दमौली/व्यास नगरपालिकाको ३१ औं नगर सभाले आव २०७६÷०७७ को नीति तथा कार्यक्रम पारित गरेको छ । बुधाबार नगर सभाहलमा सम्पन्न नगर सभाले “ विविधतायुक्त गाउँशहर– समृद्ध मेरो व्यास नगर ” भन्ने नारालाई चरितार्थ गर्ने गरी ल्याएको विभिन्न नीति तथा कार्यक्रमहरु पारित गरेको हो ।
सभाले विभिन्न तीन ऐनमा संशोधन समेत गरेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । न्यौपानेका अनुसार शिक्षा , सहकारी र न्यायिक कार्यविभि ऐनमा संशोधन गरिएको हो । नगरपालिकाले कार्यक्रम निर्माण र बजेट विनियोजन गर्दा कृषि, पर्यटन र शिक्षालाई मुख्य प्राथमिकतामा राखेर बनाएको छ । जसमा कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकरण, व्यवस्थापकियकरण र सिंचाइको सुनिश्चितता गरी उत्पादन बृद्धिगरी फलफूल , तरकारी, माछामासु र खाध्यान्नमा आत्मनिर्भर हुनेगरी कार्यक्रमहरु तय गरिएको छ । नगरपालिकले सम्पादन गर्ने विभिन्न क्रियाकलापलाई सुव्यवस्थित , पारदर्शी, मितव्ययी एवं गुणस्तरयुक्त बनाउन नगर कार्यपालिकाका सदस्यहरु संयोजक र नगर सभाका सदस्यहरु सदस्य रहने गरी ३१ वटा समितिहरु निर्माण गरेको छ । जसमा पूर्वाधार विकास समिति, आर्थिक विकास समिति रहेका छन् । पर्यटन क्षेत्रको विकासको लागि धार्मीक , सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक स्थलहरुको पहिचान गरी पर्यटन क्षेत्रको विकासमा विभिन्न कार्यक्रम गर्ने नीति नगरपालिकाले लिएको छ ।
नगरपालिकाका प्रत्येक वडामा एक एकवटा नमूना विद्यालय छनौट गरी कार्यक्रम सञ्चालन गर्ने, आदिकवि क्याम्पसलाई मानक विश्वविद्यालय सञ्चालन गर्ने, बालमैत्री नगरपालिका घोषणा गर्ने, विषयगत शिक्षकको समयानुकुल प्रशिक्षणको व्यवस्था मिलाउने जस्ता शिक्षा क्षेत्रसंग सम्वन्धित कार्यक्रम पनि रहेको छ । विभिन्न खेलकुदका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
स्वास्थ्य क्षेत्रको विकासका लागि एक वडा एक आधारभूत स्वास्थ्य केन्द्र र आवश्यकता अनुसार नगर स्वस्थ्य संस्थाहरु सञ्चालन गर्ने, कडा रोगका बिरामीहरुलाई सहयोग प्रदान गर्ने, मृगौला रोगीहरुको डायलसिस सेवालाई विस्तार गर्ने, एम्बुलेन्स सेवा उपलब्ध गराउने जस्ता कार्यक्रम तय गरी बजेट विनियोजन गरिएको नगरसभा समापन पछि आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख न्यौपानेले बतए । नगर पालिकाका विभिन्न महत्वपूर्ण मार्गहरु, खानेपानी आयोजनाहरु, खेल मैदानहरु, विभिन्न पार्कहरु, निर्माणहुन बाँकी वडा कार्यालय भवनहरु निर्माण सम्पन्न गर्ने, आगामि ३ वर्षमा सबै वडा कार्यालयमा कालोपत्रे मार्ग लैजाने कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । यसका साथै नपाले उद्योग, व्यवस्थित बसोबास र भूमि व्यवस्थापन, बन तथा वातावरण , युवा तथा खेलकुद, सञ्चार, न्याय तथा मध्यस्तकर्ता, अपांगता, जनजाति, सुशासन एवं दक्ष जनशक्ति सम्बन्धि विविध कार्यक्रम सञ्चाल गर्ने गरी बजेट विनियोजन गरिएको प्रमुख नयौपानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।