भानु/नगरपालिकामा देखिएको कोरोना संक्रमण झ्याङ्दै गएको छ । भानु १ भन्सार क्षेत्रका थप ६ जनामा कोभिड पोजिटिभ देखिएको पुष्टि भएपछि तनहुँका पालिकाहरुमा सबैभन्दा बढी भानु नगरपालिकामा संक्रमित रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
झण्डै डेढ साता अघि स्थानीय एक र सोही क्षेत्रमा क्रियाशिल बन्दीपुरका दुई निर्माण व्यवसायीमा संक्रमण देखिएको थियो । त्यसपछि उनीहरुको सम्पर्कका आधारमा सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा थप २० जनामा साउन २६ गते संक्रमण देखिएको थियो । त्यसपछि पनि भानु १ तथा आसपासका क्षेत्रमा संक्रमित थपिइरहेका छन् ।
स्वास्थ्य कार्यालय तनहुँका अनुसार हालसम्म नगर क्षेत्रमा ४२ जनामा संक्रमण भेटिइसकेको छ । तीमध्ये आठ जना निको भएर घर गैसकेका छन् । बाँकी भने जीपी कोईराला राष्टिूय स्वासप्रस्वास केन्द्रको आइसोलेसनमा छन् । समुदायका व्यक्तिमा नयाँ संक्रमण देखिइरहँदा यसले नगर क्षेत्रमा जोखिम बढाइरहेको छ । स्वास्थ्य अधिकारीहरु संक्रमितको सम्पर्क पहिचान गरेर परीक्षण गर्दा नयाँ संक्रमित भेटिने क्रम चलिरहेको बताउँछन् । ‘जति पनि नयाँ संक्रमित पुराना संक्रमितको सम्पर्कका व्यक्ति नै भेटिएका छन्,’ नगरपालिकाका स्वास्थ्य प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले भने,‘नयाँ संक्रमित भेटिनासाथ थप स्वाब संकलन गरिरहेका
छौं ।’
भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नगरमा समुदाय संक्रमणबाट जोखिम बढेकाले नै प्रशासनलाई निषेधाज्ञाका लागि सिफारिस गरिएको भन्दै यसबीचमा संक्रमितको सम्पर्कमा आएका व्यक्ति र सम्भावित जोखिममा भएकाको परीक्षण भैरहेको बताए । ‘बाक्लो घना बस्तीमा संक्रमण देखिएकाले धेरै फैलन नपाओस् भन्ने हाम्रो चाहना हो,’ उनले भने,‘संक्रमण फैलन नदिनका लागि परीक्षण र संक्रमितलाई आइसोलेसन पठाउने काम निरन्तर चलिरहेको छ ।’ प्रमुख गौलीका अनुसार अबको केही समय नगरपालिकाको पुरै ध्यान समुदायका व्यक्तिको परीक्षणमा नै केन्द्रीत हुनेछ । ‘यस्तो समयमा कार्यालय खोलेर काम गर्ने अवस्था भएन,’ उनले भने,‘आवतजावत बन्द गरेर परीक्षणको काम भैरहेको छ ।’ जोखिम बढ्दा स्थानीयले जटिलता बढेकाले सकेसम्म बाहिर ननिस्कन र जोखिम कम गर्नका लागिसघाउन आग्रह गरेका छन् । ‘हामी आफू पनि सचेत हुनु पर्ने बेला भएको छ,’ चुँदीका स्थानीय सन्देश आचार्यले भने,‘हामी सचेत नहुने हो भने जताततै फैलिएको संक्रमण रोक्न सकिन्न ।’
टाठाबाठा नै अफवाह फैलाउँदै
भानु नगर क्षेत्रमा संक्रमित थपिन थालेसँगै अफवाह फैलने क्रम पनि बढेको छ । सामाजिक सञ्जाल देखि स्थानीयस्तरमा पनि संक्रमण नभएकालाई समेत संक्रमण भएको भन्दै अफवाह फैलाउने काम पनि भैरहेको छ । नगर प्रमुख नै यसको सिकार पनि भए । तनहुँ क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य रामबहादुर गुरुङको लेटरप्याडबाट स्वकिय सचिव बुद्धिप्रसाद गुरुङबाट जारी विज्ञप्तिमा नगर प्रमुख गौलीसमेत २३ जनालाई समेत संक्रमण भएको सूचना स्वास्थ्य शाखाबाट आएको भन्दै नआत्तिकन घरमै बस्न आग्रह गरिएको थियो । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले यस्तो तथ्य आफूहरुले नदिएको भन्दै कताबाट आयो थाहा नभएको बताए । नगरपालिकाका स्वास्थ्य प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले पनि नगर प्रमुख र त्यति ठूलो संख्यामा संक्रमित भएको थाहा नभएको बताए । आलोचना भए पछि सामाजिक सञ्जालमा पोष्ट गरिएको विज्ञप्ति पछि हटाइएको छ । नगर प्रमुख गौली भन्छन्,‘यसरी जानेबुझेकाले नै अफवाह फैलाउँदा झन् त्रास बढ्ने देखियो ।’
भानुको समुदायमा झ्यांगिंदै कोरोना
previous post