रमेश विकल
कांग्रेस सभापति शेरबहादुर देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त हुँदा यो उनको पाँचौं नियुक्ति थियो, प्रधानमन्त्रीको रुपमा । उनको पाँचौ सत्तारोहणमा आमनागरिक र कांग्रेसका नेता कार्यकर्ताको खासै अपेक्षा थिएन । एउटै कामना थियो देउवाले केही नराम्रो नगरिदिऊन् ।
नागरिकको कामनाले काम गरेन । देउवाले जे नगरुन भन्ने कामना थियो, त्यही गरे । सर्वाेच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका भनेर आलोचित भईरहेका थिए । झन उनले सत्तारोहणको ८८ औं दिनमा पूर्णता दिएको मन्त्री मण्डलमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले आफ्नालाई मन्त्री कोटा मागेको भन्दै उनको चर्काे आलोचना भैरहेकै बेला चोलेन्द्रको कोटाका नातेदार तथा कांग्रेसका क्रियाशिल सदस्य गजेन्द्रबहादुर हमाललाई देउवाले जब कांग्रेस कोटाबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाए सवत्र आलोचना सुरु भयो ।
प्रधानन्यायाधीश राणाले मन्त्री परिषद्मा आफ्नो हिस्सा खोजेको र त्यस विषयमा सत्ता गठबन्धन दलका नेताहरु छलफलमा रहेको भन्ने समाचार आईरहँदा विस्तारित मन्त्री परिषद्मा राणाका नातेदार हमाल मन्त्री हुनुले बाघ कराउनु र बाख्रो हराउनु बीच संयोग मात्र हो भनेर पत्याउन सकिने अवस्था रहेन । नियुक्तिको ४८ घण्टा नवित्दै हामलले राजिनामा दिए र स्वीकृत पनि भैसक्यो तर देउवाको यो अर्काे गल्तीका कारण उनको दल नेपाली कांग्रेसले भने ठूलो क्षति व्यहोर्नु पर्ने देखिएको छ ।
२०५२ र ०५३ मा गरी १८ महिना राप्रपासंगको संयुक्त सरकारको नेतृत्व गर्दा देउवाले सरकार टिकाउनका लागि जेजस्ता क्रियाकलाप गरे त्यसले कांग्रेसलाई लज्जाबोध गर्नु पर्ने अवस्थामा लग्यो । सत्ता टिकाउनका लागि सांसदलाई गाडी सुविधा दिने देखि सांसदलाई विदेश भ्रमणमा पठाउने, सुरा र सुन्दरी उपलब्ध गराएर राख्ने जस्ता क्रियाकलाप उनको पालामा भए । जसले कांग्रेसलाई साह्रै असमञ्जसमा पा¥यो । २०५८ सालको दोस्रो पटकको १४ महिने कार्यकाल पनि देउवाको पार्टीका लागि हितकर भन्दा अहितकर रह्यो । २०६१ मा तेस्रो पटक प्रधानमन्त्री बनेका देउवाले निर्वाचनको मिति तोकेर समयमा निर्वाचन गर्न सकेनन् र ज्ञानेन्द्रले सत्ता हातमा लिए । प्रजातन्त्र दरबारमा बुझाएको कलंकको टीका उनलाई लाग्यो । यस हिसाबले देउवाको तेस्रो कार्यकाल पनि कांग्रेसका लागि फाइदा जनक रहेन बरु प्रतिगमनको मतियारका रुपमा आम नेपालीले कांग्रेसलाई लिन थाले, जसको प्रमुख कर्ता देउवा थिए ।
२०७४ मा तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा विराजमान बनेका देउवाको तुलनात्मक रुपमा कम विवादास्पद कार्यकाल यही हो । प्रचण्डले आँट नगरेको निर्वाचनका कामहरु देउवाले सम्पन्न गरे तर उनले नेतृत्व गरेको पार्टी नराम्रोसंग पराजित भयो । असार अन्तिममा पुनः सत्तामा पुगेका देउवाको हनिमुन पिरियड विर्सन लाएक भएको छ । महाकाली तुइन प्रकरणदेखि दोबाटे विकलाई अन्तिममा मन्त्री बन्न नदिएको लगाएतका विषयले बदनाम बन्दै गएका देउवाले गजेन्द्र्र हमाल नियुक्ति प्रकरणबाट कांग्रेसलाई टाउको उठाउन नसक्ने अवस्थामा लग्ने लक्षण देखाएका छन् । र आम शुभचिन्तक तथा कांग्रेस कार्यकर्ताको प्रश्न छ, देउवा जि के हामीलाई टाउको उठाउनै नदिने नै हो ?
देउवालाई शुभेच्छुक र कार्यकर्ताको प्रश्न कांग्रेसलाई टाउको उठाउनै नदिने हो ?
previous post