डा. प्रकाशराज रेग्मी
वरिष्ठ मुटुरोग विशेषज्ञ
बाथ मुटुरोग’ ले धेरैलाई झुक्याउँछ । सुरूदेखि अन्त्यसम्मै झुक्किने अवस्थाहरू हुन्छन् । सुरूका लक्षणहरू मुटुरोगसँग सम्बन्धित हुँदैनन् । त्यसकारण अभिभावकदेखि चिकित्सकसम्म झुक्किने गर्छन् । यो सबैभन्दा बढी झुक्याउने खालको मुटुरोग हो । यो रोगका लक्षणलाई मात्र आधार मान्दा उपचारमा हेलचेक्रयाइँ हुने र कहिलेकाहीँ गलत किसिमको उपचार हुने अवस्था पनि आउँछ, जसले गर्दा रोग भित्रभित्रै बढ्दै गई जटिल परिस्थिति सिर्जना हुन सक्छ । रोगले डाक्टरहरूलाई समेत झुक्याएका थुप्रै घटनाहरू छन् ।
२०७१ सालमा पश्चिम पहाडबाट १६ वर्षका एक जना किशोर मकहाँ आए । कतैबाट रिफर थिएन, उनका बाले लिएर आएका थिए । मुटु हल्लिने, छाती दुख्ने र हिँड्दा स्याँ स्याँ हुने लक्षण थियो । स्याँ स्याँ हुँदैमा मुटु विभागमा आउने भन्ने हुँदैन, जब मुटु नै हल्लिने र छाती दुख्ने हुन थाल्छ तब मुटु विभागमा आउँछन् । मैले वीर अस्पतालको कार्डियोलोजी विभागमा उनलाई जाँचें । स्टेथेस्कोपबाट जाँच्नेबित्तिकै मैले उनको भल्भ बिग्रेको आवाज सुनेँ । मलाई बाथ मुटुरोगको शङ्का भयो । मुटुको भिडियो (इको) नगरेसम्म त निश्चित गर्न सकिन्न । इको गर्नुअगाडि उनको रोगको पुरानो विवरण (हिस्ट्री) लिएँ । उनलाई १२–१३ वर्षको उमेरदेखि नै हातखुट्टाका जोर्नीहरू दुख्ने भइरहेको रहेछ । त्यस बेला उनले स्थानीय स्तरमा उपचार गरी ब्रुफेन खाएका रहेछन् । केही दिन ठीक हुने, फेरि दुखाइ बल्झिने भएछ । यसरी रोग दुई–तीन पटक बल्झिएपछि काठमाडौंमै जँचाउने भनेर वीर अस्पतालमा आएछन् । जोर्नीहरू दुखेको आधारमा उनी हाडजोर्नी विशेषज्ञकहाँ जँचाउन गएछन् । उनले यससम्बन्धी कागजपत्र लिएर आएका थिए, मैले हेरेँ । हाडजोर्नी विशेषज्ञले जोर्नी दुख्ने कारणहरू जस्तो– युरिक एसिड र आरए फ्याक्टर जाँचेको, दुखेका जोर्नीको एक्सरे गरेको पाएँ । रिपोर्टहरू सामान्य नै थिए । यो उमेरमा जोर्नी दुख्ने अन्य कारणहरू खोज्नेतर्फ उनी लागेनन् । उनले सम्पूर्ण रिपोर्ट हेरेपछि, तिमीलाई नराम्रो केही छैन भनेर दुखाइ कम गर्ने औषधि र क्याल्सियम दिएछन्, उनी घर फर्किए ।
करिब ६ महिनापछि रोग बल्झियो, जोर्नीहरू दुख्न थाले, ज्वरो पनि आयो । यस पटक छाती दुख्ने, स्याँ स्याँ हुने, मुटु हल्लिने पनि भयो । त्यसपछि ओ.पी.डी.मा आइपुगेका थिए । मैले इको गरेर हेरें, मध्यम किसिमको बाथ–मुटुरोग थियो । तत्काल मुटुको शल्यक्रिया गरिहाल्नुपर्ने आवश्यकता थिएन । तर केही हप्ता ढिलो गरेको भए त्यो अवस्था आउन पनि सक्थ्यो । मैले रोग नबढोस् भनेर उपचार गरिदिए पुग्ने स्थिति थियो । यो अवस्थाको उपचार भनेको तीन–तीन हप्तामा पेनिसिलिनको सुई लगाउने हो । यो सुई पहिला जोर्नी दुखेर जँचाउन जाँदा नै लगाइदिएको भए यसरी मुटु बिग्रिने थिएन । डाक्टरले पनि जोर्नीको दुखाइ बाथ मुटुरोगको लक्षण पनि हुन सक्छ भनेर अनुमान नै गरेनन् । डाक्टर नै झुक्छिन् भने अभिभावकले त झन् अनुमान गर्न कठिन हुन्छ । बाथले गर्दा मुटुरोग लाग्छ भनेर बुझाउन त्यति सहज छैन । जोर्नीहरू दुख्दा बिरामीहरू प्रायः हाडजोर्नी विशेषज्ञकहाँ गएका हुन्छन् । मुटुरोग नै लागेर स्याँ स्याँ भइसक्दा पनि दम भयो भनेर फोक्सोको डाक्टरकहाँ जाने गरेको भेटिन्छ । मुटुकै डाक्टरकहाँ आउँदा पनि बुझेरभन्दा पनि अधिकांश त नबुझेरै वा अरू कसैले मुटुरोग हो कि मुटुको डक्टरकोमा जाऊ भनिदिएकाले आउने गर्छन् ।
यो रोगको कुनै–कुनै अवस्था मात्र होइन, अधिकांश अवस्था, लक्षणहरू झुक्याउने खालका छन् ्र दगुर्दा लड्दा जोर्नी दुखेको भनेर बाबु–आमाले अर्थ लगाइरहेका हुन्छन् । ’बढ्ने उमेर हो, यसै पनि हातखुट्टा दुख्छ’ भन्छन् । अनि घाँटी दुखेको, टन्सिल बढेको रोग नै होइन भन्ठान्छन् । घाँटी दुख्ने समस्यालाई मामुली समस्याका रूपमा लिएका हुन्छन् । फेरि वर्षमा एक–दुई पटक घाँटी दुख्ने त जुनसुकै बच्चालाई पनि हुन्छ । मौसम परिवर्तन हुँदा धेरैलाई घाँटी दुखेको हुन्छ। रूघाखोकी लाग्छ । साधारण होला भनी सबै झुक्किन्छन् ।
(डा. रेग्मीको पुस्तक टन्सिलले विगारेको मुटुबाट साभार गरिएको)