22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

चाबी बन्ने कि हथौडा ओलीकै हातमा

आलोचनाका स्वरहरु सुन्नै नसक्ने र आलोचनालाई जवरजस्त दवाउन खोज्ने राजनैतिक नेतृत्व वास्तवमा हाम्रो विडम्वना बन्न पुगेको छ ।

रमेश विकल

भदौ ३० मा तत्कालिन एमाओवादी नेता पोष्टवहादुर बोगटीको स्मृति दिवस कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले कार्यकर्तालाई विपक्षिहरु माथि अरिंगाल झै खनिन निर्देशन दिए । देशको शासन सत्ता सम्हालेको व्यक्तिले सरकारको काम कारबाही प्रति असन्तुष्टी जनाउनेहरु माथि अरिंगाल झै खनिन अर्थात अराजकता निम्त्याउन दिएको निर्देशन नाजायज थियो र सर्बत्र आलोचना पनि भयो । त्यसो त प्रम ओली बेलाबेला यस्ता गैरजिम्मेबार अभिव्यक्ति दिइ रहन्छन् र विवादमा परिरहन्छन् ।

केही उदाहरण हे¥यौं भने उनी कतिहद सम्म गैह्र जिम्मेबार छन् भन्ने कुरा प्रष्ट हुन्छ । बर्षायाम नसकिदैको कुरा हो काठमाण्डौं उपत्यकाको सडकमा भएका खाल्डा खुल्डी र त्याहाँ जम्ने पानीले आफुहरुको दैनिकी कष्टकर भएको गुनासो भक्तपुरका नागरिकले ओलीसंग गरे जवाफमा ओलीले भने जलश्रोतमा विश्वको दोस्रो धनी देशको सडकका खाल्डामा पानी नजमेर दूध जम्छ त ? अघिल्लो वर्ष सम्पन्न स्थानीय तहको निर्वाचन अघि नै आगमि हिउँदबाट काठमाण्डौं उपत्यकाका सडकमा खाल्डा खुल्डी देख्न पाउनु हुने छैन भनेर मत मागेका ओलीले अरु दुइ हिउँद वित्न लाग्दा पनि खाल्डा पुर्ने लक्षण नदेखेर गुनासो गरेका उपत्यकाका वासिन्दाले शायद त्यतिबेला सूर्य र हंसिया हथौडामा हालेको मतको दुरुपयोग भएको महसुस गरे जब ओलीको दूध नजम्ने जवाफ पाए ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या र ति घटनामा संलग्नताको विषयलाई लिएर निर्मलाकी साथी भनिएका बम दिदी बहिनीको बचाउमा टेलिभिजनमा प्रम ओली जसरी प्रस्तुत भए, त्यसले निर्मलाले न्याय पाउने कुरामा शंका उब्जायो । भारतीय अभिनेता गाविन्दालाई काठमाण्डौं झरेको २४ घण्टा नवित्दै भेटेका ओलीले आफ्नी छोरीको बलात्कार पछि हत्या गर्ने व्यक्तिलाई कानूनको कठघरामा ल्याउन आग्रह गर्न आएका निर्मलाका आमा बाबुलाई भेटन एक हप्ता कुराए । भेट त दिए तर उनीहरुका कुरा गम्भीरता पूर्वक सुनेनन्÷सुन्न चाहेनन् । निर्मलाकी आमा दुर्गादेवीले दुःखेसो गरिन धेरै कुरा भन्न मन थियो प्रधानमन्त्रीले मलाई सबै थाहा छ भनेर बोल्नै दिनु

भएन । राष्ट्रपतिले त झन भेट नै दिइनन् । अहिले सम्मका घटनाक्रम हेर्दा अब निर्मलाका परिवारले बलात्कारी हत्याराले कारवाही भोगको देख्न पाउने आशा मर्दै गएको छ । काठमाण्डौंका सडकमा धुलो उड््यो, फोहर व्यवस्थापन गर्नु प¥यो, महंगि नियन्त्रण गर्नु प¥यो, पीउने पानीको अभाव हटाउनु प¥यो भन्नेहरुलाई ओली जवाफ दिन्छन्, काठमाण्डौंको सडकमा मैले धुलो उडाएको हो ? फोहर मैले फालेको हो ? म जन्मदां ९० रुपैयाँ तोला सुन थियो अहिले खोजेर पाइन्छ ? पानीको अभाव मेरा कारण भएको हो ? सडकमा खाल्डा खुल्डी मैले पारेको हो र मलाई सुनाएको ?

