22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

ज्यान मारे पनि खतवात नलाग्ने अवस्था

ऋषिराम पोख्रेल
अधिवक्ता

पृष्ठभूमिः
कानूनले हामीलाई आत्मरक्षाको अधिकार प्रदान गरेको छ । आफ्नो ज्यान जोगाउन केही गर्दा कसैको ज्यान गयो भने, त्यस्तो नगरेको भए स्वयंको ज्यान जाने अवस्था देखाउन सकिएमा कसैको ज्यान लिएमा पनि खतवाद नलाग्ने कानूनी व्यवस्था हिजो पनि थियो आज पनि छ । निजी रक्षाको अधिकार प्रयोग गर्दा विशेषतः निजी रक्षाको अधिकारमा लगाइएको बन्देजको ज्ञान हुनु पर्दछ ।

खतवात नलाग्ने अवस्थाः
निजी रक्षाको अधिकार प्रयोग गर्दा त्यस्तो रक्षा गर्नको लागि आवश्यक पर्ने मनासिब बलभन्दा बढी बल प्रयोग गर्न सकिने छैन । यो प्रावधानलाई अबलम्बन गर्दै निजी रक्षाको अधिकार प्रयोग गर्दा कसैको ज्यान गएकोमा त्यस्तो काम कसूर मानिने छैन । ती अवस्थाहरु–
क) कानूनले आफ्नो मात्रै होइन अरु कसैको पनि रक्षा गर्न अधिकार प्रदान गरेको छ । तर आफू वा अरु कसैमाथि भएको आक्रमण विरुद्ध तत्काल रक्षा नगर्दा ज्यान जान वा गम्भिर चोट लाग्ने अंगभंग हुने अवस्थामा मात्र प्रतिरोध गर्ने कार्य गर्दा कसैको ज्यान गएमा खतवात नलाग्ने अवस्था हो ।
ख) जवरजस्ती करणी गर्ने नियतले आक्रमण गरेको पुष्टि गर्न सकिने अवस्थामा केही गर्दा पीडकको ज्यान गएमा कसूर नमानिने कानूनी व्यवस्था छ ।
ग) कानूनद्वारा निषेधित कार्य गर्ने नियतले शरीर बन्धकमा लिएमा वा अपहरण गरेको अवस्थामा पीडितले केही गर्दा पीडकको ज्यान गएमा खतवात लाग्दैन । कानूनद्वारा निषेधित कार्य भन्नाले ज्यान मार्ने, बन्धक वा अपहरण गरी मुक्ति रकम लिने, जवर्जस्ती करणी गर्ने, अङ्गभङ्ग गर्ने जस्ता कार्यहरु पर्दछन् ।
घ) आवास क्षेत्र वा सवारी साधनमा आगो लगाउने वा विष्फोटक पदार्थ प्रयोग गरी क्षति पु¥याउन खोजेको अवस्थामा केही गर्दा पीडकको ज्यान गएमा पनि कसूर नमानिने कानूनी व्यवस्था छ ।
ङ) डाँका कसूर विरुद्धमा रक्षा गर्नु परेका अवस्थामा सो डाँका समूह मध्ये सबैको वा कसैको ज्यान गएमा पनि त्यस्तो काम कसूर मानिदैन ।
च) सार्वजनिक सम्पत्तीको सुरक्षा गर्न खटिएको सुरक्षाकर्मिले तोकिएको कर्तब्य निर्वाहको सिलसिलामा केही गर्दा कसैको ज्यान गएमा खतवात नलाग्ने कानूनी व्यवस्था छ ।

निजी रक्षा गर्दा
निजी रक्षाको अधिकार प्रयोग गर्दा भए गरेको काम कसूर नमानिने व्यवस्था छ । प्रत्येक नागरिकलाई आफ्नो वा अरु कसैको जिउ, ज्यान वा सम्पत्तिलाइ कुनै गैरकानूनी क्षतिबाट बचाउने अधिकार कानूनले प्रदान गरेको छ । निजी रक्षाको अधिकार प्रयोग गर्दा गैर कानूनी क्षतिबाट बचाउन सकिने अन्य विकल्प नभएको प्रष्ट देखिएको हुनु पर्दछ ।

निजी रक्षामा बन्देज
कानूनले निजी रक्षाको अधिकारमा सीमाबन्देज लगाएको छ । जस्तै ः–
क) सार्वजनिक अधिकारीको संरक्षण वा मद्दत उपलब्ध हुने वा हुनसक्ने अवस्थामा निजी रक्षाको अधिकार प्रयोग गर्न कानूनले बन्देज लगाएको छ ।
ख) आफैले कसैलाई उत्तेजित पारीएको कारणबाट सिर्जित घटनाबाट आफूलाई क्षतिपुग्ने अवस्थामा निजी रक्षाको अधिकार प्रयोग गर्न सकिने छैन ।
ग) अदालतको फैसला वा आदेश कार्यान्वयनका सिलसिलामा असल नियतले कुनै काम गरेको अवस्थामा निजी रक्षाको नाउँमा कुनै कार्य गर्न पाईदैन । तर त्यस्तो कर्मचारीले आफ्नो पहिचान खोल्न तथा अख्तियारी पत्र देखाउन सक्नु पर्दछ ।
घ) कुनै राष्ट्रसेवकले आफ्नो पदीय अधिकारको प्रयोगमा असल नियतले गरेको कुनै काम गरेको अवस्थामा र त्यस्तो निर्देशन दिने अख्तियार प्राप्त राष्ट्र सेवकको निर्देशन बमोजिम कुनै काम भएको अवस्थामा निजी रक्षाको अधिकार प्रयोग गर्न पाईदैन तर राष्ट्रसेवाको पहिचान खुलेको हुनु पर्दछ र अख्तियारी पाएको आधिकारीक पत्र देखाउन सक्नु पर्दछ ।

निष्कर्षः
निजी रक्षाको अधिकारको प्रयोग गर्ने व्यक्तिले गलत नियत राखेमा त्यो प्रकट भै हाल्दछ । त्यसैले यस्तो सम्वेदनशिल अधिकारको प्रयोगमा झनै इमानदार हुनुपर्दछ । कसैको ज्यान लिने अधिकारको पुष्टि गराउन पनि कठिन हुन्छ । पुष्टि गराउन नसकिएमा कसूर गरेको मानिनेछ भन्ने बुझाइमा त्यस्तो कार्य गरेको हुनु पर्दछ । ।

Related posts

संसद विघटन विरूद्ध कानुन विद्

admin

न्यानो कपडा वितरण

admin

जहाँ इच्छा, त्यहाँ उपायलाई सार्थक बनाइन अस्मिताले

admin