23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

कांग्रेसमा कृष्णको खोजी

रमेश पोखरेल

श्रीमद्भगवद्गीतामा श्रीकृष्णले आफुले अवतार ग्रहण गर्नाको कारणबारे कर्मयोगको ७ औं श्लोकमा अर्जुनसंग भनेका छन्,
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।

यसको अर्थ हो, जहिले जहिले धर्मको हानी र अधर्मको वृद्धि हुन्छ, त्यस बखत निश्चय नै म आफ्नो स्वरुपलाई प्रकट गर्दछु अर्थात अवतार ग्रहण
गर्दछु ।
उनी ८ औं श्लोकमा अझ अगाडि भन्छन्,
परित्राणाय साधूनाँ विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।

साधु सज्जन पुरुषहरुको रक्षा गर्नका लागि जन्म धारण गर्दछु । पाप कर्म गर्ने दुष्टहरुको संहार गर्नका लागि र राम्ररी धर्मको स्थापना गर्नका लागि म युग युगमा प्रकट हुन्छु । यो श्लोकमा श्रीकृष्णले आफुले अवतार ग्रहण गर्नुका तिन कारण उल्लेख गरेका छन् । पहिलो हो साधु, सज्जन मानवको रक्षा, दास्रो दुष्टहरुको दमन र तेस्रो धर्मको संस्थापना ।
मैले यो आलेखमा कुनै धर्म विशेषको रक्षाको कुरा गर्न खोजेको होइन् र माथि भनेझै कुनै दुष्ट भनिएका मानिसको दमनको अनि कुनै साधु सन्त भनिएका मानिसको रक्षाको कुरा गरेको होइन बरु नेपाली कांग्रेसको सदस्य हुनुका नाताले कुनै व्यक्तिले निर्वाह गर्नुपर्ने भूमिका न्यायोचित, सवल र प्रभावकारी बनाउने कुरा गर्न खोजको हुँ । जसलाई उसले निर्वाह गर्ने धर्म भन्न सकिन्छ । पार्टी निर्माणमा दशकौं समय खर्चेका मात्र होइन आफ्नो उर्जाशिल समय खर्चेका जेलनेल भोगेका इमान्दार नेता कार्यकतालाई पाखा लगाउँदै मनि र मशलको आडमा पार्टी कब्जा गर्ने , लाभको पदहरुमा पुग्ने र सात पुस्तालाई पुग्नेगरी कमाउने प्रवृत्तिको अन्त्य आम नागरिकको पक्षमा, पार्टीले निर्वाचनका बेला तयार पारेको घोषणा पत्रमा गर्ने भनेर बाचा गरको काम गर्ने पक्षमा काम नगर्ने बरु आफु,आफ्नो परिवार र नाता गोताका लागि मात्र काम गर्ने प्रवृत्तिको अन्त्यको कुरा मैले उठाउन खोजेको हुँ । यहाँ कुनै व्यक्ति विशेषको कुरा होइन बरु “म खाउँ मै लाउँ सुख सयल वा मोज मगरुँ, म नाचुँ मै हाँसुँ अरु सब मरुन् दुर्वलहरु” भन्ने प्रवृत्तिको दमन र अन्त्यको कुरा गर्न खाजेको हुँ ।
विहान नेपाली कांग्रेसको झण्डा बोकेर पार्टीको कार्यक्रममा जान लागेको भन्दै घरबाट निस्कन लागेको छोरा वा छोरीलाई हतार हतार खाना बनाएर खुवाउने आमाले सपना संगालेकी हुन्छिन्, कि आफ्नो सन्तानले बीपीको सपना पूरा गर्ने काम गरिरहेको छ । अर्थात हरेक नपालीको घरबाट गरिबी र अभाव हटाउने, राज्यमा सुशासन स्थापना गर्ने, धनी र गरिबबीचको विभेद कम गर्ने, योजना बनाउँदा गाउँको गरिब किसानलाई सम्झेर योजना बनाउने र त्यसको सफल कार्यान्वयनमा लागि पर्ने काममा मेरो छोरा या छोरी लागि परेका छन् भन्ने विश्वासका साथ आमाले हतार हतार खाना बनाएकी हुन्छिन् । ति आमाको सपना हुन्छ, कांग्रेस कार्यकर्ता रहेको आफ्नो सन्तानको काम देशलाई समृद्धिको मार्गमा लैजाने खालको होस् । अरुका मुखबाट सुन्न पाइयोस, उसले आफ्नो होइन समग्र समाज र देशको हितका लागि समय व्यतित गरको छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक स्वार्थका लागि काम गरेको छ । गरिबको चुल्होमा आगो बल्ने वातावरण बनाउनमा उ दत्तचित्त भएर लागेको छ । अनि गर्वसाथ भन्न पाइयोस्, हो म उसैकी आमा हुँ । मैले नै उसलाई जन्म दिएकी हुँ ।
