30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

नेकपा भित्रको अन्तर कथा- चिसै पानीले नुहाउँदै दाहाल–नेपाल

रमेश विकल

नेपाली समाजमा हाँसी मजाकको रुपमा पति–पत्नी बीचको एउटा संवाद चल्तीमा छ । आफ्नो माग वा अडानमा टिक्न नसक्ने मानिसका बारेमा यो संवादको अंश सुनाउने गरिन्छ । संवाद यस्तो छ । जोडोको महिनामा पतिलाई नुहाउन मन लाग्छ तर चिसो पानी सम्झँदैमा उ कायल भएर आउँछ र पत्नीलाई नुहाउनका लागि पानी तताइदिन निर्देशनात्मक आगह्र गर्दै भन्छ– ‘मलाई नुहाउनु छ । पानी तताउने भए तताउ, नभए..।’ लोग्नेको दैनिक अनेकथरी खटनपटनबाट दिक्क पत्नी आज वारपार गरौंला भने झैं गरेर भन्छे– ‘तताइन भने के गर्छाै ?’ जवाफमा पति भन्छ– ‘चिसै पानीले नुहाउँछु ।’
वस्तुनिष्ठ भएर विचार विवेचना गर्नु र मत जाहेर गर्नु साटो भारतको विरोधमा राष्ट्रप्रेम देख्ने वा भारतको विरोध भनेको नेपाली राष्ट्रवाद हो भन्ने मनोविज्ञान बोकेका हामी नपालीका कारण लोकप्रियताको शिखरमा पुगेको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रियता तिब्र गतिमा घट्दैछ । भारती गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस विङका प्रमुख सामन्तकुमार गोयलसंगको भेट र दशैं शुभ कामनामा प्रयोग भएको लोगोमा नेपालको चुच्चो नक्सा गायव भएसंगै ओली लोकप्रियताो तिब्र स्खलनमा छ भने पार्टी भित्रको विवाद भने यतिबेला निकै चर्काे रुपमा प्रकट भएको छ । ओली लोकप्रियता स्खलनका अनेक कारणहरु छन् । यसको कारणहरुको सपाट विवरण उल्लेख गर्ने हो भने एउटा ठूलै पुस्तक तयार हुनसक्छ । पछिल्ला कारणहरु भने माथि भनिएका दुई कारणहरु गायलसंगको गोप्य भेट तथा नक्साको चुच्चो भाग गायब हुनु नै हो ।
आम नेपालीले ओलीलाई राष्ट्रवादीको रुपमा परिभाषित गर्न थालको २०७२ को भारतीय नाकाबन्दीका बेलाबाट हो । नेपालीले आफु अनुकुल र भारतको इच्छा विपरित संविधान बनाएको भन्दै तत्कालिन कांग्रेस सभापति शुशिल कोइराला प्रधानमन्त्री कालमा भारतले नेपाल विरुद्ध नाकाबन्दी लगाएको थियो । त्यस लगतै ओली प्रधानमन्त्री नियुक्त भए । आम नेपालीका मत थियो, हामी बरु अनेक हण्डर र ठक्कर खान तयार छौं तर हाम्रो राजनैतिक नेतृत्व भारत सामु नझुकोस् । नेपाली नागरिकको त्यही भारत विरोधी मनोविज्ञानको फाइदा लिने उद्देश्यले ओलीले नाकबन्दीको विरुद्दमा डटेर बोले । तर अब भने ओली कति राष्ट्रवादी हुन भन्ने कुरा सायद छर्लङ्ग भएको छ । किनभने लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्मिलित नक्सा निकाल्न ओलीले गरको आनाकानी, भारतका विरुद्ध एउटा समान्य कार्यकर्ताले झै जेठ ८ मा दिएको सत्यमेव जयते कि सिंहमेव जयते अनि असार १४ को भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन लाग्यो भन्ने जस्ता उरन्ठेउला अभिव्यक्ति, असोज ६ को नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले तयार पारेको लिपुलेक, लिम्पियाधुरा तथा कालापानीको भूमाग समेटिएको नेपालको भूमाग र सिमा सम्बन्धी स्वाध्यायन समाग्रि वितरणमा रोक लगाउने निर्णय, कार्तिक ५ को भारतीय गुप्तचर संस्थाका प्रमुखसंगको गोप्य भेटले उनको राष्ट्रवाद कस्तो भन्ने उदाङ्गो भएकोछ । शायद अब कुनै नेपालीमा ओली राष्ट्रवादको भ्रम बाँकी छैन र पार्टीको नेतृत्व पङ्तिका अन्य नेताहरु ओलीका यस्ता व्यवहारले दिक्क छन् ।
