दमौली/व्यास नपा २ दमौली स्थित व्यास वचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिकोत्सवको अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २८ जनाले रक्तदान गरेको सहकारीले जनाएको छ ।
सहकारी संस्थाको वार्षिकोत्सवको अवसरमा मंगलबार संस्थाको कार्यालय परिसरमा आयोजना गरिएको सो कार्यक्रममा सहकारीका पदाधिकारी, शेयर सदस्य तथा सर्वसाधरणहरुले रक्तदान गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सहकारी संस्थाहरुले नाफा कमाउने मात्र नभई सामाजिक काममा पनि सक्रियता जनाउनुपर्ने बताए । रक्तदान, फलफूल वितरण तथा बजार सरसफाईको कार्य मानवीय सेवा भएको हुँदा सहकारीले आफ्ना शेयर सदस्यहरुलाई त्यस्ता कार्यक्रममा प्रेरित गर्न प्रमुख न्यौपानेल आग्रह गरे ।
सहकारीका अध्यक्ष प्रदिपराज अधिकारीले व्यास सहकारीले स्थापनादेखि नै विभिन्न सामाजिक काम गर्दै आएको भन्दै रक्तदानलाई पनि त्यसैको निरन्तरताको रुपमा लिईएको बताए । सहकारीका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।