दमौली/नेपाली काँग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन काँग्रेस तनहुँले बुधबार आयोजना गरेको १३०औं अन्तराष्ट्रिय श्रमिक दिवसलाई दुरुपयोग गर्दै कथित नेतृत्वले सडकमा लफडा सभामा झगडा मच्चाएको छ ।
मे १ तारीख अन्तराष्ट्रिय श्रमिक दिवस मनाउन श्रमिकहरुलाई बोलाएर श्रमिकको हक हित र पेशागत संरक्षणको प्रत्याभूति दिनुपर्ने नेतृत्वले युवा जोश भएका कार्यकर्ताको आफ्नै खुट्टामा बन्चरो हान्न दुरुपयोग गरेर लफडा गर्न उत्प्रेरित गरेको छ भने एउटै सभामा दन्तबझान गरेर स्वाभिमानी कार्यकर्ताहरुलाई निराश तुल्याएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस तनहुँले आयोजना गरेको कार्यक्रममा नेताहरु बीचको दन्तबझान सुनेका नेपाली काँग्रेसका कार्यकर्ताहरु चिन्तित देखिएका थिए । आन्तरिक झगडाले संघ र प्रदेशको सबै निर्वाचन हार्न परेको बुझेका कार्यकर्ता चिन्तित देखिएका थिए भने सबैलाई पाखा लगाउन सके जितेको अनुभूति गर्ने नगरप्रमुख बैकुण्ठ न्यौपाने आफूसंग फरकमत राख्नेहरुको सदस्यता नविकरण नगर्ने र नयाँ सदस्यता पनि नदिने दम्भ देखाई भाषण गरेका थिए । सोही कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य शंकर भण्डारीले नेपाली काँग्रेस भित्र विकसित समस्याको दोष नेतृत्वले लिएर समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए । केन्द्रिय सदस्य भण्डारीले कार्यकर्ताको मन छुने भाषण गरेपछि निराश कार्यकर्तामा उत्साहको संचार भएको चिन्तित कार्यकर्ताहरु बताउँछन् । अन्तराष्ट्रिय श्रमिक दिवसलाई राजनीतिक दल अनुसारको संगठनले आफ्नो शैलीमा मनाएका थिए ।