
असार १५ नजिकिँदै गर्दा नेपाली समाजमा एउटा पुरानो उखान ब्युँतिन्छ– “मानो खाएर मुरी उब्जाउने बेला ।” यो केवल उखान मात्र होइन, नेपाली कृषि अर्थतन्त्रको प्राण र किसानको पसिनाको कथा पनि हो । तर, विगत दुई दशकदेखि सरकारी स्तरबाट तामझामका साथ मनाइँदै आएको राष्ट्रिय धान दिवस र वास्तविक धरातलबीचको खाडल हेर्दा अब यो दिवस केवल एक औपचारिकता र महोत्सवमा मात्र सीमित हुन पुगेको भान हुन्छ ।
६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आश्रित भएको देश अनि केही दशक अगाडि धान निर्यात गर्ने मुलुक आज वार्षिक झण्डै ४८ अर्ब रुपैयाँको चामल आयात गर्न विवश छ । मासिक झण्डै ४ अर्बको चामल आयात गर्नु पर्ने यो तितो यथार्थले हाम्रो राष्ट्रिय परनिर्भरता र कृषिको दयनीय अवस्थालाई छर्लङ्ग पार्छ ।
असार १५ को संघारमा पुग्दा समेत देशका अधिकांश भूभागका किसानहरूले धान रोप्न पाएका छैनन् । यसको प्रमुख कारण हो– अझै पनि आकाशे पानीको भरमा गरिने धान खेती । तीन दशक अगाडि ल्याइएको दीर्घकालीन कृषि कार्यक्रमको असफलताको परिणाम आजका किसानले भोग्दैछन् । विज्ञान र प्रविधिको यो युगमा पनि नेपाली किसान घामपानीको प्रकृतिको चक्र र आकाशतिर हेरेर बस्न विवश छन् ।
त्यसमाथि, जल तथा मौसम पूर्वानुमान महाशाखाका विज्ञप्तिहरू किसानका लागि सहयोगी हुनुको साटो उनीहरूको विवशतामाथिको भद्दा मजाक जस्तो बन्न थालेको छ । मनसुन भित्रियो, देशभर भारी वर्षा हुन्छ, भन्ने हप्तौँ अघिको सूचना केवल कागजमा सीमित हुँदा, मध्य असार बित्न लाग्दा समेत खेतहरू बाँझै छन् । पानीको अभावमा किसानका लालाबालाको हातमुख जोर्ने संकट सुरु भइसकेको छ ।
२०६२÷६३ को ऐतिहासिक राजनीतिक आन्दोलनमा नेतृत्वले नागरिकलाई एउटा सुन्दर सपना बाँडेको थियो– यो अन्तिम राजनीतिक आन्दोलन हो, अब नागरिकको मुहारमा हाँसो र खुसी आउनेछ । निरंकुश भनिएको राजतन्त्रको अन्त्य भयो, देश संघीयतामा गयो र तीन तहका सरकार बने । विशेष गरी सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने भनिएको स्थानीय सरकार आफ्नै घरदैलोमा आउँदा किसानहरूले सोचेका थिए– अब कृषिमा क्रान्ति हुनेछ, अर्बौँको चामल आयात गर्ने नियतिबाट मुक्ति पाइनेछ ।
तर, गायिका अरुणा लामाको गीत, सोचे जस्तो हुन्न जीवन… भनेझैँ आम किसानको जीवन बदलिएन । स्थानीय सरकारका जनप्रतिनिधिहरूको प्राथमिकतामा उत्पादनमुखी कार्यक्रम कहिल्यै परेनन् । गाउँ–गाउँमा डोजर चलाएर सडक खन्ने होडबाजी त चल्यो, तर ती सडकले बजारबाट चामल र विदेशी तरकारी गाउँ ल्याउन मात्र सजिलो बनाइदिए । गाउँको उत्पादन बोकेर बजार जाने गाडीहरू आज रित्तै फर्किन बाध्य छन् । समयमा मल, उन्नत बीउ, कीटनाशक औषधि र सिँचाइ सुविधाको विस्तार गर्नेतर्फ कुनै पनि सरकारको ध्यान पुग्न सकेको छैन ।
सरकारले हरेक वर्ष बजेटमा कृषि अनुदानका कुरा नगर्ने होइन । तर, विडम्बना ! त्यो अनुदान वास्तविक माटोमा भिज्ने किसानसम्म कहिल्यै पुग्दैन । राज्य संयन्त्रमा पहुँच भएका सहर र गाउँका टाठाबाठा, जसलाई चामलको बोट कस्तो हुन्छ सम्म थाहा छैन र जसलाई हिलो छुन घिन लाग्छ, उनीहरूले नै कागज मिलाएर अनुदान कुम्ल्याउँछन् । जसले आली, गौँडा र समाहाको नाम समेत सुनेका छैनन्, उनीहरू पतञ्जलीको पाँच वर्ष पुरानो चामल भारतबाट मगाएर खानुमा आफ्नो शान देख्छन् । यो चरम बेथिति र विभेद देखेर दिनरात दश नङ्ग्रा खियाउने वास्तविक किसानको उत्पादन गर्ने जाँगर कसरी चलोस् ?