तर पछिल्लो समय राजनीतिमा लागेको भनिएका अधिकांश नेता कार्यकर्ताको भूमिका के माथि वर्णन गरिए जस्तो वा ति आमाले कल्पना गरेजस्तो छ ? आम नागरिकले गर्ने गरको प्रश्न हो यो । राजनीति अब समाजसेवा रहेन । यो त विना लगानीको व्यवसाय भएको छ, जसले थोरै समयमा नै गाडी , बंगला र सुविधा सम्पन्न जीवन दिन्छ । र यही कल्पना साथ सबै त नभनौं अधिकांश युवा उमेर समूहका मानिसहरु राजनीतिमा लाग्ने गरेको पाइएको छ । पार्टीका नेता होस् या कार्यकर्ता उसको ध्यान अब आम मानिसको समग्र पक्षको विकासमा रहेन । रह्यो त केवल आफ्नो परिवार, भाइ भतिजा, आसेपासे आदिको उन्नति । जसरी हुन्छ पैसा कमाउनु, पदमा पुग्नु र फेरी पैसा कमाउनु उसको ध्येय हुन थालेको छ ।
कांगेस पार्टीको केन्द्रीय सदस्यको उम्मेदबार हुन क्रियाशील सदस्य भएको १० वर्ष हुनुपर्छ । तर कांगेसका पैसा भए त्यो सब नचाहिने अवस्था आएको छ । पैसा भए केन्द्रीय सदस्य देखि मन्त्रीसम्म हुने सुविधा प्राप्त भएको छ । नभए चार वर्ष अगाडि मात्रै क्रियाशील सदस्यता लिएका उमेश श्रेष्ठ मन्त्री हुने थिएनन् अनि भर्खरै मात्र क्रियाशील सदस्यता लिएका विनोद चौधरी कांगेस केन्द्रीय सदस्य हुने थिएनन् । बीपी कोइरालाको तस्वीर देखाउँदै यो कुन बुढो हो भन्नेहरु कांग्रेसको महाधिवेशन प्रतिनिधि भएका दृष्टान्त त पुरानो भैसक्यो ।
राजनीतिलाई समाजसेवा ठान्ने, इमान्दार र मध्यम वर्गियहरुका लागि कांग्रेसका अब खासै सम्मानित स्थान छैन । त्यो स्थान अब नवधनाढ्य र पाखुरीमा बल हुनेहरुका लागि सुरक्षित भएको छ । सामूहिक हितभन्दा व्यक्तिगत लाभ महत्वपूर्ण लाग्न थालेको धेरै भैसक्यो कांग्रेस नेता कार्यकर्तालाई । बीपीका सपनासंग शायद अधिकांश कांग्रेसजनलाई कुनै सरोकार छैन । बीपी त केवल पद प्राप्तीका लागि भ¥याङ हुन् । लेखक नयनराज पाण्डेका भाषामा तासका जोकर हुन् बीपी, जसले खेलाडीलाई खेल जित्न सघाउन मात्र सक्छन्, अन्य उपादेयता भने छैन ।
त्यसैले कांग्रेसलाई बचाई राख्ने हो । नेपाली जनमनको पार्टि बनाई राख्ने हो भने अब कांग्रेसमा कृष्णको आवश्यकता छ । अहिलेका कांग्रेसजनमा कांग्रेस हुनको धर्म नासिँदै गएको छ । कांग्रेस हुनुको त्यो धर्म बचाउन, कांग्रेसका लागि जीवन अर्पण गरेका, इमान्दार र राजनीतिलाई समाज सेवा ठान्ने औलामा गन्न मिल्ने कांग्रेसजनको हौसला कायम राख्दै कांग्रेसलाई बीपी, सुवर्णशमसेर, गणेशमान, महेन्द्रनाराण तथा कृष्णप्रसादले कल्पना गरेजस्तो कांग्रेस बनाई राख्ने अनि हजारौं शहीदहरुको सपना पूरा गर्न कृष्णको आवश्यकता छ, कांग्रेसमा । कांग्रेसको नाम लिएर आफ्नो स्वार्थ पूरा गर्ने अनि कांग्रेसलाई बदनाम गर्नेहरुबाट बचाउन कृष्णको आवश्यकता छ कांग्रेसमा । कोही तयार होला त , श्रीकृष्ण बनेर कांग्रेसको धर्म रक्षा गर्न ? प्रतिक्षा गरौं ।

Related posts

आफ्ना विरुद्ध आफै लाग्न छाडौं वातावरण जोगाऔं

admin

स्तनपानः राम्रो हुन्छ दुबैको ज्यान

admin

मर्यादित महिनावारी

admin