रमेश विकल
प्रदेशसभा स्थापनाको २ वर्ष ८ महिना २ दिनमा प्रदेश नं ५ ले मंगलबार आफ्नो नाम र स्थायी राजधानी पाएको छ । प्रदेश सरकारले पेश गरेको प्रदेशको राजधानी दाङमा राख्ने र नाम लुम्बिनी राख्ने प्रस्तावमा मंगलबार मतदान हुँदा दुइतिहाई भन्दा बढी मतले दुबै प्रस्ताव स्वीकृत भएका हुन् ।
मतदानका क्रममा प्रदेश सरकारको प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ नेकपाले आफ्ना प्रदेशसभा सदस्यलाई तथा विपक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेका थिए । नेकपाका सबै सांसदले पार्टीको ह्विप माने तर कांग्रेसका ५ जना सदस्यले पार्टीको ह्विपको अवज्ञा गर्दै प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
यसअघि प्रदेश ५ को सरकारले सोमबार मन्त्री परिषद्बाट राप्ती (देउखुरी) उपत्यकालाई राजधानी तथा प्रदेशको नाम लुम्बिनी बनाउने निर्णय गरेको थियो भने सोमबार प्रदेश सभामा छलफल गर्ने कार्यसूचि थियो । सोमबार सभामा छलफल सुरु हुनासाथ प्रक्रियामा असहमती जनाउँदै प्रमुख विपक्षी कांग्रेसले विरोध ग¥यो । तर स्थायी राजधानी तथा नाम तोक्न सभाको दुइतिहाई मत चाहिने र सो मत आफ्नो पार्टीसंग भएकोले दम्भमा रहेको सत्ताधारी नेकपाले प्रतिपक्षको विरोधका बीच सभाको कारवाही अगाडि बढाइरह्यो ।
सभामुख पूर्णबहादुर घर्तीले प्रदेशको नामाकरण र स्थायी राजधानीबारेको आन्तिरक कार्यविधि छलफलका लागि अगाडि बढाउन आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई समय दिए । मन्त्री केसी रोष्ट्रम घेरेका कांग्रेस सदस्यहरूलाई पन्छाउँदै अगाडि बढे । केहीबेर धकेलाधकेल भयो । उनी मर्यादापालकको सहायतामा भीड पन्छाउँदै रोष्ट्रममा पुगे र छलफल सुरु गरे । सत्ताधारीको दम्भको चुरो कहाँसम्म पुग्यो भने मन्त्री केसीले मर्यादापालकलाई विरोधमा उत्रेका कांग्रेसका सभासदस्यलाई घिसारेर बाहिर निकाल्न निर्देशन दिए । त्यसपछि स्थिती असामान्य बन्यो । कांग्रेसका सभा सदस्यहरु वसीउद्धिन खाँ, बैजनाथ कलबार, अष्टभुजा पाठक लगायत कुर्सी र टेबल भाँच्न र पल्टाउन
थाले । यसरी सोमबार सभामा कांग्रेस सदस्यहरुले जे गरे त्यो आफ्नै पार्टीको मूल्य र सिद्धान्त विपरितको काम भयो । कांग्रेसको केन्द्रीय अनुशासन समितिले तोडफोडमा संलग्न आफ्ना सदस्यलाई कारवाही गर्ने जनाएको त छ तर संसदीय मर्यादा र प्रतिष्ठा विपरित भएका कामले पार्टीलाई भने ठूलो क्षति पुगको छ । के अब कांग्रेसले पनि रेलिङ भाँच्ने, टेलिफोनका बुथ जलाउने, संसदका टेबल कुर्सी भाँच्ने जस्ता कुकृत्य गरेर आफुलाई शसक्त प्रतिपक्ष सावित गर्न खोजेको हो ? आम प्रजातन्त्रमा विशवास राख्ने नागरिकले प्रश्न गर्न थालेका छन् । सत्ताधारी नेकपाको दम्भ त बारम्बार देखिएकै हो तर के अब कांग्रेसले संयम गुमाएको
हो ? राजनीति गर्ने मान्छे त्यसमा ७० वर्ष लामो प्रजातान्त्रीक इतिहास बोकेको दलको नेतालाई यस्ता असंयमी व्यवहार सुहाउने कुरा भएको छैन । कांग्रेसले यसको समिक्षा गरेर आम नागरिकसंग माफि माग्दै आगामी दिनमा यस्ता उरन्ठेउला गतिविधि कुनै पनि नेता, कार्यकर्ताबाट नहुने सुनिश्चित गर्नुपर्दछ ।
असोज १९ को बुटवल काण्ड- दम्भी सत्ता र असंयम विपक्षी हुँदाको दुष्परिणाम
previous post