Tanahun Awaj
Uncategorized

सधैं गाईजात्रा कति हेर्ने ?-सम्पादकीय

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका एकवर्ष भित्र मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा सुरु भएको भनिने ऐतिहासिक पर्व गाईजात्रा यो वर्ष भर्खरै सकिएको छ ।
आजका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी नदी पार हुन्छन् र उनीहरुलाई स्वर्गको मार्ग प्रसस्त हुन्छ भन्ने धार्मिक विश्वास नेपाली समुदाय खासगरी वैदिक सनातन धर्मानुयायीहरुमा रहेको छ ।
तर गाईजात्रा भनेर हामीले भने अलि भिन्न अर्थ लगाउने गरेका छौं । हाम्रो प्रचलनको अर्थमा गाईजात्रा भनेको कुनै काम लथालिङ्ग हुनु हो । यस हिसाबले नेपालमा यतिबेला ३६५ दिन नै गाईजात्रा चलिरहेको छ । परम्परागत गाईजात्रा हेर्न साउन महिनाको एक हप्ता कुर्नुपर्ने अवस्था छैन ।
झण्डै दुइतिहाई जनमत सहित बनेको नेकपा (नेकपा) को सरकार आफै गाईजात्रामा मग्न छ । भ्रष्टाचारका अनेकौं काण्डहरु घटित भइरहेका छन् तर सरकार प्रमुख जसले भ्रष्टाचारीको मुखसमेत हेर्दिन भनेका थिए उनै भ्रष्टाचारीको खुलेआम संरक्षण गरिरहेको छन् । मानवसभ्यताको चुनौति बनेको कोरोना भाइरस विरुद्ध कसरी लड्ने र यसबाट आम नागरिकलाई कसरी बचाउने भनेर चिन्तन र मननमा लाग्नु पर्ने बेला अनि विभिन्न प्राकृतिक विपत्तीमा परेका नागरिकको कसरी उद्धार गर्ने अनि कसरी उनीहरुलाई राहत प्रदान गर्ने भनेर त्यसतर्फ लाग्नु पर्ने बेला सत्ताधारी दलका नेताहरु कुर्सीका को रहने र को नरहने भनेर लडाईँ गरिरहेका छन् । जनताको आवाज बन्नुपर्ने प्रतिपक्षपनि त्यस्तै स्वार्थ केन्द्रीत लडाईंमा व्यस्त छ ।
राजनीतिको केन्द्रमा रहेको दलका नेताहरुलाई आम नागरिकको आग्रह छ, यो सधैंको गाईजात्राको अन्त्य गरेर नागरिक आकांक्षा अनुसारका काम गर्न तर्फ सबै लाग्नुु प¥यो । सत्ता र कुर्सीका लागि हुने छिनाझम्टी अब अति भयो । सधैको गाईजात्रा हेर्दा र भोग्दा नागरिक आजित भैसके । भो अब हामी यस्तो गाईजात्रा हेर्न तयार छैनौं ।

Related posts

प्रेस स्वतन्त्रताका पक्षमा-सम्पादकीय

admin

रोट्रयाक्ट द्धारा शैक्षिक सामाग्री वितरण

admin

वैकल्पिक मार्ग उपयोग गर्न माग

admin