30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

भेंडा नै हो त ?

विष्णुप्रसाद सिग्देल

सामान्य अर्थमा भेंडा बाख्रा बर्गकै एक प्राणी हो । भेंडा र बाख्रामा केही समानता केही भिन्नता छन् । बाख्रो अलि स्वऐच्छिक स्वभावको आफ्नै पाराले एक्लाएक्लै हिंडी आफ्नो दिनचर्या निर्वाह गर्न सक्ने, संगिसाथीको लहलहैमा एकैतिर नजाने अलग अलग बाटो तय गरी उदरतृप्तीको लक्ष्य पुरा गर्न सक्ने भेडाको तुलनामा अलि बाठो भएर होला उपमासंग कम जोडिन्छ । जोडिन गै हालेपनि लठ्ठक, ग्वाँगो, एकहोरो, मुढ, मूर्ख तर्फ संकेत गर्दैन । छिटो हिड्ने, छुसछुस तलमाथि, दायाँबायाँ लाग्ने, खन्चुवा र चन्चले प्रबृत्तिको हुनाले, त्यस्तै स्वभावसंग तुलना गर्न पर्दा भने ‘बाख्रो जस्तो’ भन्ने गरिन्छ । यस अर्थमा विवेकहिन, ठीक बेठीक पहिचान गर्न नसक्ने, मुढो अर्काले जे ग¥यो त्यही गर्ने भन्ने तर्फ इंगित गरिदैन तर ‘भेडा जस्तो’ भनियो भने, त्यो शब्दको अर्थ अलि भिन्न हुन जान्छ । भिन्नै बुझिन्छः अथवा । गतिलो, बुद्धिमान, चलाख तर्फ संकेत गरेजस्तो लाग्दैन । यसले एउटाले जे ग¥यो, सबैले त्यही गर्ने, गर्नै नहुने पनि देखासिखीमा गर्ने, आफ्नो विवेक नभएको अर्थलाई पुष्टि गर्दछ । हुन त विभिन्न प्राणी फलफुल, बोट विरुवा र रुपरंग संग पनि मानिसका स्वभाव र विशेषता दाँज्ने गरिन्छ जस्तो कि ‘सिंह’ भन्यो भने बलियो, स्याल जस्तो भन्यो भने लोभि, स्वार्थी र कपटी । गोही जस्तो भन्दा सुति रहने, भैंसी जस्तो भन्दा सफा फोहोरको थाहा नभएको, जस्तोमा बस्ने फर्सि जस्तो भन्दा होंचो आदि, आदि यस्ता अनेकौं उदाहरणहरु छन् तर ‘भेंडा’ शब्दले लक्षित गर्न खोजेको यथार्थ के हो त यसैमा जोड दिन मन लाग्यो । भेंडा जस्तो भन्ने शब्द भाषणवाजीमा बढी प्रयोग गरेको पाईन्छ । त्यो पनि पराजयको झोंक पोख्दाका बखतमा । म ठूलो हूँ, मैले भनेको सबैले मान्नु पर्दछ भन्ने महत्वाकाँक्षी आकाँक्षाले ग्रसित भै चुनावी मैदानमा पुगेका र आफ्नो बडपन जनताद्वारा अमान्य हुँदा जनतालाई भेंडाको संज्ञा दिईएको विगतका केही वक्ताबाट व्यक्त गरिएको, भाषणको रन्को कतिपयको कानमा अझै पनि गुञ्जायमान हुँदै होला । एकै उर्दीको भरमा हरहर्ति निस्कने, भन्नासाथ सबै निर्देशन शिरोपर गर्दछन् भन्ने आडम्बरी सोंच र हेपाहा दृष्टिकोणले जमाएको डेराबाट चियाएर मात्रै हेर्ने र गहिरो अध्ययन नगरी चिटिङ्ग गरेको भरमा ‘ब्’ ग्रेडको प्रमाण पत्र लिएर प्रतिष्प्रधाका सबै परिक्षामा पछाडीबाट प्रथम हुने विद्यार्थीको हविगत र मञ्चमा तालिको गडगहाट र रमिते उपस्थितिबाट उक्सिएका नेता उस्तै हुन् । विद्यार्थीले आफू कमजोर भएको भन्दैनन् । बरु