जुन २६ अर्थात् विश्वभर मनाइने अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस । विश्व समुदायलाई लागुऔषधिको भयावह असर र यसको अवैध सञ्जालबाट मुक्त गराउने उद्देश्यले यो दिवस मनाइँदै गर्दा नेपालको चित्र भने निकै निराशाजनक र कुरुप देखिन्छ । युवावस्थाको तरलता र क्षणिक प्रलोभनको फाइदा उठाउँदै तस्करहरूले हाम्रा भविष्यका कर्णधारहरूलाई कुलतको गहिरो खाडलमा धकेलिरहेका छन् । प्रतिवर्ष विश्वभर लाखौँको ज्यान लिने यो महाव्याधिबाट खुला सिमाना र फितलो सुरक्षा व्यवस्था भएको हाम्रो देश नेपाल अछुतो रहन सक्ने कुरै भएन ।
सन् १९६० को दशकको हिप्पी संस्कृतिसँगै भित्रिएको यो विसङ्गति आज झन् डरलाग्दो रूपमा झाङ्गिएको छ । डाक्टरको प्रेस्क्रिप्सनको दुरुपयोग, प्रतिबन्धित सुईको बढ्दो प्रयोग, र सडक बालबालिकाले सरेआम सुँघ्ने डेन्ड्राइटसम्मले हाम्रो समाजको वर्तमान अवस्थालाई गिज्याइरहेको छ । सहर–सहरमा च्याउसरी खुलेका र व्यावसायिक रूपमा सफल भइरहेका दुव्र्यसन सुधार केन्द्रहरू नै हाम्रो कुरुप यथार्थका साक्षी हुन् । यसैको सह–उत्पादनका रूपमा एचआइभी/एड्स र हेपाटाइटिस जस्ता रोगहरू तीव्र रूपमा फैलिरहेका छन्, जसले समाजलाई थप जर्जर बनाउँदैछ ।
सबैभन्दा विडम्बनाको कुरा त राज्य र प्रशासनको मौनता तथा लाचारी हो । वैदेशिक रोजगारीबाट फर्किएका सोझा कामदारको टिभीसम्म खोलेर दुःख दिने हाम्रो विमानस्थल र भन्सार प्रशासनकै नाकैमुनिबाट हजारौँ किलो लागुऔषध कसरी
भित्रिन्छ ? यो अनुत्तरित प्रश्नले तस्कर, विमानस्थल, भन्सार र सीमा सुरक्षाको मिलेमतोलाई प्रष्ट पार्छ ।
यदि साँच्चै नै आउँदो पुस्ता र देशको भविष्य जोगाउने हो भने सरकारले अब गफ र नारामा मात्र सीमित नभई लागुऔषध तस्करहरूको सञ्जाल भत्काउन कडा कानुन निर्माण गर्नुपर्छ । भएका कानुनको निर्मम र प्रभावकारी कार्यान्वयनका लागि तत्काल ठोस कदम चाल्न ढिला भइसकेको छ । राज्य ब्युँझियोस् र युवा पुस्ता जोगियोस् ।
कुलतको भुमरीमा युवा पुस्ता र राज्यको लाचारी-सम्पादकीय
previous post
