28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

फेरी लडाई जुँगाको

छविदीप आले
[email protected]

नेपाली राजनीति फेरी एक पटक सत्ता लुछाचुडीको खेलतिर धकेलिएको छ । नेपाली राजनीतिमा सत्ता लुछाचुडीको खेल प्रारम्भ हुँदाको बखतमा पंक्तिकारको जन्म पनि भएको पनि थिएन । त्यो बेलादेखि शुरु भएको खेल आजसम्म निरन्तर चलिरहेको छ । र सायद धेरै पछिसम्म पनि यसरी नै चलिरहने छ । राजनीतिमा होमिई सकेपछि एउटा व्यक्तिको लागि शक्तिमा पुग्नु र एउटा पार्टीको लागि सरकारमा पुग्नु सबैभन्दा ठूलो लक्ष्य हो । उनिहरुको हरदम यही प्रयास रहन्छ जसरी एउटा प्रतियोगितामा सहभागि हुने टीमको लक्ष्य जित्नु हुन्छ र एउटा खेलाडीको लक्ष्य सर्वोत्कृष्ट खेलाडी (वेष्ट प्लेएर) को पाउनु हुन्छ । तर एउटा खेलाको पनि आफ्नै नियम हुन्छ, समय सीमा हुन्छ । तोकिएको समयसम्म सम्पूर्ण खेलाडीहरुले खेलको नियमको पूर्ण पालना गरेर अनुशासित र मर्यादित भै खेलेको खेल नै वास्तवमा हेर्न लायकको खेल हुन्छ । त्यस्तो खेल नै वास्तवमा जित्ने र हार्ने दुवै टिमलाई विजयी भएको आभाष गराउने खालको हुन्छ । राजनीति पनि एक प्रकारको खेल नै हो । यहाँ पनि सत्ताको उपाधी चुम्नको लागि प्रतिष्प्रधा हुन्छ । एउटाले जित्दा अर्कोले हार्ने गर्दछ । तर हामी नेपालीहरुको दुभाग्य के हो भने हाम्रा राजनीतिज्ञहरुले राजनीतिको खेल खेल्दा कहिल्य पनि नियमको राम्रोसंग पालना गरेनन् । राजनीतिको खेलमा अनुशासन र इमानदारीता देखाउन सकेनन् । त्यसैले होला अहिलेसम्मको नेपालको राजनीतिक खेल र परिवर्तनहरु विर्सन लायक नै रहे । यतिका बर्षमा पनि सम्झन लायक एउटै राजनीतिक परिवर्तन नहुनु, अहो कस्तो विडम्बना । कति अभागि हामी नेपाली ।
नेपाली राजनीतिमा सत्ता लुछाचुडीको लागि भएको यो पहिलो घटना होइन, न त दोस्रो, न त तेस्रो नै । यो निरन्तर चलिरहेको श्रृङ्खलामा जोडिन पुगेको एउटा कडि मात्र हो । विगतमा पनि यस्ता खेल र षडयन्त्रहरु भएकै हुन् । विगतलाई फर्केर हेर्दा ९÷९ महिनामा सरकार ढल्ने र नयाँ सरकार बन्ने गरेको उदाहरणहरु अझै पनि ताजै छन् । विगतको सत्ता लिप्सी र यस पटकको सत्ता लिप्सीमा फरक यतिमात्र हो कि विगतमा प्रतिष्पर्धा प्रतिपक्षसंग हुन्थ्यो भने यस पटक सत्ता सत्ता पक्षकै बीचमा हानाथाप भएको छ । खेल खेल्दा विपक्षी टीमलाई कसरी माथ दिने भनेर टीमका सबै खेलाडीहरु एकमत हुँदा मात्र टीमको लागि हितकर हुन्छ । आफू उत्कृष्ठ सावित हुने चक्करमा आफ्नै टिमको खेलाडीलाई कैची हाल्दा न त आफू उत्कृष्ठ हुन सकिन्छ । न त टीमलाई नै फाईदा पुग्छ । यस्तो खालको खेलले टिमलाई नै जीतको सम्भावनाबाट झन पर पर धकेली रहेको हुन्छ । आफै मात्र सर्वेसर्वा ठानेर खेल खेल्दा एक