20.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

हो, गिद्धहरुले सिनो हेर्छन् फूल देख्दैनन्

रमेश विकल

गत साता परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीका दुइ भनाइहरुले सामाजिक सञ्जालको बजार तताए । पहिलो थियो, ‘गल्लीमा भुक्ने कुकुरहरु तिर फर्केर ढुङ्गा हान्न थालियो भने कहिल्यै गन्तव्यमा पुग्न सकिँदैन । त्यस कारण हामी आफ्नो गन्तव्यमा अगाडि बढिरहेका छौं ।’ अनि दास्रो थियो, ‘गिद्धहरु गीत गाउँदैनन्, उनीहरु फूलतिर हेर्दैनन्, सिनो मात्रै हेर्छन ।’ उनका यी दुवै भनाइ चीनसंग स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको भन्ने समाचारहरु आएसंगै समाचार लेख्ने पत्रकार र अनियमितता भएको भए संलग्नहरु कारवाहीको भागिदार हुनुपर्छ भन्नेहरुप्रति लक्षित थियो ।
तुलनात्मक रुपमा भद्र लाग्ने मन्त्री ज्ञवालीले आम नागरिक जसले आफुले तिरेको करबाट खरिद गरेको स्वास्थ्य सामग्रीको सदुपयोग होस् भन्ने ध्येयले गरेका प्रश्नहरुलाई कुकुर भुकाइसंग किन तुलना गरे ? यति तल्लो स्तरमा उत्रेर नागरिकलाई आवेग र उत्तेजनामा दुत्कार्नु भित्रका कारणहरु के हुन सक्छन् भन्ने त खुल्दै जाला । अहिलेलाई नागरिकले यत्ति भनेका छन्, मन्त्री ज्ञवालीको अभिव्यक्ति चोरले खुट्टा ताने जस्तो भयो । खरिद प्रक्रिया रद्द भएसंगै शंकाको बीजले आकार ग्रहण गर्न लागेको देखिँदैछ ।
चीन ती सामग्री निःशुल्क सहयोग गर्न तत्पर थियो । सरकारले यता तर्फ कुनै कदम चालेन । झण्डै तीन महिना लामो टेण्डर प्रक्रिया कुनै पनि कम्पनी सामान ल्याउन तयार नभएको भनेर रद्द गरियो तर तीन घण्टामा अर्काे सप्लायर कहाँ पाइयो भन्ने उत्तर कसैेले दिएको छैन । एक खेप सामान त्यो पनि बोल–कबोलको १० प्रतिशत मात्र ल्याएर अरु सामान ल्याउने लक्षण नदेखिएपछि ठेक्का सम्झौता रद्द गरिएको भनिएको छ । मुलतः गलैँचा तथा तयारी पोसाक आयात गर्ने उद्देश्यले सुरु गरिएको कम्पनी जसले गाडीका पार्टपुर्जा आयात गर्ने, सफ्टवेयर उत्पादन गरी बिक्री गर्ने र खाद्यान्न समेत आयात–निर्यात गर्ने अनुमति नेपाल सरकारबाट पाएको छ । तर, स्वास्थ्य सम्बन्धी औषधि वा उपकरण आयात गर्ने स्वीकृति नै नपाएको सो कम्पनीलाई ठेक्का दिनुले शंका गर्ने ठाउँ दिन्छ कि दिँदैन ? यसमा बदनियत लुकेको छैन कसरी भन्ने ?
एकछिनलाई मानौं केही पत्रपत्रिकाले नियोजित रुपमा अनियमितताको हल्ला फैलाए । प्रतिपक्षी कांग्रेस र अन्य दलहरुले राजनैतिक लाभका लागि यसलाई मुद्दा बनाए । तर हरि रोका त नेकपा कै नेता हुन् नि । उनले किन यसमा अनियमितताको आशंका गरे र भने मौकामा चौका हान्ने प्रवृत्ति देखियो । दिल निशानी मगर नेकपाका कट्टर समर्थक हुन जसले ओली नेतृत्वमा देश समृद्धिको मार्गमा खरायो गतिमा अगाडि बढेको भनिरहन्थे, उनलाई अहिले किन नेकपाको समर्थक हुँ भन्न लाज लागेको ? किन उनले यही विषयलाई लिएर लोकान्तर मार्फत, ‘अब सरकारले जनताका लागि मास्क किन्नु पर्दैन, आफ्नै लाज छोप्नका लागि गतिलो मास्क किन्नुपर्ने पो देखियो’ भन्नु परेको ? अनि भ्रष्टाचार ठालू र सत्तासिनहरुले गर्छन भन्दै नेकपाका नेता लेखनाथ न्यौपानेले संकटमा पनि लुटपाट मच्चाउने भनेर किन प्रश्न गरेका ? अनि नेकपामा सांसद एंव केन्द्रीय सदस्य सुदन किराँतीले आफ्नो फेसबुकमा स्वास्थ्य सामाग्री खरिदमा नीतिगत भ्रष्टाचार भएको टिप्पणी गर्दै किन यस्तो लेखेका ?