आफू माथि पक्षपात भएको भनि अर्को तर्फ औला तेस्र्याउँछन् । त्यस्तै नेताले आफूभन्दा अब्बल, योग्य, दक्ष र समाजसेवी अर्को पनि हुन सक्दछ भन्ने नसोंचेर प्रतिष्प्रधामा पछाडि परे जनतालाई बचनको बाँण हानि हाल्छन् । जिताए वापत दिने संज्ञा केही छैन । जनताले पाउने केही हुँदैन । जितेको र जिताएको प्रमाण पत्रले झुपडीबाट महलमा पु¥याउँछ, साईकलबाट विलासी कारमा, चप्पलेबाट सुटबुटमा बदलि दिन्छ । संगै हिडेका साथी नचिन्ने बनाई दिन्छ । हिजो खाएको खाना नरुच्ने हुन्छ । पाखा पखेरामा हिड्नेको अगलबगल सुरक्षादस्ता तैनाथ हुन्छ । उसंग भेट्नका लागि अनुमति लिनु पर्दछ । उ असामान्य संसारमा सैर गरिरहेको र जनता रैतीमा परिणत हुन जान्छन् । विचरा आफैले गलत ठाउँमा हानेको छापको करामतले केही मानिसलाई भेंडा बनाई दिन्छ त कोहीलाई इश्वर ।
हुन त आफ्नो दलको वा पक्षको नाममा जनताले भेंडैले गर्ने व्यवहार पनि पाईन्छ । एउटाले भन्यो भन्दैमा सबै पछि लाग्ने, एउटा भिरबाट लड्यो भने सबै भेंडा लडेजस्तै लहलहैमा पछि लाग्ने प्रबृत्तिका एकाध उदाहरणबाट जनता जनार्दनलाई भेँडा भन्न नसुहाउने स्थिति पनि छैन । राम्रोलाई पाखा लगाएर सडीतमलाई हाम्रो भन्दै निधारमा अविर घस्न पुग्ने र पछि पछुताउनु पर्ने विवेकलाई भेंडा भन्दा विघ्नै आगो बन्नु नपर्ने हो कि ? विवेकशिल प्राणी भनिएको मानिस जब जब चुनाव आउँछ भेंडाकै बानी, व्यवहार र चरित्रको पटक पटक किन प्रदर्शन गर्दछन् ? अब पनि कहिलेसम्म ‘प’ मा इज्जत साट्ने ? राम्रो छान्न सकियो र खराब पछारियो भने विजयी र पराजयी दुबै महसुस होस् कि राम्रोलाई जनताको साथ र खराबलाई तिरस्कार हुँदो रहेछ भन्ने यही पाराले हो भने खराबले सुध्रने मौका नपाउने र योग्यले क्षमता देखाउने अवसर नपाई नपाई एक्काईसौं शताब्दि पनि वित्ने निश्चित छ र जनताले भेंडाको संज्ञा पाई रहनु पर्ने हुन्छ । टपरीमा छरीदिएको सिता र झोलमा हालेको नुन चाटेर, ‘ला’ भनि फ्याकि दिएको साडी दोसल्ला गोजीमा हालि दिएको ‘मसौति’ भेंडा फकाउन ख्वाएको दाना भन्दा के नै फरक भयो र ! दाना देखाउँदा भेंडा पछि लाग्नु स्वभाविक हो तर नाना, चाचा, पापा देखाउँदा मान्छे पछि लाग्नु आश्चर्य हो ।
भेंडा भन्ने अवस्था नगराउँ, भेंडा प्रबृत्तिको अन्त्य गरौं । खराबले टाउको उठाउने दुस्साहस नगरोस्, असल निराश बन्ने स्थिति नआओस्, अनुहार होइन कर्म हेरौं, नैतिकता र धर्म हेरौं । हावाको पछि नलागौं । भेंडाको संज्ञा फेरौं ।

Related posts

उप–निर्वाचनको सन्देश-सत्ताधारी सच्चिनु, प्रतिपक्षले मेहनत गर

admin

बहुविवाहको कानुन र कार्यान्वयन पक्ष

admin

भट्टराई र बास्तोला पुरस्कृत

admin