Tanahun Awaj
Uncategorized

मधुमेह अर्थात सुगरबारे सचेत बनौं, स्वस्थ रहौं (सम्पादकीय)

नेपाली समाजमा केही समय अघिसम्म धनीहरुको रोग भनेर चिनिने मधुमेह अर्थात सुगर रोग सम्बन्धी विश्व दिवस हिजो मनाइयो । विश्वका १० महिला मध्ये १ महिला मधुमेहको शिकार हुने गरेका छन् र यसैलाई मध्यनजर गरी यस वर्ष महिला र मधुमेह – हाम्रो स्वस्थ भविष्यको अधिकार भन्ने नाराका साथ विश्व मधुमेह दिवस मनाइयो । थोरै शारीरिक व्यायाम अनि सम्भ्रान्त जीवन शैलीका कारण धनीको रोग भनिने यो रोग हरेक उमेर, हैसियत र अवस्थाका मानिसहरुमा देखापर्न थालेको छ, आजकल सामान्य अर्थमा पाचन प्रणालीको एउटा अभिन्न अंगको रुपमा रहेको पित्त थैलीले पर्याप्त मात्रामा इन्सुलिन नामक तत्व छान्न नसक्नु या शरीरले इन्सुलिनप्रति उचित प्रतिक्रिया नजनाउनु नै मधुमेह हो । मधुमेहका बिरामीहरुमा छिटो छिटो पिसाब लाग्ने, छिटो –छिटो भोक लाग्ने, अत्यधिक तिर्खा लाग्ने , अविश्वसनिय ढंगले तौल घट्ने वा बढ्ने तथा अत्यधिक थकान लागेको महसुस हुने जस्ता समस्या देखा पर्दछन् ।

सही खानपान, उचित रहनसहन, सकारात्मक सोच र नियमित व्यायामले हामी समयमै मधुमेहलाई नियन्त्रण गर्न सक्छौं । मधुमेह भएका मानिसले धूमपान र मद्यपान भने बिल्कुल गर्नु हुदैन भने तयारी प्लाष्टिकमा बन्द खानेकुराहरुबाट पनि टाढै रहनु पर्दछ । रातो मासुको सेवन गर्नु हुदैन भने गेडागुडी र माछाको सेवन फलदायी मानिन्छ ।

व्यस्त जीवन शैलीका कारण आजकलका मानिसहरु कम शारीरिक व्यायाम गर्दछन्, तर हामीलाई स्वास्थ्य रहन दैनिक व्यायाम अति आवश्यक छ । अहिलेका बालबालिका पनि टेलिभिजन र मोवाइलमा भुलेर आवश्यक खेलकुद गर्दैनन् । उनीहरुलाई पनि उचित व्यायामको अवसर प्रदान गर्नु पर्दछ । समग्रमा भन्नु पर्दा संतुलित भोजन, नियमित व्यायाम, तौलको नियन्त्रण, धूमपान वा मद्यपान र सुर्ति सेवान नगर्ने, समयमा खाने, ठिक्क खाने, पैदल हिड्ने तथा पर्याप्त र समयमा सुत्ने गर्नाले मधुमेहबाट बच्न सकिन्छ ।

रोग लागे पछि उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुन्छ । त्यसैले मधुमेहका बारेमा सबैले जानकारी राखेर उचित आहार विहार र आचरण अपनाई स्वस्थ्य बनौं । भावी पुस्तालाई पनि यसबारे आवश्यक जानकारी गराएर उनीहरुको जीवन पनि स्वस्थ्य बन्न सघाऔं । हाम्रो शुभेक्षा ।

Related posts

पहिलो शुक्लागण्डकी महोत्सव सुरु

admin

पुलिसलाई हराउँदै संकटा दोस्रो स्थानमा

admin

भव्य बन्यो होलि पर्व

admin