26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

मृत्यू पछिको कर्मकाण्ड

छविदीप आले
[email protected]

“हैन तल झरी राख्नु पर्दैन । यसो माथि बाटै मुख देखाइदिए पुग्छ ।”शब्द ठ्याम्मै यहि थियो त भन्न सक्दिन तर आशय चाँहि पक्का यहि थियो । माथिको भनाइ मैले एउटा पत्रिकाको कार्टुनबाट साभार गरेको हुँ । उक्त कार्टुनमा वृद्धा बुबा वुद्धाश्रमको कौसीबाट तल हेरिरहेको हुन्छ । तल सडकमा छोराले कारबाट माथि हेर्दै बुबालाई माथि उल्लेखित भनाइ भनिरहेको हुन्छ । सदर्भ थियो कुशे औँसीको । अर्थात बुबाको मुख हेर्ने दिन ।

मानिस जन्मेपछि नमरुन्जेलसम्म र मृत्युपर्यन्त पनि विभिन्न संस्कारहरु पुरा गर्नु पर्ने हुन्छ । जातिगत र धार्मिक हिसाबमा केही सामान र केही भिन्न भिन्न । जस्तै कि छोरीलाई गुन्युचोली दिने चलन जनजाति र दलित समुदायमा पाईन्छ । अन्य जातीमा यो चलन त्यति पाइँदैन तर छोराको ब्रतबन्ध भने सबै जातीमा समान पाइन्छ । यसरि मानिर जन्मिएपछि न्वारन, पास्नी( भात खुवाई ), ब्रतबन्ध, गुन्यु चोली, विहे आदि जस्ता संस्कारहरु उसले आफ्नो जीवनकाल भरिमा पूरा गर्छ भने मृत्युपछि पनि उसका सन्ततिहरुले पूरा गर्नुपर्ने धेरै संस्कारहरु हुन्छन् । मृत्युपछि गरिने संस्कार एउटा धर्मको भन्दा अर्काे धर्मको पक्कैपनि फरक हुन्छ । अन्य धार्मिक समुदायको मृत्युपछि संस्कारको बारेमा ज्ञान नभएकोले त्यता तफै जान चाहिन । हिन्दु धर्मको सन्दर्भमा भने आफ्नै समाजमा देखे सुनेको आधारमा मृत्यु पछिको संस्कारको बारेमा धेरथोर ज्ञान छ । मृत्यु पछि गरिने संस्कारको लागि हाम्रो धर्मले निकै जोड दिएको छ । भनिन्छ, ति संस्कारहरु राम्ररी पूरा नगरिएमा मृतकको आत्माले शान्ति पाउँदैन । तर जीउँदो छउन्जेल उसको आत्माले कति शान्ति र सन्तुष्टी पाएको थिया खास लेखाजोखा गरिँदैन ।