दुई खेल त जितिएला तर अन्ततः यो आत्मघाती नै सावित हुन्छ । यतिखेर नेपाल कम्यूनिष्ट पार्टीका उत्कृष्ठ र अग्रज खेलाडीहरु पनि आफूलाई उत्कृष्ठ सावित गर्ने दाउपेच र रच्नमा लागि परेका छन् । नेकपाका बरिष्ठ खेलाडिहरुको यो जुँगाको लडाईले समग्रमा नेपाल कम्यूनिष्ट पार्टीलाई नै वेफाईदा हुन्छ । पार्टीलाई असर पु¥याउँछ । हाम्रा बरिष्ट कमरेडहरुले यो कुरा नबुझेका त पक्कै होइनन् होला तैपनि किन बुझ पचाएका हुन्कुन्नी ?
नेकपाको सरकार इतिहासकै बलियो सरकार हो । पाँच बर्षसम्म चाहेर पनि प्रतिपक्षले केही गर्न सक्ने अवस्था थिएन र छैन पनि । यस्तो अवस्थामा पार्टीलाई सावित गर्न पट्टी नलागेर आफू–आफूमै किचलो हुनु भनेको नेकपाको भविष्यको लागि राम्रो संकेत भने होइन । हुन त जुन दिन तत्कालिन नेकपा माओवादी र नेकपा एमालेको पार्टी एकिकरण भयो, त्यही दिन नै निश्चित प्रायः थियो एक दिन यो किचलो आउँछ भनेर, कुरा ढिला चाँडोको मात्र हो । अहिले जसरी कुरा सतहमा आएको छ, यसलाई सर्सती हेदा थाहा हुन्छ कि भित्रभित्रै गुम्साहट र असन्तुष्टी उहिल्यै देखिएको हो । सतहमा छताछुल्ल भएको मात्र अहिले हो ।
व्यक्तिगत रुपमा नियाल्ने हो भने वर्तमान प्रधानमन्त्री केपि ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यी दुवै अवसरवादी र स्वार्थी प्रबृत्तिका मानिस हुन् भन्ने कुरा प्रष्ट हुन्छ । वास्तवमा केपि ओलीलाई माओवादी पार्टीलाई एमालेमा मिसाउनु नै थिएन । तर चुनाव जसरी पनि जित्नु पर्ने थियो, काँग्रेसलाई कुनै पनि हालतमा हराउनु थियो, उता माओवादीलाई त झन आफ्नो अस्तित्वको रक्षा गर्न नै चुनौति थियो । केपि ओलीले यही मौकाको फाईदा उठाए र चुनावी गठबन्धन गरिहाले र चुनाव पछि पार्टी एकिकरण गर्ने घोषणा गर्दिहाले । माओवादीलाई एमालेमा मिसाउनु केपि ओलीको बाद्यता थियो त्यतिबेला । जे होस् आलोपालो प्रधानमन्त्री र अध्यक्ष हुने सहमति गरी पार्टी एकिकरण भयो । हिजो सहमति पत्रमा हस्ताक्षर गर्दैमा केपि ओलीलाई थाहा थियो कि भोलि प्रचण्डले आफ्नो पालो र भाग दुवै खोज्ने छन् । यस्तो अवस्थामा आफैले गरेको सहमतिको पालना नगरेर प्रधानमन्त्री नछाड्ने र पार्टी अध्यक्ष पनि नछाड्ने चरित्र देखाउनुले केपि ओलीको शक्ति मोह र सत्ता लिप्सि प्रष्ट हुन्छ । उनि निष्ठावान नेता होइनन् भन्ने कुरा यसैले प्रमाणित गर्दछ ।
