नेपालमा गाँजालाई हानिकारक लागूऔषधको सूचीबाट गाँजालाई हटाउनु पर्ने र व्यवसायि खेती गर्न पाउनु पर्ने माग उठिरहेका बेला संयुक्त राष्ट्रसंघले गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाएको छ । अघिल्लो बुधबार भएको मतदानमा राष्ट्रसंघीय लागुऔषधसम्बन्धी आयोग यूएनसीएनडीका ५३ सदस्य राष्ट्र मध्ये २७ मुलुकले हानिकारक लागुऔषधको सूचीबाट हटाउनु पर्ने पक्षमा र २५ ले विपक्षमा मतदान गरेपछि बहुमतको आधारमा निर्णय गरिएको हो ।
विश्व स्वास्थ्य संगठनले पनि गाँजालाई हानिकारक लागूऔषधबाट हटाउनु पर्ने भन्दै बारम्बार सुझाब दिँदै आएको थियो । गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउनुपर्ने पक्षमा नेपालले पनि मतदान गरेको छ । त्यस्तै पक्षमा मतदान गर्नेमा अमेरिका, बेलायत, भारत, अस्ट्रेलिया, थाइल्यान्ड, क्यानडा, बेल्जियम, फ्रान्सलगायत मुलुक छन् । गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउन नहुने पक्षमा मत हाल्नेमा ब्राजिल, चीन, अफगानिस्तान, पाकिस्तान, जापान, इराक, लिबिया, रुस, क्युबा, हंगेरीलगायत मुलुक
छन् । गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउँदै यसको औषधिजन्य गुण र वनस्पतिका रुपमा लिने विषयमा सकारात्मक निर्णय भएको तर यसलाई गाँजालाई बैधानिकता प्राप्त भएको भन्ने अर्थमा लिन नहुने बताइएको छ । यसबाट विभिन्न रोगको निदान र औषधिको विकासमा सहयोग पुग्ने बताइएको छ ।
गाँजालाई हानिकारक लागू औषधको सूचीबाट हटाउनु पर्नेपक्षमा मतदान गरको अमेरिकाले गाँजाको सुरक्षित र प्रभावकारी प्रयोग भए यसले विभिन्न रोगको निदानमा सघाउन पुग्न सक्ने बताएको छ । त्यस्तै विपक्षमा मतदान गरेको जापानले यसले विशेष गरी युवा पुस्तालाई असर पुग्ने जापानको तर्क गर्दै गाँजाको गैरचिकित्सकीय प्रयोगले स्वास्थ्यमा मात्रै नभएर सामाजिक रुपमा समेत प्रभाव पार्ने बताएको छ ।