मृत्युपछि गरिने र गर्नुपर्ने संस्कारहरुको पनि लामै सूचि छ । जस्तो कि एउटा मानिसको मृत्यु भइसकेपछि सबैभन्दा पहिले उसको मृत शरिरलाई कुनै पनि जीवजन्तुले छुन नपाउन भनेर सुरक्षित राख्न पर्यो । त्यसपछि दाहा संस्कारका कुराहरु, कुना बस्ने कुराहरु, एक वर्ष पुगेपछि वर्षी फुकाउने कुराहरु, त्यसपछि वार्षिक रुपमा श्राद्ध गर्ने र पिण्ड दिने काम आदि, आदि । यी सम्पूर्ण कामहरु मृत आत्माको शान्तिको लागि गरिन्छ । पिण्डको सन्दर्भमा भने त्यो पित्रृहरुको लागि वर्ष भरिको खाना हो भन्ने सुनेको छु । पिण्ड दानको कुरा गर्दा एउटा घटना सम्झें । म ३ या ४ कक्षामा पढ्दाको कुरा हो । त्यो उमेर मलाई पिण्ड के हो ? कसलाई दिने हो ? किन दिने हो ? केही थाहा थिएन । हुने कुरा पनि भएन, सानै थिएँ । यत्ति थाहा थियो गाउँका मानिसहरु आफ्ना पित्रृलाई पिण्ड दिन भनेर दमौली मादी र सेती नदीको दोभानमा जान्थे । आफुलाई दमौली भनेपछि बज्यैसंग एकादशी बजार गएर सखरखण्ड, बदाम आएको याद आउने । त्यो वर्ष सधैं झैं हजुरबा पनि अरुसंगै पिण्ड दान गर्न दमौली जानु भयो । मैले भरमा सोधें,“ मैले पिण्ड दिनु पर्दैन ?” दमौली जान पाए बदाम र सखरखण्ड खान पाइन्छ भनेर सोधेको थिएँ, आमाको गाली चाहीँ खुब मज्जाले खाएँ । बुबाचाहि लौ छोराले जिउँदै पिण्ड खुवाउने भयो भनेर मज्जाले हाँस्नु भयो । पित्रृलाई वर्षभरिको खाना भनेर पिण्ड दान गरिएपनि न कुनै पित्रृले पिण्ड पाएँ भनेर खवर पठाएको छ । न पिण्डदान नगरिएका पित्रृहरुले गुनासो गर्न आएका छन् । जे होस् पिण्ड दान मृत्युपछि गरिने महत्वपूर्ण संस्कार मध्ये एक हो । भलै एउटा व्यक्तिले आफ्नो जीवनभरी एक छाक मिठा मसिनो खान पाएको होस्, नहोस् । उसका सन्ततिले उसको मृत्युपछि पिण्ड भने पक्कै खुवाउँछन् ।

आधुनिक भनिएको अहिलेको समाजका मानिसहरु व्यस्त भएका छन् । आफ्नो परिवारको लागि पर्याप्त समय छैन । आफुले जन्माएको सन्तानसंग धित मरुन्जेल गफ गर्नपनि छोराछोरीको अफिस बिदाहुने दिन कुर्नुपर्छ, बाबु आमाले । मानिस व्यस्त छन् किनभने मानिसलाई रातारात प्रगति गर्नुछ, पैसा कमाउनु छ, समयसंगै चल्नुछ । तर यो प्रगति गर्ने र पैसा कमाउने चक्करमा पारिवारिक सुखलाई कतिखेर पछाडि छाड्यो उसले भउ नै पाउँदैन । भेउ पाउँदासम्म धेरै ढिलो भैसकेको हुन्छ ।

अहिलेका मानिसहरुमा मानवता हराउँदै गएको छ । आफ्ना बाबु आमा प्रति गर्ने सम्मान र मायाँ घटेको छ । बढीरहेको बृद्धाश्रमको संख्याले यहि कटु सत्य बताउँछ क्यार । साथीभाइको लागि, श्रीमतीको लागि घण्टौं समय निकाल्न सक्ने एउटा छोरोले आफ्ना बुबा आमाको सेवा गर्न ५ मिनेट समय निकाल्न सक्दैन । आफु दशौं हजारको कोटमा ठाँटिएर हिँड्ने छोराले बुबा आमाका लागि एक जोर लुगा किन्नु अगाडि १० पटक सोच्छ । श्रीमतीको नाक कानमा भारी माथि भारी थपिँदासम्म पनि आमाको बुच्चो नाक, कान देख्दैन । साँच्चै नै मानिसबाट मानवता विस्तारै हराउँदै गएको छ । बुढेसकाल लागिसकेका बाबु आमालाई आफ्ना सन्तानबाट त्यति धेरै आशा पनि हुँदैन । न उनीहरुलाई राम्रो लगाउने चाहना हुन्छ, न पैसाले उनीहरुको जीवनमा केही महत्व राख्छ । उनीहरुको एउटैमात्र आशा भनेको आफ्ना सन्तानले समय दिउन, गफ गरुन् भन्ने हुन्छ । तर त्यत्तिपनि गर्दैनन्, अहिलेको आधुनिक समाजका भनिएका मुनवाहरु ।

