30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

तनहुँ काँग्रेसको क्रियाशिलता फरक शैलीमा समानान्तर कार्यक्रम

डुंम्रे/नेपाली काँग्रेस तनहुँको विशेष अधिवेशन २०७५ माघ ८ गतेबाट दुई समितिको क्रियाशिलता देखिएसंगै कार्यक्रमहरु पनि त्यही गतिमा अगाडि बढेका छन् । नेपाली काँग्रेस जोशी समूहले कार्यकर्ता भेलाको नाउँबाट र पौडेल समूहले पनि जागरणको नाउँबाट नेपाली काँग्रेसको जागरण अभियान लिएर कार्यकर्ता माझ पुग्ने कार्यक्रमहरु अगाडि सारेका छन् ।

डिल्लीराम अधिकारी नेतृत्वको नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँले शनिबार डुम्रेमा क्षेत्र नं. १ को कार्यकर्ता भेला सम्पन्न गरेको छ । यसैगरी जेष्ठ ११ गते क्षेत्र २ को भिमाद बजारमा कार्यकर्ता भेला गर्ने सो समितिले जनाएको छ ।

नेपाली काँग्रेस क्षेत्र नं. १ तनहुँको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले लुटेराको शैलीमा बैशाख १८ गते नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँको कार्यालयमा तोडफोड गरेको भन्दै आक्रोस पोख्नु भयो । तिथी मिति तोकेर तोडफोड गर्ने वा पार्टी कार्यालय कब्जा गर्ने घोषणा गर्न विघटित नेतृत्वलाई जोशीको चुनौती थियो । सुरक्षाकर्मिको सुरक्षाघेराभित्र नराखेको भए माघ ८ गते नै नयाँ नेतृत्वले पदस्थापन गर्ने कुर्चीमा बसेर अभद्र व्यवहार नगर्न जोशीको निर्देशन थियो । साथै जुलुसमा घुसपैठ भएर कैरकानूनी कार्य गर्र्न कार्यकर्ताको प्रयोग नगर्न नेता जोशीको चेतावनीपूर्ण निर्देशन थियो ।

बोल्न नसक्ने, बोलेको कसैले नसुनिदिने काँग्रेस कार्यकर्ताको विद्रोहको भाषा आफूले बोलिदिएको चर्चा गर्दै जोशीले ‘गोविन्दराज जोशीलाई काँग्रेसबाट हटाँउँदैमा स्वाभिमानी कार्यकर्ताले आत्मसमर्पण गर्दैनन्, बरु विद्रोह गरेर काँग्रेस समाप्त पार्ने गलत मान्छेहरुलाई नेतृत्वबाट हटाउनेछन, तनहुँका काँग्रेस कार्यकर्ता मर्न तयार छन्, स्वाभिमान बेच्न तयार छैनन्’ भन्नुभयो ।

विधान विपरित घुर्किका भरमा खाली टिकट ल्याएर रामचन्द्र पौडेलले मनपरी वितरण गर्दा कार्यकर्तामा जन्मेको विद्रोहले नेपाली काँग्रेस तनहुँमा समेत संघ तथा प्रदेशका सबै चुनाव हार्ने स्थितिमा पुगेको जोशीको आरोप थियो । नेपाली काँग्रेसका उम्मेदवारहरुमा काँग्रेसलाई जिताउने भन्दा आफू जित्न सबै प्रकारको षड्यन्त्र गरेको तथ्यलाई छाङ्ग, ऋषिङ्ग, क्यामिनमा देखिएको मतपरिणामले पुष्टि गरेको जोशीको निष्कर्ष थियो ।

कार्यकर्ता भेलालाई नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँका सभापति डिल्लीराम अधिकारीले पनि सम्बोधन गर्नुभएको थियो । क्षेत्र नं. १ का सभापति भिमबहादुर अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा कोषाध्यक्ष बालकृष्ण पौडेल, नेपाली काँग्रेस जिल्ला कार्यसमिति तनहुँका प्रबक्ता हरिशरण पण्डित, वि.पि. विचार समाज तनहुँका उपसभापति गोपालप्रसाद भण्डारी, क्षेत्रीय सभापति ध्रुबकुमार श्रेष्ठ, भानु–११ का सभापति रुद्रनाथ पौडेल, क्षेत्रीय उपसभापति पितम गुरुङ्ग, नेपाली काँग्रेस तनहुँका सल्लाहकार हेमलाल श्रेष्ठ, इन्कन खनाल लगायतले बोल्नु भएको थियो ।

शनिबार नै वि.पि. विचार समाजको चौथो अधिवेशन पनि समपन्न भएको थियो । अधिवेशनले डिल्लीराम अधिकारीको नेतृत्वमा नयाँ कार्य समितिको गठन गरेको निर्वाचन संयोजक अधिवक्ता परशुराम गिरीले बताउनु भयो । यसैबीच प्राप्त समाचार अनुसार अध्यक्ष डिल्लीराम अधिकारीले समाजको सचिवमा हरिशरण पण्डितलाई र कोषाध्यक्षमा चिनु पोखरेललाई मनोनित गर्नुभएको छ ।

Related posts

हामी कता जाँदैछौं ?

admin

सन्दर्भ नागरिकता विधेयकको

admin

बुढेसकाल नकुरौं

admin