22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

ओम्नी प्रकरणः दोषी नछुटुन्

संसदको सार्वजनिक लेखा समितिको पौष ३ गते शुक्रबारको वैठकले ओम्नी समूह मार्फत गत चैत्रमा चीनससंग गरिएको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै थप अनुन्धान गरी संलग्न सबैलाई आवश्यक कानुनी कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धानलाई पत्राचार गर्ने निर्णय गरको छ । खरिदमा को–को संलग्न थिए, उनीहरूको भूमिका के थियो, के कारणले उनीहरू दोषी देखिए र कानुनविपरीत मिलेमतोमा खरिद गर्दा राज्यकोषमा कति नोक्सानी भयो भन्नेजस्ता आधारभूत तथ्य केलाउने अभिभारा र जनअपेक्षाबाट लेखा समिति पछि हटेको भएपनि अखबारको समाचार बनेको ओम्नी मार्फत भएको भ्रष्टाचार प्रकरण अब सार्वभौम संसदको ठहर बनेको छ ।

ओम्नी मार्फत ल्याएका पाँचवटा पिसिआर मेसिनले कामै नगरेको, आडिटी किटले कामै नगरेको तथा सामान्य बजार मूल्यभन्दा झण्डै दोब्बर मूल्यमा स्वास्थ्य सामग्री ल्याएको थाहा पाउँदा पाउँदैपनि स्वास्थ्य  मन्त्रीको ओम्नी मार्फत ल्याएको स्वास्थ्य सामग्रीले कोरानाको आगलागीलाई नियन्त्रण र न्यूनिकरण गर्न सहयोग गरको भन्ने अभिव्यक्तिले भने सबैलाई आश्चर्यमा पारेको छ । 

कोरोना ढिलो चाँडो हामी कहाँ आउँछ भन्ने थाहा थियो तर माघ २५ मा सुरु भएको स्वास्थ्य सामग्री प्रक्रियालाई ४८ दिनसम्म कुनै निर्णय नगरेर महामारी सुरु भएपछि हतार हतार ओम्नीलाई सामग्री खरिद गर्ने अधिकार प्रदान गर्नुले नहुनुपर्ने केही भइरहेको छ भन्ने सबैलाई लागेको थियो । जे आम मानिसलाई लागेको थियो, त्यही भयो । त्यसमा अनियमितताको नियत लुकेको रहेछ ।

कोरोना महामारीका कारण आफुहरु त्रसित भएका बेला अभिभावकको रुपमा रहेको सरकार भने भ्रष्टाचारमा लिप्त थियो भन्ने तथ्य थाहा पाउँदा आम नागरिक के भनिरहेका होलान ? आफुले मत दिएर पठाएका प्रतिनिधिले नै आफ्नो स्वास्थ्य माथि खेलवाड गर्ने र महामारीमा समेत भ्रष्टाचारमा रमाउने गरको थाहा पाएर उनीहरुमा आक्रोष उत्पन्न हुनु स्वाभाविक हो । अब आवश्यक छानविन र दोषीमाथी कारवाहीको प्रक्रिया अगाडी बढाउने जिम्मा अख्तियारको जिम्मामा आएको छ । अख्तियारले कुनै राजनैतिक दवाव र प्रभावमा नपरी दोषीहरुमाथी कारवाही प्रक्रिया अगाडी बढाओस् भन्ने सबैको अपेक्षा छ । राज्यलाई करोडौंको नोक्सान गराउने र जनस्वास्थ्यमा खेलवाड गर्ने जो कोही माथी खुट्टा नकमाई कारवाही गरोस् ।

Related posts

नेपाल–दाहाल अभिष्ट समृद्धि कि सत्ता ?

admin

कार्यकारीको सल्लाहकार कता ?

admin

जोशी सरलाई बलिको बोका बनाउदा कांग्रेसमा कसलाई के फाइदा ?

admin