Tanahun Awaj
Uncategorized

हाम्रो शिक्षा कहिले स्वरोजगार मुखी हुने होला ?

डायरी

रमेश विकल

गएको सप्ताहान्त विद्यालयमा स्वर्णमहोत्सव कार्यक्रम थियो । कार्यक्रमका अतिथिलाई के खाजा खुवाउने भन्ने विषयमा लामै गलफत्ती भयो, आयोजकबीच । अन्ततः दमौलीबाट खाजाका प्याकेट मगाउने, सजिलो हुन्छ भन्ने निष्कर्षमा पुगे सबै । कागजको आकर्षक प्याकेटमा बन्द खाजा आयो, महोत्सवका दिन । एउटा समोसा, केही निमकिन र एउटा मिठाई भएको उक्त प्याकेटको मूल्य ४० थियो । थोरै नेपाली र धेरै हिन्दी बोल्ने खाजा बनाउनेहरु संग कुरा गर्दा थाहा लाग्यो उनीहरु त बीरगंज पारीका पो रहेछन् ।

भारतमा विद्यालय खुल्न थालेको धेरै पछि मात्र हामीकहाँ विद्यालय खुल्न थालेका हुन् तर सात दशक यता त शिक्षा क्षेत्रमा राम्रै प्रगति भएको मानिन्छ । तर हामीले कस्ता जनशक्ति उत्पादन ग यौं ? स्वरोजगारी र आत्मनिर्भरताको सिकाई भएन छ क्यारे हाम्रो शिक्षामा । काम ठूलो सानो हँुदैन, काम गर्न लजाउनु हुँदैन भन्ने शिक्षा सायद हाम्रो शिक्षा प्रणालीले हामीलाई दिन सकेन । न भए विरगंज पारिका मानिसले दमौलीमा आएर बनाएको खाजा खानु पर्न अवस्था पक्कै आउने थिएन ।

हाम्रो शिक्षा प्रणालीले त अलिकति पढेपछि माटोमा टेक्न घिन मान्ने, हलो, कुटो, कोदालो छुन हुँदैन भनेझैं गर्ने जनशक्ति पो उत्पादन गर्दै छ त । केही समय अगाडि गरिएको एक अध्ययन अनुसार नेपालमा कपाल काट्ने व्यवसाय गरेर भारतीय नागरिकले वर्षनी अरबौं रुपैयाँ भारत लैजान्छन् । साउदी, कतार वा अन्य पराई मुलुक गएर ४ डी अर्थात डेन्जरस, डर्टी , डिमीनिङ र डिफिकल्ट अर्थात खतरनाक, फोहोरी, तुच्छ र कठिन काम गर्न तयार हुने अनि भारत पुगर ढोके र दरवान हुन तयार हुने हामी आफ्नै देशमा सैलुन खोली, परिवारसंग हाँसीखुसी रहेर, सानो लगानीमा राम्रो आम्दानी गर्ने बाटो अपनाउन सक्दैनौं र ? तरकारी बजार गएर हेरौं त्यस्तै छ । कवाडी समान संकलन गरेर बेच्ने उनै छन्, घर प्लास्टर गर्ने, टायल लगाउने, सिकर्मीको काम गर्ने, इंटा बनाउने, चटपट पानीपुरी बेच्ने काममा भारतीय नै छन् । यस्ता धेरै क्षेत्रहरु छन् जहाँ भारतीय कामदारको एकछत्र राज छ ।

यदि यी कामहरु हामी आफैले गर्ने हो भने वर्षेनी अरबौ रुपैयाँ बाहिरिन बाट जोगिने मात्रै होइन विदेशमा गएर राम्रो कमाइ गरेर परिवारलाई सुखसंग पालौंला भनेर विदेशिनेको सपना दैनिक जसो बाकसमा बन्द भएर आउने बिडम्बनाबाट हामीले पार पाउने थियौं । रोजगार मुखी शिक्षा प्रणालीको विकास र कार्यान्वयनमा हाम्रो नेतृत्वको ध्यान अब त जानु पर्ने होइन र ? शिक्षाको राष्ट्रिय उद्देश्य अनुकुल प्रणालीको विकास अवको आवश्यकता हो कि ?

Related posts

तिहार : अत्यधिक गुलियो खाँदा हुन्छ यी ६ हानी

admin

अन्तर्राष्ट्रिय श्रमिक दिवसः एक विश्लेषण

admin

सडक सुधारका लागि व्यासलाई ७५ करोड

admin