अर्थमा कतिपय अवस्थामा भिन्नता पनि पाईन्छ । यसैपनि उखान टुक्काको विश्लेषण गर्नु मेरो क्षमता भन्दा परको कुरा हो र यो आलेखको आषय पनि होइन । त्यसैले उखान, टुक्का सम्बन्धी वातचितलाई यही विश्राम लिँदै आलेखेको आशय तर्फ उन्मुख हुन चाहन्छु ।
जनजीवनमा आईपेर्न समस्या र अवस्थाहरुलाई सम्बोधन गर्न आलंकारिक रुपमा बनाइएको उखान, ‘बाह्र बर्षमा खोलामा पनि फर्किन्छ ।’ यतिखेर प्राकृतिक रुपमै चरितार्थ भएको छ, सत्य सावित भएको छ । अर्थात साँच्चै नै खोला फर्किएको छ, तर बाह्र बर्ष भन्दा पनि लामो समय पछि सायद पुग नपुग दुई बर्ष पछि यो हप्ता परेको मुसल धारे पानीले सानातिना खोल्साखाल्सीदेखि लिएर ठूला ठूला खोला र नदीनालाहरुमा पनि उर्लापात मच्चाएको छ । हुन त बर्षामास झरीको मौसम हो, त्यसैले प्रत्येक बर्ष हिउँदमा भन्दा बर्षामा खोलानालाहरुमा पानीको मात्रा बढी नै हुन्छ । अपवादमा कुनै बर्ष खडेरी परेमा मात्र । नत्र बर्षामा नदीनाला र खोला खोल्सी बढ्नु सामान्य कुरा नै हो । तर गत सोमवार विहान खोला र नदीको जुन रुप थियो, त्यो दुई दशक यताकै भिषण रुप । खोला नदीको त्यो बेग, रफ्तार र गडगडाहट देख्दा लाग्थ्यो, दुई दशकको लामो यात्रा पछि खोला फर्किएको छ । यति लामो समयसम्मको आफ्नो अविरल यात्रा पछि फर्केको खोलाले हामीलाई धेरै पीडा दिएको छ र गहिरो पाठ सिकाएको छ ।
बर्षाको समयमा पर्ने झरीले तराई मधेशका विभिन्न क्षेत्रहरु डुवानमा पर्नु, धनजनको क्षति हुनु, जनजीवन अस्तव्यस्त हुनु, यो नेपालको बषौंदेखिको पीडा हो । बर्षादमा तराईमा बाढीले धेरै समस्या निम्त्याउँछ । पहाडी क्षेत्रहरुमा पनि पहिरोको कारणले धनजनको क्षति भएको खबरहरु सुन्नमा आईरहन्छ । यो हप्ता परेको झरीको कारण गएको पहिरोमा परी दर्जनौं व्यक्तिहरुले ज्यान गुमाउनु परेको खबर मुख्य समाचारका रुपमा आईरहेको छ । तनहुँकै सन्दर्भमा कुरा गर्दा पनि बुल्दी, मादी र सेतीको भिषण रुप, त्यसले गराएको क्षति र पहिरोमा भएको मानवीय क्षति लामो समय अन्तराल पछिको प्राकृतिक विपत्ती र दुःखद घटना हो । नेपालमा यतिखेर दुईवटा समस्याले सताई रहेको छ । एउटा विश्वव्यापी महामारी कोरोना र अर्को लाखौंको संख्यामा प्रवेश गरेको सलह किरा । तर साच्चै नै भन्ने हो भने नेपालको अधिकाँश ठाउँमा यो हप्ता कोरोना र सलह भन्दा पनि धेरै त्रास झरीको रह्यो । कति बेला पहिरोमा पुरिने वा कतिबेला बाढीले घर बगाउने हो भन्ने त्रासमै वित्यो कैयौं नेपालीको यो हप्ता । कतिले पहिरोमा पुरिएर ज्यान गुमाउनु प¥यो, कतिको घर पहिरोले लग्यो, कतिको रोेपेर राखेको खेतहरु बाढीले बगरमा परिणत ग¥यो । कतिको गाई बस्तु बगाई, कतिको धेरै नै बगायो । हे इश्वर कस्तो विडम्वना !
