Tanahun Awaj
Uncategorized

वर्तमान सन्दर्भमा बीपीको मेलमिलापको सान्दर्भिकता

रमेश विकल

“प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडीपनि आउँछ, त्यस देशका नागरिकले आफ्नो ज्यान समेत खतरामा राखेर मुलुकको अस्तित्व रक्षा गर्नुपर्छ ।”

सिक्किमे राजा र नागरिकबीचको झगडामा खेलेर भारतका शासकले सिक्किम भारतमा विलय गराएका थिए र नेपाललाई पनि कांग्रेसलाई देखाएर राजासंग र राजालाई देखाएर कांग्रेससंग मोलमोलाई गर्दै कमजोर बनाएर भारतमै गाभ्ने दाउमा थियो, भारत । यो बुझेर भारत प्रवासमा रहेका नेपाली कांग्रेसका नेता बीपी कोइरालाले नेपाल फर्कँदा आफुलाई फाँसी सम्मको सजाय हुनसक्ने अवस्थालाई समेत वेवास्ता गर्दै माथि भनिएको अंशको आशयको बक्तव्य निकालेर नेपाल फर्किएको दिन हो आज । आज भन्दा ठिक ४३ वर्ष अगाडि आजकै दिन अर्थात पौष १६ गते नेता कोइराला बक्तव्यमा भनेझै ज्यानलाई नै खतरामा राखेर स्वदेश फर्केका थिए । राष्ट्रनै नरहे प्रजातन्त्रका लागि कहाँ लड्ने, कोसंग लड्ने भन्दै नेपाल फर्केका उनको आशय सायद त्यतिबेलाका शासकले बुझेनन् वा बुझ्न चाहेनन् र विमानस्थलमा ओर्लन नपाउँदै उनलाई पक्राउ गरेर जेल हालियो ।

बीपीले त्यतिबेला उद्घोष गरेको मेलमिलाप नीतिको आवश्यकता अहिले झन टड्कारो भएको छ, उही दक्षिणी छिकेकीका कारण । केही समय अगाडी नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेट्दै भारतले आफ्नो राजनैतिक नक्सा सार्वजनिक गरेपछि यसको अवाश्यकता टड्कारो भएको हो । यतिबेला हाम्रा वीचमा राजनैतिक रुपमा रहेका वैचारिक भिन्नतालाई थाति राखेर सबै नेपाली एकजुट भई मिचाहा छिकेकीको गलत कामका विरुद्ध एक स्वर गर्नुपर्ने छ । अझ भनौं हामीवीचमा मेलमिलापको आवश्यकता छ । दुःर्भाग्य त्यसो हुन सकिरहेको छैन । यि कामको नेतृत्व गर्नुपर्ने सरकार नागरिकलाई एकताबद्ध बनाएर अगाडि बढ्न अग्रसर देखिएको छैन । नाकाबन्दीका बेला लिएको अडानका कारण राष्ट्रवादी कहलिएर निर्वाचनमा अपार जनमत प्राप्त गरेको बर्तमान सरकारले आफ्नो छवि कायम राख्न र नेपालको अस्तित्व रक्षाका लागि पनि आफुलाई मेलमिलापको मार्गमा अग्रसर गराउनु आवश्यक भैसकेको छ । सत्ताधारीहरुले सोच्नु जरुरी छ कि राष्ट्रको अस्तित्व रहेमात्र हामी सत्तापक्ष र विपक्ष भनेर माथापच्ची गर्न पाउँछौं, विवाद र चर्काचर्की गर्न पाउँछौं ।

बीपीद्वारा प्रतिपादित मेलमिलापको आवश्यकता त उनैले जन्माएको पार्टी नेपाली कांग्रेसमा सर्वाधिक आवश्यक छ, यतिबेला । कांग्रेस यतिबेला एउटा पार्टी जस्तो छैन । गुटहरुको झुण्ड बनेको छ । कुनै कांग्रेस अर्काे कांग्रेसको हित भएको हेर्न चाहँदैन । निर्वाचनका बेला भएका घात प्रतिघातका कथा कहेर साध्य छैन । आफुले निर्वाचन हार्दा बरु खासै नरमाइलो नलाग्ने तर अर्काे कांग्रेसले जितेकोमा अचाक्लि दुःखी हुने कांग्रेसको संख्या अत्यधिक छ । बरु विपक्षिलाई मत हाल्ने तर कांग्रेसको उम्मेदवारलाई मत नदिने कांग्रेस जनको संख्यापनि बाक्लै छ र त तनहुँमा समेत लज्जा जनक हार व्यहोर्न बाध्य भयो कांग्रेस । चिया पसलहरुमा बिहान जम्मा हुनुपर्छ सरकारले गरेका नराम्रा कामका बारेमा कम र आफ्नै पार्टीका साथीको खुट्टा कसरी तान्ने भन्ने विषयमा बढी कुरा गरेका भेटिन्छन् कांग्रेसहरु ।

जिल्ला तहको मात्र किन केन्द्रको स्थिती पनि उस्तै छ । कोइराला परिवारले एकलौटी गरे भनेर नथाक्ने सभापति देउवा आफै बहुमतको आडमा फरक विचार राख्ने साथीहरुको राजनैतिक भविष्य समाप्त गर्ने खेलमा मग्न छन् । विनाश काले विपरित बुद्धि भने झै छ कांग्रेसका वर्तमान अवस्था । देशमा दुइतिहाइ मत सहितको कम्युनिस्ट सरकार छ । सरकार नागरिकका अधिकार खोस्ने कार्यमा लागेको छ । तर कांग्रेस नागरिकका चासो सम्बोधन गर्न छोडेर कसरी पार्टी सत्तामा सधैँ रहन सकिन्छ भनेर एकले अर्कालाई सिध्याउने खेलमा लागेका छन्, नेताहरु । देउवालाई रामचन्द्रको राजनीति सक्न पाए आफु एकछत्र राज गर्न पाउँथे भन्ने छ भने रामचन्द्रको पनि उस्तै दाउ छ । तर आवश्यकता सम्पूर्ण कांग्रेसजनको मिलापको छ । कांग्रेस नेता कार्यकर्ताको यस्तो व्यवहारले आम मतदातामा निराशा छाएको छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा देशलाई एकताबद्ध बनाएर अगाडि बढाउन ओलीलाई र पार्टीलाई एकताबद्ध बनाएर सिंङ्गो पार्टीको नेता बन्ने सद्बुद्धि देउवालाइ आओस्, मेरो यहि कामना ! नयाँ वर्ष २०२० को शुभ कामना !

Related posts

हंशबाहिनी मा.वि.को ६१ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

admin

न्यानो कपडा वितरण

admin

लोकतन्त्र र समृद्धिको अभियानमा रेडियोको योगदान अविष्मरणीय

admin