23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

मान्छेको मनःमन छुने, पढ्नै पर्ने पुस्तक

छविदीप आले
[email protected]

–जति उपचार गरेपनि छोरो निको नहुने देखेपछि बाबुले त्यो बिरामी छोरालाई रेल चढाएर दक्षिण भारतको एक रेल स्टेशनमा लगेछन् । त्यहाँबाट पनि गाउँतिर जाने एउटा छोटी स्टेशनमा पु¥याएछन् । त्यस्तो ठाउँमा लगेर स्टेशनमै गम्छा ओछ्याएर बसाएर विस्कुट र एक दुई रुपयाँ राखिदिएछन् । त्यसपछि एक छिन बस है भनेर उसलाई छोडेर फर्केछन् । (छोराको मायाँ मारेपछि पृष्ठ ३१)
–तपाईलाई किन लुकाउने, संसार यस्तै हो, चल्नु पर्ने, तपाईलाई थाहा छ, छोराले सम्पर्क नै गर्दैन, रगत आफ्नै हो, व्यवहारिक कारणले मैले स्वीकारें भनिन् । (ससुराको बाद्यता पृष्ठ ८३)
–सभ्य मानिसलाई पनि साइकियाट्रिष्टहरुले विरामी भन्दछन्, दिमाग परिवर्तन गर्नलाई औषधी ख्वाउँछन् । (मानिसहरुको स्वार्थीपन पृष्ठ ३२९)
–दिनेश डिसी र डा. विश्ववन्धु मिलेर मेरो लोग्नेलाई जबरजस्ती भर्ना गरी मेरो लोग्नेको नाममा जथाभावि पैसा उठाएर खाए । (मानिसहरुको स्वार्थीपन पृष्ठ ३३२)
माथि उल्लेख गरिएका भनाई र प्रसंगहरु बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वन्धु शर्माको पुस्तक मान्छेको मनबाट उद्धरण गरिएको हो । जसलाई मञ्जरी पब्लिेकेशनले प्रकाशन गरेको हो । लेखकले समग्र पुस्तकलाई तीन खण्डमा बाँड्नु भएको छ । मेरो अनुभवमा मानसिक रोग, मैले भोगेको जीवन र मनका कुरा । मानसिक स्वास्थ्यको क्षेत्रमा चार दशक लामो अनुभव संगाली सकेपछि तयार भएको पुस्तक जसको विषयवस्तु र क्षेत्रसंग पंक्तिकारको कोषौंकोष न कुनै सम्बन्ध छ, न कुनै अध्ययन । यस्तो पुस्तकको समिक्षा गर्नु लेखन कार्यमा वामेसर्न सिक्दै गरेको पंक्तिकारको क्षमताले भ्याउँदैन । र पनि संयोगवस पुस्तक पढ्ने साईत जुरेपछि शुरुदेखि अन्त्यसम्म पढें र पुस्तक पढेपछि आफूमा उब्जेका भावना र अनुभवलाई व्यक्त नगरिरहन सकिन । यो आलेखको साईत यसरी जुरेको हो । तसर्थ यसलाई पुस्तक समिक्षा भन्दा पनि पंक्तिकारको व्यक्तिगत भावना र बुझाईका रुपमा लिईदिनु होला ।

डा. शर्मा आफैमा एक बरिष्ठ मानसिक रोग विशेषज्ञ हुनुहुन्छ र यो पुस्तकमा उहाँले मानसिक समस्याका प्रकार, कारण, प्रभाव आदिको बारेमा खुलाएर व्यक्त गर्नुभएको छ । यो पुस्तकको अध्ययन गरेपछि हामी स्पष्ट हुन सक्दछौं, मानसिक स्वास्थ्यको कुरालाई लिएर हामी कति भ्रमित छौं, हामी कति अनजान छौं । कतिकुराहरु रहेछन् हामीले जान्नै पर्ने, बुझ्नै पर्ने, तर नजानेको नबुझेको । नेपाली समाजमा आजको दिनमा पनि मानसिक समस्या भनेपछि कसरी लिईन्छ ? हिजोका दिनमा शिक्षा र स्वास्थ्य सेवाको कमि हुँदा झन समाजको अवस्था कति दर्दनाक थियो भन्ने कुराको स्पष्ट चित्रण पाईन्छ, मान्छेको मनमा मानसिक स्वास्थ्यको बारेमा खुलेर बोल्न डराउने र हच्किने शिक्षित जमातको पनि राम्रैसंग उल्लेख भएको छ, पुस्तकमा ।

