Tanahun Awaj
Uncategorized

नेकपा तनहुँले पायो इन्चार्ज तथा सह–इन्चार्ज

नेपाल कम्युनिस्ट पार्टी( नेकपा) ले ७७ जिल्ला र ६ महानगरमा इन्चार्ज र सह–इन्चार्जको जिम्मेबारी तोकेको छ । पार्टीको आइतबार काठमाण्डांैमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो । नेकपा तनहुँको इन्चार्जमा गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका हरिबहादुर चुमान चयन भएका छन् । यसैगरी नेकपाले तनहुँका लागि तीन जना सह–इन्चार्ज तोकेको छ । तनहुँका सह–इन्चार्जहरुमा आशा कोइराला, एकबहादुर राना र प्रतापलाल श्रेष्ठ रहेका छन् ।

अध्यक्ष तत्कालिन एमालेले पाएको जिल्लामा तत्कालिन माओवादी केन्द्रले इन्चार्ज पाउने तथा तत्कालिन माओवादी केन्द्रको अध्यक्ष भएको जिल्लामा तत्कालिन एमालले इन्चार्ज पाउने सहमती भए अनुसार तत्कालिन एमालेका केदार सिग्देल अध्यक्ष रहेको तनहुँको इन्चार्जको जिम्मा तत्कालिन माओवादी केन्द्रको भागमा परेको हो । इन्चार्ज तोकिएका चुमान पार्टी एकिकरण अघि माओवादी केन्द्रको तनहुँ इन्चार्ज थिए । सह– इन्चार्ज आशा कोइराला तत्कालिन माओवादी केन्द्रमा केन्द्रय सदस्य थिइन् । अन्य दुई सह–इन्चार्ज राना र श्रेष्ठ तत्कालिन एमालेमा केन्द्रीय सदस्य थिए ।

७७ जिल्ला र ६ महानगर गरी ८३ इन्चार्ज र १५२ सह–इन्चार्ज तोकेको नेकपाको तत्कालिन एमालेको भागमा ४५ इन्चार्ज तथा ८४ सह–इन्चार्ज र तत्कालिन माओवादी केन्द्रको भागमा ३८ इन्चार्ज तथा ६८ सह–इन्चार्ज परेको छ । ६ महानगर मध्ये चार महानगरहरु काठमाण्डौं, पोखरा, विरगञ्ज र ललितपुरमा तत्कालिन एमाले तथा भरतपुर र विराटनगर तत्कालिन माओवादी केन्द्रको भागमा परेको छ । भरतपुर इन्चार्ज बनेकी रेणु दाहाल अध्यक्ष प्रचण्डकी छोरी हुन् ।

गुटगत रुपमा भने सबैभन्दा बलिया प्रचण्ड भएका छन् । उनको भागमा सबैभन्दा धेरै २९ जिल्ला इन्चार्ज र ४५ सह–इन्चार्ज परेका छन् । प्रधानमन्त्री केपी ओलीको भागमा भने २३ जिल्ला इन्चार्ज र ४० सह–इन्चार्ज मात्र परेका छन् । माधव नेपालको भागमा १९ जिल्ला इन्चार्ज र ४१ सह–इन्चार्ज र रामबहादुर थापाको भागमा सात जिल्ला इन्चार्ज र १४ सह–इन्चार्ज परेका छन् । उता बामदेव गौतमको भागमा तीन जिल्ला इन्चार्ज र तीन सह–इन्चार्ज पर्दा नारायणकाजी श्रेष्ठको भागमा दुई जिल्ला इन्चार्ज र नौ सह–इन्चार्ज परेका छन् । तनहुँ जिल्ला इन्चार्ज बनेका चुमान गृहमन्त्री रामबहादुर समूहका हुन् । इलाम, धनकुटा, ओखलढुङ्गा लगाएत १५ जिल्लामा सह–इन्चार्ज नतोकेको नेकपाले महानगरहरुका लागि पनि सह–इन्चार्ज तोकेको छैन ।

Related posts

नहर्की द्वारा अक्षय कोष स्थापना

admin

झण्डै पाँचघण्टा पृथ्वीराजमार्ग अवरुद्ध

admin

भाेली श्रीकृष्ण जन्माष्टमी

admin