दमौली/राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर व्यास नगरपालिकाले पालिका भित्रका शिक्षक, विद्यालय तथा विद्यार्थीलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।
दिवसको अवसर पारेर नपाले शैक्षिक शत्र २०८० तथा ०८१ मा सेवा निवृत्त भएका शिक्षक, तीन दशक सेवा गरेका शिक्षक तथा उत्कृष्ट नतिजा ल्याउने शिक्षकलाई बुधबार सम्मानित गरेको हो ।
शैक्षिक सत्र २०८० तथा २०८१ को हालसम्म सेवा निवृत्त ४२ जना शिक्षकलाई नपाले उक्त कार्यक्रममा दोसल्ला तथा कदरपत्रले सम्मान गरेको हो । यसैगरी तीस वर्षे सेवा अवधि पूरा गरेका ४८ शिक्षकलाई दोसल्ला, दीर्घ सेवा पदक तथा कदर पत्रले सम्मानित गरेको हो ।
कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा–२०८०, कक्षा– १० तथा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०८०,कक्षा–१२ मा कम्तिमा २० विद्यार्थीभई गणित र विज्ञान विषयमा ८० प्रतिशतभन्दा धेरै र अन्य विषयमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।
व्यास नगर शिक्षा शाखा प्रमुख केदारराज आचार्यका अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गत शैक्षिक शत्रमा कक्षा ८, १० र १२ मा उत्कृष्ट जिपिए ल्याउने नपाभित्रका विद्यालयका विद्यार्थीहरुलाई कदर पत्र र नगद पुरस्कार प्रदान रिएको थियो । नपाका अनुसार कक्षा १२ को अन्तिम परीक्षामा छात्रा तर्फ आदिकवि भानुभक्त माध्यमिक विद्यालयकी नम्रता श्रेष्ठ तथा छात्र तर्फ सोही विद्यालयका निर्मल वसेल पुरस्कृत भएका छन् ।
यसैगरी एसईई छात्रा तर्फ निर्मल माविका सुनिल थापा र छात्रा तर्फ पराशर आमाविकी अमृता थापा तथा आधारभूत तह कक्षा ८ मा छात्रा तर्फ सत्यवती माविकी साक्षी वाग्ले र छात्र तर्फ सोही विद्यालयका डेभिड दरै उत्कृष्ट नतिजा ल्याएकोमा पुरस्कृत भए ।
उक्त अवसरमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएकोमा सत्यवती मावि, एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल क्यामिन मावि तथा जनजागृति माविलाई समेत पुरस्कृत गरिएको थियो । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एसओएस बालग्राम, रुम टु रिढ तथा शैक्षिक सुधार समिति व्यास–१३ लाई समेत सो अवसरमा सम्मानित गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वाग्लेले पुरस्कार तथा सम्मानले शिक्षक तथा विद्यार्थीहरुलाई हौसल मिल्ने विश्वास व्यक्त गरे । यसैगरी नगर प्रमुख बैकुण्ठ न्यौपानेले शिक्षाको गुणस्तर अभिवृद्धिमा यस्ता कार्यक्रमले सहयोग पुग्ने आशा राखेको बताउँदै निवृत्त शिक्षकहरुको बाँकी जीवन सुखद होस् भन्ने कामना समेत गरे । शिक्षा विकास तथा समन्वय एकाई प्रमुख उद्धवराज कट्टेलले कक्षा १० तथा १२ को नतिजा सुधारमा लागि पर्न सबै शिक्षकहरुसंग आग्रह गरे ।
कार्यक्रममा व्यास नपाका प्रमुख प्रशासकिय अधिकृत काशीराम गैरे, व्यास नगर उपप्रमुख इन्दिरा दरै, शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोखरेल तथा शिक्षक शारदा थापा अधिकारीले समेत मन्तव्य राखेका थिए । व्यास नपाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए
“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता” भन्ने नराका साथ बुधबार देशभर शिक्षा दिवस मनाइएको हो ।
शैक्षिक गुणस्तर अभिवृद्धिमा व्यासको चासो: शिक्षा दिवसमा विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित
previous post