ऋषिङ्ग/कोरोनाको दोस्रो लहरले नेपाल र सिङ्गो विश्व आक्रान्त भइरहेका बेला ऋषिङका युवा यसको नियन्त्रण र रोकथाममा के कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ भनेर सरसल्लाहमा जुटेका छन् ।
कोरोना संक्रमण बढ्दै जाँदा मोहन गिरी, इन्द्रबहादुर आले, तिलबहादुर थापा लगाएतका युवाहरु ऋषिङलाई सके संक्रमण मुक्त बनाउने नसके क्षति कम हुने अवस्थामा पु¥याउन सकिन्छ भनेर सल्लाहमा जुटेका हुन् । विदेश वा जिल्ला बाहिरबाट आउनेलाई १५ दिन क्वारेन्टिनमा राख्ने, स्वास्थ्य सतर्कता समिति निर्माण गरेर सचेतना अभियान सञ्चालन गर्ने, पिसिआर परिक्षणलाई व्यापक गराउन स्थानीय सरकारलाई अनुरोध गर्ने तथा कोभिड नियन्त्रण र रोकथाममा अग्रपङ्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी लगाएतलाई भत्ता सुविधाका लागि पहल गर्ने सहितका विषयमा सम्बन्धित पक्षहरुसंग उनीहरुले छलफल चलाए ।
आइतबार सम्पन्न भर्चुअल बैठकमा उपस्थित गाउँ पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले युवाहरुले उठाएका विषयमा आफु सचेत र जानकार रहेको बताउँदै भीरकोट स्वास्थ्य केन्द्रमा भएको पाँच वेड क्षमता विस्तार गरी १५ बेड बनाउने तथा रानी पोखरी स्वास्थ्य केन्द्रमा थप ५ बेड राखेर कोरोना संक्रमितको उपचार सहज बनाउने बताए । आवश्यक परेको बेला आफुहरुले प्रयोग गरको गाडी विरामी ओसारपसारमा काम लगाउने समेत उनले जानकारी दिए ।
नेका तनहुँका सदस्य समेत रहेका मोहन गिरीले गत वर्ष कोभिडका बेला खाद्यान्नको अभाव भएको तथा मूल्य वृद्धि भएको कुराबाट पाठ सिकेर कृतिम अभाव हुन नदिन तथा अनावश्यक मूल्य वृद्धि हुन नदिन आवश्यक निगरानी राख्न पालिकालाई अनुरोध गरिएको बताए ।
गापा भित्रै रहेको तनहुँ हाइड्रोको काम भइरहेको र उक्त हाइड्रोका कामदारको दैनिक आवतजावतको कारण संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गरी उक्त हाइड्रोसँग समन्वय गरी सम्भावित संक्रमण रोक्न आवश्यक पहल गर्ने समेत निर्णय बैठकले गरको गिरीले बताए ।
नेरोसो कोटदरबार उपशाखाका सभापति समेत रहेका अभियन्ता इन्द्रबहादुर आले गत वर्ष जस्तै यस वर्ष पनि आफ्नो एम्बुलेन्स संक्रमितको उपचारमा निःशुल्क प्रदान गर्ने बताए । नागरिकको योगदानमा कोभिड राहत कोष स्थापना गर्ने भनिएपनि आवश्यक सबै स्वास्थ्य सुरक्षाका काम गाउँ पालिकाले गर्ने वचनबद्धता पछि त्यसलाई कार्यान्वयनमा नलगिएको आलेले बताए ।
पूर्वमन्त्री शिवलाल थापा, सभासद झुलबहादुर आले र गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्य कल्पना लम्साल, प्र. म. कार्यालयका शाखा अधिकृत सुरथ पोख्रेल, डा. विक्रम थापामगर तथा नेकपा एमाले जिल्ला नेता हरिराज कंडेल लगायतका व्यक्तित्वहरूको सहभागितामा सम्पन्न उक्त बैठकमा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कोभिडबाट जनतालाई सुरक्षित राख्न हरसम्भव सबै उपाय अवलम्वन गरिने बताएका थिए ।
कोरोना नियन्त्रणमा नागरिक पहल
previous post