अब अलिकति प्रचण्डको कुरा गरौं । नेपाली राजनीतिमा प्रचण्ड जत्तिको अवसरवादी मान्छे अरु कोही छैन भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ । शक्ति र सरकारमा पुग्नको लागि प्रचण्ड जस्तो सुकै कदम चाल्न पनि तयार हुन्छन् । चुनाव जित्नका लागि उनि काँग्रेससंग पनि मिसिन सक्दछन्, अरु साना दलसंग पनि । कुरा आफ्नै अस्तित्वसम्म आएपछि एउटा छुट्टै इतिहास बोेकेको पार्टीलाई पनि अरु नै पार्टीमा विलिन गराउन पनि पछि हट्दैनन् भन्ने कुरा एमालेसंग पार्टी एकिकरण गरेर देखाई दिई हाले । वास्तवमा प्रचण्डको अस्तित्व त त्यही दिन सकिएको थियो, जुनदिन उनले माओवादीलाई एमालेमा मिसाई दिए । त्यसैले त नेपाली राजनीतिका माहिर खेलाडि मानिने प्रचण्ड यतिखेर केपि ओलीको कठपुतली बनेर बस्न बाद्य छन् । सायद उनलाई १७ हजार नेपालीको रगतको श्राप लागेको छ । झण्डै साढे दुई दशक जनयुद्धको इतिहास बोकेको पार्टीलाई बचाउन उनि आफू मेटिन तयार हुनु पर्दथ्यो । तर उनले आफूलाई बचाउन पार्टीलाई नै मेटाई दिए । यो भन्दा ठूलो अवसरवाद र स्वार्थ अरु के हुन सक्ला ? निरिह र श्रमजिवी वर्गको लागि लडाई शुरु गरेको माओवादी पार्टी रहुन्जेल प्रचण्ड वाहेक अरु कोही अध्यक्ष भएनन् । अझ भनौ हुन पाएनन् । यो भन्दा धेरै शक्तिमोह अरु के हुन सक्ला ? माओवादी पार्टीको बरिष्ठ नेताहरु एक एक गर्दै पार्टीबाट अलग हुनु र अन्ततः माओवादी पार्टी नै एउटा इतिहासमा परिणत हुनुको पछाडि सबैभन्दा ठूलो कारण यही हो, प्रचण्डको शक्ति मोह । म सही छु, सतप्रतिसत सही । यो मेरो मान्यता होइन । तर मेरो धारणा र हेराईले जे बुझ्यो त्यही कुरा उल्लेख गरेको हूँ । उल्लेख किन मात्र गर्न चाहेको हुँ भने, यतिखेर जुँगाको लडाई प्रधानमन्त्री केपि ओली र प्रचण्ड बीच भई रहेको छ । अब मेरो बझुाई अनुसार जब यी दुवै नेतृत्व अवसरवाद, शक्ति मोह र सत्ता लिप्सीको रोगबाट ग्रसित छन् भने नेतृत्व जसले सम्हाले नि हामी नागरिक वर्ग रमाउने कहाँनेर हो ? ‘जुन जोगि आएपनि कानै चिरेको’ हुने भएपछि नागरिकलाई के को हर्ष, जति नै खोक्रो राष्ट्रवाद देखाए पनि जति जुँगाको लडाई गरेपनि अन्त्यमा गएर मिलिजुली बाँडिचुडी खाऔं भन्ने मै हो सहमति टुंगिने । जसरी हुन्छ जनता झुक्याउने, देश लुट्नै हो ।
अनि बेकारको जनता झुक्याउन र कार्यकर्ता रिझाउन किन गर्नु यो जुगाको लडाई । कमरेडहरु यदि तपाईहरु वास्तवमै माक्र्सवाद, लेनिनवाद र माओवादका पक्षधारी हुनुहुन्छ भने जनताको भलाई र राष्ट्रको हितको बारेमा सोंच्नुहोस् । सदियौ पछिको नेपाली पिडिले पनि याद गर्न लायक केही गर्नुहोस् । अनिमात्र तपाईहरु वास्तवमा कम्यूनिष्ट ठहरिनु हुनेछ । बन्द गर्नुस् एउटाले ले ले भन्ने, अर्कोले दिन्न दिन्न नौटंकी । मिलेर अगाडि बढ्नुहोस्, सबै नेपालीले साथ दिनेछन् । नत्रभने अर्को पटक ले ले र दिन्न दिन्न भन्न पनि नपाउने अवस्था आउन के बेर ? समय छँदै विचार पु¥याउनु होला ।

Related posts

तिन दिन पछि महोत्सव विवाद समाधान

admin

लकडाउन अझै थपिने आशंका बढ्यो, जनजीवन कष्ठकर बन्दै गयो

admin

भगवति रंगपथमा शाही

admin