दमौली/नेपाल सरकारको एक वडा एक आधारभुत स्वास्थ्य केन्द्र कार्यक्रम अन्तरगत व्यास नगरपालिकाको वडा नं २ स्थित गणेशमान चोकमा केराबारी आधारभुत स्वास्थ्य केन्द्र आइतबारबाट सञ्चालनमा ल्याईएको छ । व्यास नगरपालिका वडा नं २ द्वारा सञ्चालनमा ल्याईएको उक्त स्वास्थ्य केन्द्रको आइतबार शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले वडाहरुमा रहेका स्वास्थ्य केन्द्रको विकासका लागी व्यास नगरपालिका प्रतिबद्द रहेको बताए । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिँदै प्रमुख न्यौपानेले स्वास्थ्य केन्द्रहरुले जनताका स्वास्थ्य प्रति संवेदनशिल भएर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा व्यास नगरपालिकाका स्वास्थ्य संयोजक हरिशचन्द्र न्यौपानेले सबै वर्गको स्वास्थ्य सेवालाई ध्यानमा राखेर वडास्तरमा स्वास्थ्य केन्द्र स्थापना गरिएको बताए । वडाअध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न स्वास्थ्य केन्द्र सुभारम्भ कार्क्रममा व्यास न पा कार्यकारिणी सदस्य कल्पना पोख्रेल, उत्तरशिला टोल विकास संस्थाका अध्यक्ष महेन्द्र रिजाल, पुल्चोक टोल विकास संस्थाका अध्यक्ष भरत काफ्लेले आफ्नो धारणा राखेका थिए ।
यसैबीच व्यास नगर पालिकाको वडा नं १ चारकुनेमा पनि सोमबारबाट चारकुने आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । स्वास्थ्य केन्द्रको उद्घाटन् व्यास नपाकी उपप्रमुख मिरा जोशीले एक समारोहबीच गरेकी हुन् । उद्घाटन कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष खरसिं दरैले गरेका थिए । यसअघि व्यास नगरपालिका वडा नं ४ सिमलटार तथा वडा नं ७ को पाथ्रामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भैसकेका छन् ।