– “मानिस भगवान होइन अपेक्षा पनि छैन उबाट लोकमा चमत्कार होस तर अचम्म ! आमाको लास अगाडी लडि रहेको बेला कसरी रुचेको होला पापीहरुलाई माशु भात ? पचाएर देखाउ यदी पचाउन सकेनौ भने तिमिले आफ्नो जिवनको निम्ति ठुलै मुल्य अवश्य चुक्ता गर्नु पर्नेछ ।”
रक्षामन्त्री ईश्वर पोखरेल भन्दै थिए, म स्वयमको पहलकदमीका साथ निगरानीका साथ चीनबाट मेडिकल सामग्रीहरु मगाइएको छ, बाहिर गरिएका हल्ला सबै प्रायोजित हुन्, एक चिम्टी पनि अनियमितता भएको छैन, यदि कहीँकतै त्यस्तो ल्याप्सेस भएको पाइयो भने म जिम्मा लिन्छु । तर अर्काे दिन त फेरी ठेक्का रद्द भयो । अनि आमनेपालीले किन आशंका नगर्ने कि दालमा केहि कालो छ ! र अनियमितता भयो कि भनेर प्रश्न गर्दा कुकर र गिद्धको नामले पुकारिनु पर्ने कस्तो बिडम्बना हो ? हाम्रो ।
यतिबेला नागरिक घर बाहिर निस्केका छैनन् । पत्रपत्रिका पनि अनलाईन संस्करणमा छन् । इन्टरनेटमा सबै नागरिकको पहूँच छैन । अनि यहि बेला स्वास्थ्य सामग्री खरिदको नाममा, अन्तिम घडी पारेर धेरै गुणा महंगो मूल्यमा तर काम नलाग्ने सामान खरिद गर्न लागिएको थियो । यसमा तत्कालिन राजा ज्ञानेन्द्रले दशैंको मौका पारेर आफ्ना उद्दण्ड छोरा पारशलाई युवराज घाोषणा गर्नुमा जस्तै धुर्तता लुकेको थियो भनेर किन नभन्ने ?
थोरै इतिहास तिर पनि जान मन लाग्यो । २०४८ को आमनिर्वाचन पछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसको सरकार बन्यो । सोही वर्षायाममा हैजाले महामारीको रुप लियो । त्यो समयका धेरैलाई याद हुनपर्छ, तत्कालिन प्रतिपक्ष एमाले हालको नेकपाले संकटमा सरकारलाई सहयोग गर्ला भन्दा त सडकमा उत्रेर हैजा, गिरिजालाई लैजा भन्दै नारा लगाउन पो थाल्यो । अहिलेको अवस्था हेरौं त । त्यतिबेलाको प्रतिपक्ष सरकारमा छ र त्यतिबेला सरकारमा रहेको कांग्रेस प्रतिपक्षको भूमिकामा छ । तर उतिबेलाको प्रतिपक्षले झै कांग्रेसले सडकमा आएर कोरोनाले ओलीलाई लैजा भनेको छैन, बरु हर तरहले सहयोग गर्ने तत्परता देखाएको छ ।
अब मन्त्री ज्ञवालीको कथनी तिर जाऔं । साँच्चै गिद्धहरुको आँखा फूलमा नहुने रहेछ । सरकारका मन्त्रीहरुको काम कारवाहीले त्यही प्रमाणित गर्दैछ । राज्यका लागि नागरिकको जीवन फूल हो । तर हाम्रा राज्य सञ्चालकहरु नागरिको जीवनसंग खेलवाड गरेर कमिसनको खेलमा लागेका छन् । अधिल्लो दिनसम्म ठिक छ भनेर आफैले भनेका काम भोली पल्ट रद्द गर्ने तपाईँहरुको बोलीव्यवहार कुकुर भुकाई भयो कि अनियमितता छ भन्ने नागरिकको बोलीव्यवहार ? तपाईँले हानेको बाँणको तिर त तपाईँ तिरै पो फक्र्यो ।
हो, गिद्धहरुले कमिसन रुपि सिनो मात्र हेर्दा रहेछन् । मानविय जीवनरुपि फूल हेर्दा रहेनछन् ।

Related posts

तेस्रो जनजाति महोत्सव सम्पन्न

admin

अनुरोध

admin

पन्थको ११ हजार सहयोग

admin