म यहिनेर गम खान बाध्य हुन्छु । आफ्नो जीवनभरी पिडा र असन्तुष्टि भोगको एउटा व्यक्तिको आत्मालाई उसको मृत्युपछि गरिने संस्कारले शान्ति र सन्तुष्टि देला कि नदेला ? बाँचुन्जेल आमा बुबाको अधिपेट नदेख्ने सन्तानले दिएको पिण्डले बुबाआमाको आत्मा अघाउला/नअघाउला ? जीवनभरी छोरा बुहारीको हेलाँ र अपमान सहेर बाँचेको आत्मा मरेपछि कुकुर, बिरालोले नछुँदैमा स्वर्ग तर्ला /नतर्ला ? जीवनभरी शान्ति नपाएको आत्मालाई गरुढ पुराणले शान्ति देला कि नदेला ? प्रश्न सोचनिय छ ।

जीउँदो छउन्जेल सेवा नगरेर मरेपछि सेवा गर्नुको कुनै अर्थ रहँदैन । मैले आलेखको सुरुवातमा प्रस्तुत गरेको उदाहरण कै कुरा गरौं । बुबालाई बृद्धाश्रममा लगेर राख्ने छोराले बुबा मरेपछि गर्ने श्राद्ध र पिण्ड दानको के महत्व ? के अर्थ ? यसो भन्नुका तात्पर्य संस्कारलाई छोड्दापनि हुन्छ भन्न खोजेको होइन । समयको गतिसंगै संस्कारहरु परिवर्तन र परिमार्जन भैरहन्छन् । कति छोडिँदै पनि जान्छन् । मेरो आशय के मात्र हो भने बुबा आमाको सेवा उहाँहरु जीउँदो छँदै गर्नुपर्छ । जीवनभरी बुबा आमाको मर्म नबुझ्ने, पिडा दिने, सेवा नगर्ने, भावनाको कदर नगर्ने हो भने मृत्यु पछि जतिनै विधी विधानले पूर्ण भएर संस्कार गरेपनि त्यसको महत्व र अर्थ रहँदैन ।

आज २०७६ साल माघ २३ गते विहिबार, माघ शुक्ल द्वादशी तिथी । म पनि त्यही मृत्युपछि गरिने कर्मकाण्डको संस्कारलाई निरन्तरता दिँदैछु । आमाको सिउँदो पुछिएको अनि भाइको र मेरो शिरबाट बुबाको छत उँडेको पनि आज एक वर्ष भैसकेछ । आज म पनि बुबाको आत्माले शान्ति पाओस्, स्वर्गमा बास होस् भनेर वर्ष दिनको तिथीमा श्राद्धकर्म गर्दैछु ।

तर थाहा छैन, मेरो यो श्राद्धकर्मले उहाँको आत्मालाई शान्ति मिल्छ÷मिल्दैन ? म ठ्याक्कै भन्न सक्दिन, आफ्नो ५१ वर्ष जीवनकालमा २०४९ चैत १८ गते उहाँ जति खुसी हुनु भएका थियो, त्यसपछिका दिनहरुमा त्यत्तिनै खुसी हुन सक्नु भयो या भएन । तुलना नै गर्न त नसकिएला, नमिल्ला तर विश्वास छ, ०४९ चैत्र १८ मा भए जति नै खुसी २०५४ माघ १५ मा पनि पक्कै हुनुभयो । तर भन्न सक्दिन त्यसपछिका दिनहरुमा उहाँको खुसी बढ्यो या बढेन । थाहा छैन मेरो र भाइको आगमनले उहाँको जीवनमा के दियो के दिएन । लेखाजोखा गर्नै भ्याइएन । यति भन्छु, तपाईको जीवनकालभरी मैले गर्न नसकेको र नभ्याएको सेवा र आदर आमाको जीवनकालमा गर्न सकुँ । स्वर्गबाट मलाई यत्ति आशिस दिनु भए पुग्छ । दण्डवत प्रणाम !

Related posts

अब टुंगो लगाउँ

admin

कोरोना नियन्त्रणमा नागरिक पहल

admin

गरिबी निवारण कि गरिब ?

admin