भ्रष्टाचार र अनियमिततामा संलग्नको प्रतिरक्षाका प्रधानमन्त्री ओली जसरी न्यायाधीस जस्तो गरेर प्रस्तुत हुन्छन् र निर्दाेश रहको जिकिर गर्छन्, त्यसले उनको साख राम्रैसंग गिराएको छ । बुटवलका सुकुुम्बासी बस्तीका बासिन्दा रहेको नेकपाका महासचिव विष्णु पौडेलले कसरी बालुवाटारमा जग्गा किन्ने हैसिएत बनाए भन्ने आम नागरिकको जिज्ञासामा ओलीले पौडेलले भ्रष्टाचार नगरेकोबरु अन्यायमा परको जवाफ दिए । आफ्ना प्रियपात्र गोकुल बास्कोटाको ७० कारोड काण्डमा पनि ओलीले बास्कोटाको जमेर प्रतिरक्षा गरे । निर्मला पन्तको बालात्कार पछि भएको हत्यामा संलग्नताको आशंका गरिएका बम दिदी बहिनीको प्रतिरक्षामा पनि ओली त्यसरी नै लागि परे । ३३ केजी सुनकाण्ड, वाइडबडी काण्ड, यती काण्ड तथा ओम्नी काण्डमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउनुको सट्टा ओलीका अरिंगालसंगै ओली स्वयम् तिनैको प्रतिरक्षामा उत्रे ।
प्रदेश २ मा नेकपाको स्थानीय नेता मुकेश चौरसिया पार्टी कार्यक्रमका समयमा भएको विवादमा मारिए । पिडित पक्षले किटानी जाहेरी लिएर प्रहरी समक्ष पुग्यो तर प्रहरी जाहेरी लिन तयार भएन । पिडित पक्षले गृहमन्त्री बादलको सहायता माग्यो । गृहमन्त्रीले पनि स्थानीय प्रहरी प्रमुखलाई जाहेरी लिन आदेश दिए तर प्रहरीले उनको आदेश मानेन र अन्ततः सरकारी वकिलको कार्यालय मार्फत जोहेरी दर्ता गर्न मुकेश पक्ष बाध्य भयो । प्रहरीले जाहेरी नलिनुमा प्रधानमन्त्री ओलीको प्रत्यक्ष हस्तक्षेप कारक रहेको बुझाइए पिडित पक्षको रहेको छ । आम मानिसमा राज्यसत्ता नै हत्यारा, बलात्कारी तथा भ्रष्टाचारीको संरक्षक भएको अनुभूति हुँदै गएको छ । यसै समयको सेरोफेरो मा नेकपाबाटै निर्वाचित सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वास प्रस्ताव दर्ता भयो, नेकपाकै सांसदहरुबाट । कोरोनाको महामारी विश्वव्यापि छ । विश्वका अधिकांश देशहरु आफ्ना नागरिको निःशुल्क उपचार गरिरहेका छन् । तर गरिब निमुखाको पक्षधर भनिएको ओली सरकार भने आफ्नो दायित्व विर्सेर नागरिकलाई पैसा भए उपचार गर नभए मर भन्दैछ । आफुसंग फरक विचार राख्ने आफ्नै पार्टीका वा विपक्षी दलका नेताको मान मर्दन गर्न प्रधानमन्त्रीको सचिवालका सदस्य र उनका आसोपासेहरु मरिमेटेर लागि परेको छन् रत्यसो गरे वापत पुरस्कृत रेल विभागका प्रमुखको रुपमा वा अन्य कुनै रुपमा पुरस्कृत समेत भएका छन् । प्रधानमन्त्री ओलीका यि सबै काम कारवाहीले उनको र सिङ्गो पार्टीको लोकप्रियताको ग्राफ ओरालो लागेको छ । उनलाई यस्ता काम गर्नबाट लगाम लगाउने सोही दलका अन्य नेताहरुले हो । तर उनीहरुको हालत चिसै पानीले नुहाउने पतिको जस्तै छ । सच्चिन ओलीलाई आग्रह त गर्न सक्छन् तर निर्णायक कदम चाल्न सक्दैनन् । कडा कदम चाल्दा भइरहेका आफ्ना मन्त्रीहरुको पद जाने वा भागवण्डामा आफ्ना पक्षधरलाई लाभको पद दिलाउन नसकिने डरका कारण त्यस्तो हुन सकिरहेको छैन भने अन्य नेताको यही कमजोरीको फाइदा उठाउँदै ओली भने स्वेच्छाचारी बन्दै गएका छन् ।

Related posts

व्यानपामा पर्यटन प्रवद्र्धन समिति गठन सम्पन्न

admin

काँग्रेस नेता पौडेल र महत अभिव्यक्तिले सिर्जित तरंग

admin

कति शान्त दिपावली !

admin