दमौली/तनहुँ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले ऋषिङ–५ नव निर्मित वडा कार्यालय भवनको मंगलबार उद्घाटन सम्पन्न गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद भण्डारीले सो अवसरमा बोल्दै वडाको विकास निर्माणको काममा आफुले सकेको सहयोग गर्ने
बताए ।
कार्यक्रममा विशिष्ठ अतिथी एवं गाउँ पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले विकास निर्माणका काममा पारदर्शिताको आवश्यकता रहेको औल्याउँदै ऋषिङका नागरिकको विकास आकांक्षा पूरा गर्न आफु दत्तचित्त भएर लागेको बताए । अध्यक्ष श्रेष्ठले वडाको नयाँ भवन बनेसंगै यहाँबाट हुन सेवा प्रवाहमा समेत सुधार आउने अपेक्षा व्यक्त गरे ।
वडाध्यक्ष बुद्धिमान राना मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य नोकबहादुर विक तथा मोहन गिरी, भिमाद नपा ३ का वडाध्यक्ष श्यामकुमार जोशी, गाउँ पालिका उपाध्यक्ष गिनुमायाँ थापा वडा नं ८ का वडाध्यक्ष भरतकृष्ण श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए ।
गाउँ पालिकाका प्रवक्ता विजय दरैले सञ्चालन गरेको कार्यक्रममा अतिथीको स्वागत गाउँ पालिकाका प्रमुख कार्यकारी अधिकृत चिनबहादुर रानाभाटले गरेका थिए ।
उक्त अवसरका निवर्तमान वडाध्यक्ष पदमबहादुर थापालाई दोसल्ला र प्रमाणपत्रले सम्मानित गरिएको थियो ।