Tanahun Awaj
Uncategorized

जोशी पौडेलको गृह जिल्लामा युवा नेता गगनको दौडाहा

दमौली/नेपाली काँग्रेसका केन्द्रियस्तरका नेता गोविन्दराज जोशी र रामचन्द्र पौडेलको गृह जिल्लामा काँग्रेसका प्रभावशाली युवा नेता गगन थापाले यसै हप्ता दक्षिणी भेगदेखि उत्तरी भेगसम्म चक्कर मारेर फर्केका छन् । काँग्रेसको संगठन गर्न भन्दा एकले अर्कालाई सिध्याउने दाउपेचमा लागेपछि तनहुँ जिल्लाबाट संघको दुई क्षेत्र र प्रदेशको चार क्षेत्रमा सून्य उपलब्धि हासिल गरेका नेताहरुमा अझै पनि संगठन बलियो बनाउने भन्दा पनि आफ्नो गुट बलियो बनाउने दाउपेच जारी रहेपछि चिन्तित कार्यकर्ताले गगन थापालाई जिल्लामा आमन्त्रण गरेर नेताहरुलाई गुटको राजनीति नगर्न सचेत गराएको सन्देश दिएका छन् ।

तनहुँका अन्य नेताहरु गोविन्द भट्टराई, शंकर भण्डारी, प्रदीप पौडेल केन्द्रियस्तरका नेताहरु हुँदाहुँदै पनि कार्यकर्ता माझ उनिहरु पनि पौडेल गुटकै नेताको पहिचान बनाएको दुखेसो पाईन्छ । ध्रुव वाग्ले, रघुनाथ पौडेल समेतका पूर्व सभापतिहरु समेत हुँदा पनि काँग्रेसको संगठनको मायाँ भन्दा पनि गुटको मायाँले ग्रस्त हुँदा नेपाली काँग्रेसले तनहुँको संघको दुई र प्रदेशको चार गरी छवटै निर्वाचन क्षेत्रबाट पराजय भोग्न परेको गुनासो कार्र्यकर्ताहरुका माझ रहेको छ ।

तनहुँका नेताको गुनासो सुनिदिन पनि बाहिरका नेताको आवश्यकता देखिन्छ । रामचन्द्र पौडेललाई गोविन्दराज जोशीले चुनाव हरायो भन्ने गुनासो सुनाउनु परेको छ । गोविन्दराज जोशीलाई रामचन्द्रले टिकट जति पैसासंग साटेर मलाई दिएन भन्ने गुनासो सुनाउनु छ । गोविन्द भट्टराईलाई रिस्तीमा पौडेल दाईलाई परेको भोट मैले पनि पाएको भए चुनाव त जित्ने थिएँ भनेर गुनासो सुनाउनु छ । शंकर भण्डारीलाई पौडेल दाईले ऋषिङ्गको भोट नै पारिदिनु भएन भन्ने गुनासो सुनाउनु छ । प्रदीप पौडेललाई ध्रुब लगायतका साथीहरुले मनैदेखि सहयोग गरेको भए मैले जित्ने थिए, जितेको चुनाव हारें भन्ने गुुनासो सुनाउनु छ । रघुनाथ पौडेललाई मैले १५ बर्ष सभापति भएर काम गर्दा पनि जित्ने क्षेत्रमा टिकट दिएनन् भनेर गुनासो गर्नुछ ।

तनहुँका धेरै सबैसंग गुनासै गुनासो मात्रै हुँदा समग्र काँग्रेस संगठनका लागि चिन्तन गर्न नसक्दा संगठनप्रति चिन्तित कार्यकर्ताको भावना नेताले बुझ्न नसक्दा आफ्नो भावना बुझ्ने नेताको खोजी कार्यकर्ताले गर्न थालेको उदाहरणको रुपमा लिइएको छ ।

Related posts

हावाहुरीबाट तनहु पनि प्रभावित

admin

कस्ता जनप्रतिनिधी ?

admin

गणतन्त्र दिवसको शुभकामना-सम्पादकीय

admin