दमौली/गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले वेद ज्ञानको भण्डार भएको बताएका छन् । प्रदेश प्रमुख कुँवरले उक्त कुरा दमौलीमा मंगलबार आयोजित विद्वत गोष्ठी उद्घाटन मन्तब्यका क्रममा बताएका हुन् ।
सनातन संस्कृति समाज नेपालको आयोजनामा भोला थापाद्वारा लिखित उक्त पुस्तकको विवेचन तथा वेदको महत्व विषयमा विद्वत गोष्ठीमा बोल्दै कुँवरले वेद ज्ञानको भण्डार भएकाले यसको संरक्षण आवश्यक भएको बताए । युवा पुस्तालाई आफ्नो संस्कृति संरक्षणमा लाग्न पनि उनको आग्रह थियो । विश्व हिन्दु महासंघका सदस्य डा. रामचन्द्र अधिकारीले अहिले सनातन धर्मै खतरामा रहेको चर्चा गर्दै धर्म परिवर्तनले यस्तो खतरा अझै बढाएको बताए । धर्मान्तरणले राष्ट्रियता समेत खतरामा परेको अधिकारीको कथन थियो ।
सनातन संस्कृति समाजका केन्द्रीय महासचिव पुष्पराज पराजुलीले चार वेद अठार पुराणका रचयिता तनहुँको व्यास भूमिमा वैदिक विश्वविद्यालय स्थापना गर्न आव्हान गरेका छन् । विद्वान नारायण अधिकारी, विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य तुलसीशरण सिग्देल लगाएतले मन्तव्य राखेका थिए । विद्वत गोष्ठीमा बौद्ध धर्म गुरु, किराँत धर्मगुरु, हिन्दु धर्म गुरुहरु सहित क्रिश्चियनहरुबाट हेपिएका, च्यापिएका धर्मावलम्बीहरुको सक्रिय सहभागिता रहेको थियो ।
सनातन संस्कृति समाज नेपाल तनहुँ शाखाका अध्यक्ष तुलसीराम पौडेलको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन सरोज भण्डारीले गरेका थिए ।तनहुँ उद्योग बाणिज्य संघ सभाहलमा आयोजित सो कार्यक्रममा आमन्त्रण गरिएका क्षत्री समाजले आफूहरुलाई आमन्त्रण गरेर सम्वोधन नगरी अपमानित गरेकोमा अध्यक्ष रामबहादुर अधिकारीले दुःख व्यक्त गरेका छन् । सो सम्बन्धमा कार्यक्रमको सभापतित्व गर्ने तुलसीराम पौडेलसंग सम्पर्क गर्दा उहाँले सबै वर्ग र समुदायलाई समेट्न आमन्त्रण गरेका थियौंं । सम्बोधन पनि गरिएको थियो । तथापि कार्यक्रम सञ्चालनका क्रममा भएको कमिकमजोरीलाई मानवीय भूल सम्झि दिन आग्रह गर्नुभयो । कार्यक्रम सञ्चालनका क्रममा भूलवस क्षत्री समाजको चित्त दुखाईएकोमा सनातन संस्कृति समाजलाई दुःख लागेको पौडेलले बताउनु भयो ।