दमौली/कुनै समय देशभरका सामुदायिक विद्यालय मध्ये प्रथम भएर चर्चामा आएको सत्यवती मावि यतिबेला प्रधानाध्यापक छनौट गर्न नसकेर फेरि चर्चामा आएको छ ।
नमुना विद्यालय निर्देशिका अनुसार पाँच वर्षे प्रधानाध्यापकको नियुक्ति पाएका नमुना विद्यालय सत्यवती माविका प्रअ इन्द्रप्रसाद पौडेललाई दुई वर्षे कार्यकाल बाँकी छदै राजिनामा नदिए कार्वाही गरेर निकाल्ने धम्कि दिएर विद्यालयको वाषिर्कोत्सवको मुखैमा राजिनामा दिन बाध्य पारिएको टिक्का टिप्पणी त्यति बेलै भएको थियो ।
इन्द्रप्रसाद पौडेलले विद्यालयको प्रधानाध्यापक बाट राजिनामा दिएपछि एक महिना भन्दा बढी समय स्विकृत नगरि हाल माघ ६ गते त्यहि राजिनामालाई कारण देखाई प्रतिष्पर्धी मध्येको एकलाई निमित्त प्रधानाध्यापक बनाइएपछि सत्यवती माविले थप चर्चा पाएको हो ।
विद्यालय विकास प्रस्ताव दर्ता गराएर प्रधानाध्यापक पदको दाबी गर्नेहरुमा विद्यालयका बरिष्ठ शिक्षकद्वय एकबहादुर गुरुङ र पुष्पकला भट्टराई रहेका छन् ।
शिक्षा क्षेत्रका जानकारहरु सत्यवती विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक छनौट समितिले एक महिना भन्दा बढी समय त्यसै खेर फालेको बताउँछन् । विधिसम्मत प्रकृया शुरु भइसकेर निर्णय दिने समय पनि ढिला भइसक्दा निमित्त, त्यो पनि उम्मेद्वारलाई, यो त विधि र प्रक्रिया माथिको राजनीतिक हस्तक्षेप हो भन्छन्-विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पराजित सुर्य चन्द्र लम्साल । शिक्षा ऐन, नियमावली र नगर शिक्षा नियमावली समेतका आधारमा प्रधानाध्यापकले राजिनामा दिएपछि निमित्त दिनुपर्ने सहायक प्रधानाध्यापकलाई हो । प्रधानाध्यापकको दावेदार मध्येको एकलाई निमित्त दिँदा विधि र प्रक्रिया अवरुद्ध हुने आशंका बढेको छ भन्छिन् प्रधानाध्यापकको दावेदार पुष्पकला भट्टराई ।
विद्यालयमा अनावश्यक राजनितिक चलखेल गरेको चौतर्फी आरोप खेपेका नगरप्रमुख बैकुण्ठ न्यौपानेले दुई/चार दिनमा बिधि र प्रक्रिया बमोजिम कै निर्णय आउने भन्दै सबैलाई आश्वस्त पारेका छन् । रुक्मणी पौडेलको संयोजकत्वमा शिक्षक छनौट उपसमिति बनिसकेको चर्चा गर्दै आफु माथि लागेका आरोपलाई काममा अवरोध गर्ने बेकारका कुतर्क बताउँछन् नगरप्रमुख न्यौपाने ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले प्रअको राजिनामा आएपछि स्विकृत गर्नु र निमित्त दिनु पनि प्रकृया नै हो भन्छन् । प्रकृयामा लाने बाटो खुल्यो, विधि र प्रक्रिया बमोजिम नै सत्यवतीले प्रधानाध्यापक पाउँछ भन्नेमा विश्वस्त देखिन्छन् – प्रमुख वाग्ले । प्रथम नगरप्रमुख, शिक्षा प्रेमी, सत्यवती माविका संस्थापक एवं पूर्व अध्यक्ष तारा प्रसाद श्रेष्ठ विद्यालयमा राजनितिक चलखेल बढेको प्रति चिन्ता व्यक्त गर्दछन् । तनहुँको शान सत्यवतीको अस्तित्व गिर्न दिनु हुँदैन भन्नेमा दृढ देखिन्छन् । विधि र प्रक्रिया बमोजिम प्रधानाध्यापकको सबाल टुंग्याउनु पर्छ भन्ने तारा प्रसाद श्रेष्ठ विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरु संवेदनशील बनुन् भन्ने आव्हान गर्छन् ।
व्यास नगर शिक्षा शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मी भने सत्यवतीको निर्णय प्रक्रिया प्रति असन्तुष्ट रहेको बुझ्न सकिन्थ्यो । प्रधानाध्यापक छनौट उपसमितिको माघ ६ गतेको बैठकलाई अबरुद्ध पारेर आएको विद्यालय व्यवस्थापन समितिको निर्णय भन्ने भाव रेग्मीको बोलिमा पाइन्थ्यो । उता व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेको भाव र नगरप्रमुख, जिल्ला समन्वय समितिका प्रमुखबाट व्यक्त भावमा पाइएको एक रुपताले सत्यवती विद्यालय व्यवस्थापन समितिको निर्णयमा राजनीतिक छाँया झल्किएको छ ।