पुस्तकमा मानसिक स्वास्थ्य के हो भन्ने कुरा मात्र नभएर कतिपय डाक्टरका जीवन भोगाईका कुराहरु अनि कतिपय नीजि जीवनका कुरा पनि छन् । आफ्नो सेवा अवधिमा डाक्टरले भोग्नु परेका, झेल्नु परेका विभिन्न केशहरुले मानसिक समस्याको चित्रण मात्रै गर्दैन, हिजोदेखि आजसम्मको नेपाली समाज र सोचाईको पनि चित्रण गर्दछन् । चाहे त्यो मानसिक स्वास्थ्यसंग सम्बन्धित क्षेत्र होस् या चाहे अन्य कुनै क्षेत्र । पंक्तिकारले आलेखको शुरुवातमा उल्लेख गरेका परिदृष्यहरु नेपाली समाजलाई प्रतिविम्वित गर्ने दृष्यहरु हुन् । पहिलो सन्दर्भले मानसिक समस्याले घर परिवारमा उत्पन्न गर्ने समस्यालाई देखाएको छ । कसरी एउटा बुवाले आचित भएर आफ्नै छोरालाई अलपत्र पारी फर्कन्छन् । दोस्रो सन्दर्भले त्यो नेपाली समाजलाई चिनाउँदछ । जहाँ बंश चलाउन छोरा तर्फकै सन्तान चाहिने मान्यता आजको मितिसम्म पनि छ । अझ विशेष गरी शिक्षित र धनाढ्य घरपरिवारमा वंश चलाउनका लागि मान्छेले के के सम्म गर्दछ भन्ने थाहा पाउन पृष्ठ ८१ बाट शुरु हुने “ससुराको बाध्यता” पढेर जान्न सक्दछौं । आजको समयमा मान्छेहरु कति स्वार्थी भएका छन् भन्ने बुझ्न पृष्ठ ३२९ र ३३२ को घटनालाई अध्ययन गरे पुग्दछ । मान्छेको मनमा यस्ता धेरै घटना र प्रसंगहरुको उल्लेख छ, जहाँ हामी हाम्रो समाजको चित्र पाउँछौं, अध्यारो चित्र । तर कतिपय यस्ता प्रसंग र घटनाहरु पनि जस्लाई पढ्दा खुशी र प्रसन्नताले आँखा आफै रसाउँछन् ।

मान्छेको मनले मानसिक समस्या र नेपाली समाजलाई मात्रै होइन, नेपालको विगतको राजनीति र कर्मचारी तन्त्रलाई पनि केलाएको छ । डा. शर्माले अध्ययन पश्चात जागिरको लागि गरेको संघर्ष पढ्दा आजको समयको बेरोजगारी पनि झल्झली मष्तिष्कमा घुम्दछ । केही नयाँ गरौं भन्ने प्रयासमा सरकारले सहयोग नगरेको देख्दा खै कताबाट हो, महाविर पुन पनि स्मृतिमा आउन थाले । समय फेरिएपनि राज्य हिजो पनि त्यस्तै रहेछ, आज पनि त्यस्तै छ । आफ्नो अध्ययन खर्च उठाउनका लागि डाक्टरहरुले माल प्राक्टिस गर्ने कुरा स्वयम् एउटा डाक्टरको भोगाई र बुझाईबाट थाहा पाउँदा हामी यो मान्न बाध्य हुन्छौं कि सरकार मेडिकल माफियासंग डराएकै हो । पक्का हो ।

मान्छेको मनमा उल्लेख भएका स्वास्थ्य सम्बन्धी प्रसंग र नेपाली समाजको चित्रण मात्रै होइन, लेखकको स्वयम् कतिपय व्यक्तिगत भोगाई र नीजि प्रसंगहरु पनि चाख लाग्दा र उत्प्रेरित गर्ने खालका छन् । अध्ययन र मेहनतले कसरी हामीले बुझ्ने गरेको लद्दु विद्यार्थी पनि एउटा सफल डाक्टर बन्न सक्दछ भनेर बुझ्न प्रत्येक अभिभावकले पनि पढ्नै पर्दछ– ‘मान्छेको मन’ । आज शिक्षामा सहज पहुँच भएर पनि क्लास बङ्क गर्दै हिड्ने विद्यार्थीहरुले पढ्न जरुरी छ । त्यो समयमा डा. शर्मा लगायतले कसरी कोठमा बास बसी स्कूल पढ्थे भनेर थाहा पाउन । नेपालमा केही छैन, भविष्य छैन भन्ने प्रत्येक युवाले पढ्न जरुरी छ– ‘मान्छेको मन’ । यो थाहा पाउनका लागि कि कसरी संघर्षले सफलता दिलाउँछ । कसरी मानसिक स्वास्थ्यको क्षेत्रमा कसैले नदेखेको भविष्य डा. शर्माले देख्नु भयो र आजको डाक्टर विश्ववन्धु शर्मा बन्नुभयो । प्रत्येक डाक्टरले पढ्न जरुरी छ, यो बुझ्नका लागि कि आखिर के हो डाक्टरी पेशा ?

केही मानसिक समस्याको कुरा, केही डाक्टरसावका तितामिठा भोगाई र अनुभवका कुरा, कहिँ भावुक बनाउने, कहिँ प्रसन्न बनाउने, थरीथरीका प्रसंगहरु, लेखको बाल्यकाल र त्यो समयको समाजको चित्रणले पक्कै पनि मान्छेको मनलाई चार सय पचासी रुपयाँ हाल्दा खेर गएको महसुस हुँदैन । यो पुस्तक पढीसक्दा व्यर्थै पढेछु । समय मात्रै खेर गयो भन्ने लाग्दैन । आजको २१औं शताब्दिमा हिडिररहँदा पनि हामीलाई मानसिक समस्या सम्बन्धी जति थाहा हुनु पर्ने हो त्यति थाहा छैन । जुन किसिमको बुझाई हुनुपर्ने हो, त्यो हामीले विकास गर्न सकेका रहेनछौं । शिक्षित बर्गले पनि । तसर्थ हरेक शिक्षित बर्गले एक पटक यो पुस्तक पढ्दा मानसिक स्वास्थ्य सम्बन्धी नेपाली समाजको सोंचाईमा परिवर्तन ल्याउन मद्धतगार सावित हुनेछ

Related posts

मानवतावादी जाँ हेनरी ड्युनाप्रति श्रद्धासुमन

admin

सहिदको सम्मान गर्ने व्यानपाको अनुकरणीय थालनी

admin

सिद्धेश्वरीमा “खोज र नष्ट गर”अभियान

admin