22.5 C
Damauli
September 17, 2026
Tanahun Awaj
Uncategorized

मानाचामल कानून र हामीले गरेको अभ्यास

ऋषिराम पोख्रेल
अधिवक्ता

पृष्ठभूमिः
परिवारमा आश्रितलाई कानून बमोजिम खानलाउन, शिक्षा, स्वास्थ्य, लत्ताकपडा दिनु पर्दछ । यो कानूनी एवं नैतिक जिम्मेवारी हो । यो जिम्मेवारी पुरा नगर्नेले कानून बमोजिमको अंश दिनु पर्दछ– कानून यही भन्दछ । खान लाउन दिई राखेको अवस्थामा, खाना लाउन दिएको, पाएको अवस्थामा पनि मानाचामल भराउन सक्ने कानूनको देखिदैन । हामीहरुको अभ्यास पत्नि र छोरा छोरीले मानाचामल मागेपछि नैसर्गिक अधिकार जस्तो गरी दिलाउने अभ्यास चलेको छ ।

कानूनको मनसायः
मुलुकी ऐन तथा मुलुकी देवानी संहिताको व्यवस्था हेर्दा खान लाउन दिएको वा अंश दिन मन्जुर गरेको अवस्थामा मानाचामल भराउन पर्ने कानूनको मनसाय देखिदैन ।

कानूनमा भएको व्यवस्थाः
साविक मुलुकी ऐनले भनेको छ– लोग्ने वा बाबुआमाले स्वास्नी वा छोरा छोरीलाई इज्जत आमद अनुसार खान र आवश्यकता अनुसार उचित शिक्षा दिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्छ । सो नगरे अंश दिनु पर्छ । हालको मुलुकी देवानी संहिताको दफा ८९ ले पतिपत्निले एक अर्कालाई आफ्नो इज्जत र क्षमता अनुसार खान लगाउन तथा स्वास्थ्य उपचारको व्यवस्था गर्नु वा गराउनु पर्नेछ भन्ने व्यवस्था गरेको छ । दफा २११ ले सगोलको सम्पत्ती भएका पति, पत्नी बाबु, आमा, छोरा छोरीले पत्नी, पति, छोरा, छोरी, बाबु र आमालाई आफ्नो इज्जत आमद अनुसार खान लाउन दिन र आर्थिक हैसियत अनुसार शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्नेछ भन्ने व्यवस्था गरेको छ ।

व्यवहारिक प्रयोगः
मानाचामलको न्याय दिने दिलाउने व्यवहारिक प्रयोगमा हामीले नैसर्गिक अधिकार जस्तै गरी प्रयोग गरेका छौं । तर कानूनले यो अधिकारलाई खान लाउन नदिएको अवस्थामा मात्र उपलब्ध गराउने भनेको छ । हाम्रो अभ्यासले दावी गरेपछि पाउने अंश जस्तै नैसर्गिक अधिकार भएको छ । तर कतिपय अवस्थामा आफैले विदेश बसेर कमाएको धनबाट खरिद गरिएको घडेरीमा बनाएको घरमा बसेर त्यो पतिलाई विस्थापित गराउने पत्निहरुलाई पनि हामीले मानाचामल उपलब्ध गराउने अभ्यास गरेका छौं । अर्को तर्फ मानाचामलको प्रचलन गराउने बेलासम्ममा पाउने अंश भन्दा बढी मानाचामल हुने अवस्थातर्फ पनि हाम्रो ध्यान पुग्न सकेको अनुभूत भएको छैन । फैसला कार्यान्वयन गर्ने कर्मचारीहरुको अनुभवमा मानाचामलको प्रचलन व्यहारिक हुने गरी न्याय सम्पादन हुँदा दुवै पक्षलाई न्यायको अनुभूति दिलाउन सकिन्छ ।

निष्कर्षः
अंश दिंदा नलिने, बण्डा लाग्ने घरजग्गा बस्ने जग्गाको भोगचलन गर्ने, पारिवारीक जिम्मेवारी पुरा नगर्ने अनि मानाचामलको दावी गर्नेसमेत सबैलाई एकै नजरले न्याय प्रदान गरिनु भन्दा विशेष अध्ययनबाट न्याय सम्पादन गर्न सक्दा न्याय पर्दछ । पीडिक र पीडित दुवैलाई न्यायको आत्मगत अनुभूत हुन सक्दछ ।

Related posts

गरिबी र असमानताले समाज बिकराल बन्दछ

admin

जेसिआइको निःशुल्क एम्बुलेन्स

admin

राष्ट्रिय सभा उपनिर्वाचन आज

admin