अनि यस्ता ओठे जवाफ दिएर समस्या समाधान नहुने, प्रधानमन्त्रीले ओठे जवाफ फर्काउने होइन बरु नागरिकले महसुस गर्ने गरी काम गरेर देखाउने हो भन्नेहरु माथि अरिंगाल बनेर जाईलाग्न कार्यकर्तालाई निर्दश गर्छन् । सार्लाहीमा त विपक्षी आवाज दवाउन गोलीनै दागिसके ओलीले । आलोचनाका स्वरहरु सुन्नै नसक्ने र आलोचनालाई जवरजस्त दवाउन खोज्ने राजनैतिक नेतृत्व वास्तवमा हाम्रो विडम्वना बन्न पुगेको छ । ओलीमात्र होइन कांग्रेस सभापति देउवा पनि यसमा अछुतो छैनन्, विविसी नेपाली सेवाको साझा सवालमा प्रश्नकर्तालाई तपाईँ बढी बोल्दै हुनुहुन्छ भनेर हप्काउने कार्यले देउवाको असहिष्णुता प्रकटमा ल्याएको थियो । नेकपाका अर्का अध्यक्ष पीके दाहालको त झन कुरै भएन, आलोचनाका स्वर दवाउन मुखमा बम पड्काउने धम्की दिने परम्पराको थालनी उनैले गरेका हुन् ।

आफुलाई नेपालको प्रधानमन्त्री होइन केवल नेकपाको अध्यक्षमात्र सोचिरहेका ओलीको बोलीमा हुने छुद्रताले विपक्षीहरुलाई सधैं चिढ्याउने गरेको छ । बाटोमा हिडिरहेकी महिलालाई आमा भनेर बोलाउनु र मेरो बाउकी स्वास्नी भनेर बोलाउनुको अन्तर कसले बुझाउने हाम्रा सर्वज्ञ प्रधानमन्त्री ओलीलाई ? ओलीका व्यवहारले केही समय अगाडी शिक्षक मासिकमा प्रकाशित चाबी– हथौडा संवाद स्मरण भयो । संवाद संक्षेप यस्तो छ ।

हथौडा ः– ए चाबी बहिनी तिमी त्यति सजिलै, त्यो पनि एकैछिनमा त्यत्रा त्यत्रा ताला कसरी खोल्छ्यौ हँ ? म यति बलियो भएर पनि एउटा ताला खोल्न कयौं प्रहार गर्नु पर्छ ।
चाबी ः– हेर्नुस् हथौडा दाइ, तपाईं ताला खोल्न आफ्नो बल प्रयोग गर्नु हुन्छ, त्यसलाई निर्दयता पुर्वक हिर्काउनु हुन्छ। तर त्यसो गर्दा पनि धेरै ताला खुल्दैनन्, बरु फुटी दिन्छन् । जबकि म तालालाई अलिकति पनि कष्ट दिन्न । बरु बिस्तारै उभित्र छिरेर उसको हृदय स्पर्श गछुं, त्यहाँ आफ्नो निम्ति ठाउँ बनाउँछु । अनि म विनम्रतापूर्वक उसलाई खुल्न भन्छु, ऊ तुरुन्त खुलिदिन्छ । यसको अर्थ हो विनयशिलताले जति सजिलै काम बन्छ, जबरजस्ती बल प्रयोगले बन्न लागेको काम पनि बिग्रन्छ । बल प्रयोग वा जबरजस्ती गरेर कुनै काम गर्न त सकिन्छ तर त्यसको परिणम सुखद वा सकारात्मक नहुन सक्छ जसरी हथौडाले हान्दा ताला त खुल्छ तर फुटेर , कुच्चिएर , अझ त्यो पनि काम नलाग्ने भएर । अहिले हाम्रा प्रधानमन्त्री ओली पनि हथौडा बन्ने अभ्यासमा छन् । पार्टीको झण्डा नै हसिँया हथौडा भएका ओली हतपत चबी बन्ने अभ्यासमा लाग्लान भन्ने अपेक्षा गर्नु जायज नहोला वा त्यस्तो सल्लाह दिनु नाजायज ठहरिएला तर चबी बन्दा र हथौडा बन्दाको अन्तरलाई आत्मसाथ गर्ने र के बन्ने भनेर निक्र्याेल गर्ने उनैले हो ।

Related posts

प्रेस युनियन तनहुँको ध्यानाकर्षण

admin

सडक सुधारका लागि व्यासलाई ७५ करोड

admin

इनरह्वीलको विद्यार्थीलाई सहयोग

admin