23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

प्रतिपक्षको समिक्षामा ओली सरकारको एक्काईस महिना

विशेषसम्वाददाता/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारको २१ महिनाको समिक्षा गर्दै सरकारका कमजोरीहरु प्रस्तुत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ओली सरकारका २१ महिनाका २१ असफलता भन्दै विभिन्न २१ बुँदाका सरकारका कमजोरी औंल्याएका छन् । मंसिर १४ मा हुन लागेको उप निर्वाचनलाई लक्षित गरेर गरिएको समिक्षामा भारतसंगको सीमा विवाद समाधान गर्न कुटनैतिक पहल गर्नु साटो प्रधानमन्त्री र मन्त्रीहरु भाषण गर्न मै व्यस्त रहेको भन्दै सरकारले आफ्नो कार्यकुशलता प्रदर्शन गर्न नसकेको आरोप लगाइएको छ ।

कांग्रेसको समिक्षामा सरकारले संविधान प्रति आम नागरिकमा अपनत्व भाव विस्तार गर्न नसकेको भन्दै त्यसको दायरा विस्तारमा झन सरकार असफल भएको भनिएको छ । संघीयताका बाँकी काम पूरा गर्न जुन गतिमा सरकारले काम गर्नुपथ्र्याे त्यो गतिमा नभएको भन्दै कांग्रेसले राजधानी वासीको सपनाको रुपमा रहेका मेलम्ची खानेपानी आयोजनामा सरकारले गम्भीर लापरवाही गरेको उल्लेख गरेको छ ।

मूल्य वृद्धिले जनताको दैनिकी कष्टकर बनेको कांग्रेसले बताएको छ । उसले विप्लबलाई शान्ति प्रक्रियामा ल्याउन सरकार पूर्णत असफल भएको भन्दै दमन र प्रतिवन्धबाट समस्याको समाधान नहुने, शब्दमा प्रेस स्वतन्त्रता भनिए पनि व्यवहारमा नेपाली प्रेस स्वतन्त्र रहन नसकेको, सामाजिक सुरक्षा कोष निर्माण र सो को व्यवस्थापनमा सरकारले काम भन्दा गफ बढी गरेको, बुढी गण्डकी जस्तो राष्ट्रिय गौरवको आयोजनामा सरकारले राष्ट्रघात गरेको आरोप लगाएको छ ।

बुढी गण्डकी यस्तो आयोजना हो जसमा प्रत्येक नेपालीले पेट्रोलियम पदार्थको उपभोगमा प्रति लिटर पाँच रुपैयाँका दरले रकम जम्मा गरेका छन् । तर सरकार जनताका पसिनाको मूल्यमाथि खेलवाड गरिरहेको छ, र विना प्रतिस्पर्धा चिनिया कम्पनीलाई निर्माणको जिम्मा लगाउने दाउमा सरकार देखिएको छ ।

कांग्रेसले बालुवाटार जग्गा कान्डमा सत्तापक्षका नेताहरुको बचाऊ गरेको, विपक्षी र नागरिक समाजप्रति सत्तापक्ष निरन्तर असहिष्णु बन्दै गएको, शेयर बजारको ओरालो यात्राले समग्र अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेकोे, गुठी प्रकरणलाई समाधान गर्न नसकेको आरोप समेत लगाएको छ ।

शान्ति सुरक्षाको अवस्था दयनिय रहेको भन्दै कांग्रेसले होली वाइन प्रकरणले सरकारको नियत प्रष्ट पारेको भन्दै निर्मलाका हत्यारालाई कानुनको कठघरामा उभ्याउन नसक्नु सरकारको कमजोरी भएको उल्लेख गरेको छ ।

Related posts

मृत चितुवा भेटियो

admin

दशौं स्थापना दिवसमा रक्तदान

admin

तीज

admin