साँच्चै नै यो हप्ताको झरीले धेरै नेपालीलाई पीडा दिएको छ । गहिरो पीडा सायद कहिल्यै झुल्न नसकिने पीडा । एकै घरको चार पाँच जनासम्म एकै चिहान बनाई दिएको छ झरीले । कतिको रोपी राखेको खेत बगर बनाएर गास खोसेको छ, कसैको घर भत्काएर बास खोसेको, कसैको सुद्धासुदै निंद्रामै सास खोसेको छ । धेरै कुराहरु खोसको छ, यस पटकको झरीेले । जसरी दर्किर पानी परेको थियो । त्यसरी नै दर्किएर आँशु झरेको धेरै नेपालीको आँखाबाट । केटाकेटी सम्झी सम्झी रोए जस्तो दर्कदै विसाउँदै, दर्कदै विसाउँदै गरेका झरीले त्यसरी रुन बाद्य बनाएको छ धेरैलाई ।
यस पटकको झरीले जुन क्षति गराएको छ, त्यसलाई शब्दमा उल्लेख गर्न सम्भव पनि नहोला । झरीको कारणले बाढी पहिरोमा परी ज्यान गुमाउने र हुन गएको क्षतिप्रति एउटा आमनेपालीको नाताले मेरो पनि गहिरो दुःख छ । तर यहाँनेर म अलिकति प्रसंग कोट्याउन चाहन्छु, किन र कसरी भयो, त्यति धेरै क्षति ? सत्य होला नहोला, उक्त कुरा पंक्तिकारलाई के लाग्छ भने झरीले त्यति ठूलो क्षति हुनुमा कहिँ न कहि हाम्रै हात छ । खोला नदीमा आएको बाढीले अधिकाँश नदी किनारमा भएको घरखेतलाई असर पार्ने हो । नदीले आफ्नो बाटो
छोड्दैन । बीचमा अवरोध आएपनि उसले आफ्नो बाटो बनाई छोड्छ । खोला नदीको बाटो नै छेकेर खोला नदीलाई कुलो जतिको ठाउँ छोडेर मिचेरै खोला नदीको किनारामा बसोबास गरेपछि बाढीले क्षति पु¥यायो भनेर दुःख मनाउनु कि आफ्नो मुर्खतामा पश्चाताप गर्नु ? बाढीले पु¥याएको क्षतिप्रति मेरो पनि पुरै सहानुभूति छ । तर यसो विचार गरौं त हर ठूला खोला नदीको छेउछाउ मानिसले मिचेरै भौतिक संरचना बनाएका छन् । यस्तो अवस्थामा बाढीले क्षति पु¥याउनु प्रकृतिको दोष कि हाम्रो ? अहिले विकासका नाउँमा गाउँ गाउँमा हरियो डाँडाहरुलाई डोजरले चिरिएको छ । आफ्नै हिसाबले खनिएका ती बाटोहरु न त बैज्ञानिक छन् । प्रकृति मैत्री नै । अनि त्यस्तै ठाउँमा गएका छन् पहिरोहरु । अब यहाँ नेर दोष कस्को ? हाम्रो कि प्रकृति को ?
कसैको भावनामा ठेस पु¥याउनु वा कसैको घाउमा नुन चुक छर्कनु मेरो मनसाय होइन । विलकुल होइन । मेरो आषय त खाली के मात्र हो भने कति पय अवस्थामा हामीले सुख र सुविधाको लागि प्रकृतिको नियमलाई नै मिच्न खोज्यौं । त्यसैले प्रकृतिले समय समयमा आफ्नो रुप देखाउँदा हामीले नै क्षति भोग्नु प¥यो । कतिपय अवस्थामा हामीले पूर्ण सर्तकता अपनाउन पनि सकेनौं । जस्तो कि २०७२ बैशाख १२ को भूकम्प पछि हामीले भौतिक संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनु पर्ने नियम त जान्यौं तर भूकम्प प्रतिरोधी भवनहरु पनि हामीले नदी छेउ वा पहिरोको जोखिम भएको ठाउँमा बनायौं । यहाँनेर गल्ति त प्रष्ट हाम्रै हो । यसर्थ क्षति त हामीलाई हुनुनै छ । दोष कस्लाई दिनु ?
कहिले काही सर्तकता अपनाउँदा अपनाउँदै प्राकृतिक प्रकोपको चपेटामा पर्नु अलग कुरा हो । तर धेरै जसो प्राकृतिक प्रकोपले हुने क्षतिहरुमा मानवीय गल्ती र अविवेकी निर्णयहरुकै हात रहन्छ । त्यसैले हामीले गर्ने हरेक कार्यहरु यथासमयमा प्रकृति मैत्री हुनु जरुरी छ । यसपालीको झरीले हामीलाई यही पाठ सिकाएको छ ।

Related posts

पाक कला सिक्दै सिद्धेश्वरीका विद्याथी

admin

कोरोना: संक्रमण बढ्दै, सावधानी घट्दै

admin

आवश्यकताले भन्दा पनि लहडमा खर्च

admin