गत वर्षहरूका असार १५ का तस्बिरहरू सम्झने हो भने जोकोहीको पनि शिर लाजले निहुरिन्छ । घाँटीमा धानको बीउको माला लगाएर मपाईँ भावमा उभिएका नेता, भव्य महलका कौसी र गमलामा धान रोपेर फोटो सेसन गर्ने मन्त्रीहरू, अनि रोप्ने बेलाको धानको बीउमाथि कार्पेट ओछ्याएर भव्य मञ्च बनाउने अनि किसानले मल कहिले आउँछ मन्त्री ज्यू भनेर प्रश्न गर्दा सम्यक उत्तर दिनुसाटो प्रश्नबाट भाग्ने नयाँ भनिएका नेतृत्व नै आजको हाम्रो मुख्य समस्या हो ।
२०६१ मंसिर २९ मा असार १५ लाई राष्ट्रिय धान दिवस मनाउने निर्णय गर्दा यस्ता निर्लज्ज् र ढोंगी तस्बिरहरू पोस्ट्याउने उद्देश्य पक्कै राखिएको थिएन । धान दिवसको मर्म र किसानको पीडा आत्मसात् गर्नुको साटो आफूलाई विशिष्ट दर्जाको नागरिक सम्झने शासकहरूको यही सोचका कारण देश परनिर्भरतातर्फ धकेलिएको हो । गमलामा धान रोपेर उत्पादन कहिल्यै बढ्दैन, न त यसले देशलाई आत्मनिर्भर नै बनाउँछ ।
केही दशक अगाडिसम्म पनि ग्रामीण भेगमा मकैको भात वा कोदोको ढिँडो खाएर नेपालीहरूले छाक टार्ने गर्दथे । तर आज उपभोग संस्कृति बदलिएको छ। स्वास्थ्यका कारण डाक्टरले रोकेका वा सोखले खाने बाहेक कोही पनि मकै वा कोदो खान तयार छैनन् । भकारीको कोदो र सुलीको मकै बेचेर भए पनि चामलकै भात खानुपर्ने मानसिकता विकास भएको छ।
यस्तो अवस्थामा धान हाम्रो सबैभन्दा प्रमुख र रणनीतिक खाद्यान्न बाली बनेको छ । धानको उत्पादन बढाउन सके मात्र हाम्रो अर्बौँ रुपैयाँ बाहिरिनबाट जोगिन्छ, विदेशी मुद्राको सञ्चिति बढ्छ र मुलुक आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छ ।
उत्पादनमा वृद्धि, आउँछ समृद्धि भन्ने आकर्षक नारा केवल भित्तामा टाँस्न वा भाषण गर्नका लागि मात्र
सुहाउँछ । जबसम्म राज्यले किसानलाई समयमा मल र बीउको ग्यारेन्टी गर्दैन, जबसम्म प्रत्येक खेतका गराहरूमा बाह्रै महिना सिँचाइको प्रबन्ध हुँदैन, र जबसम्म किसानले आफ्नो उत्पादनको उचित मूल्य र बजार पाउँदैनन्, तबसम्म धान दिवस मनाउनुको कुनै सान्दर्भिकता रहँदैन ।
नेतृत्वले गमलाको रोपाईँ र कार्पेटको मञ्च त्यागेर वास्तविक रूपमा खेतका आलीहरूमा पुगेर नीतिगत सुधार नगर्ने हो भने चामल आयातको यो डरलाग्दो तथ्याङ्क वर्षनी बढिरहनेछ । धान दिवसलाई चामल आयात घटाउने र किसानको मुहारमा हाँसो ल्याउने वास्तविक सङ्कल्पको दिन बनाइयोस् । सम्पूर्ण नेपाली र पसिना बगाउने किसानहरूमा ढिलै भएपनि राष्ट्रिय धान दिवसको शुभकामना !
