दमौली/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर समितिले महाधिवेशन प्रतिनिधि राजु दाहालको पार्टी सदस्यता खारेजीका लागि अनुशासन आयोगमा सिफारिस गरेको विज्ञप्ति आयो ।

नगर सचिव भाग्यशाली ढुङ्गानाद्वारा जारी विज्ञप्ति अनुसार दाहालले पार्टी हितविपरीत गुटबन्दी गरेको, सार्वजनिक स्थानमा भोजभतेर आयोजना गरी नेतृत्वप्रति कटाक्ष गरेको र पद बाँड्दै हिँडेको आरोप लगाइएको छ । यसअघि पनि गुटबन्दी र विवादका कारण राजीनामा दिएका दाहाललाई २०८२ माघ १२ गते अनुशासनमा रहने शर्तमा पुनः सक्रिय गराइएको थियो । उजुरीको अन्तिम निर्णय नआउञ्जेल उनलाई पार्टीका कुनै पनि गतिविधिमा संलग्न नगराउन समितिले सूचित गरेको छ ।
यसैबीच, साउन १५ मा तनहुँसुरमा भएको भेटघाटलाई आधार मानेर गरिएको कारबाही सिफारिसप्रति राजु दाहालले सोही भेलाको फोटो सहित समाजिक सञ्जाल मार्फत कडा आपत्ति जनाएका छन् । फेसबुकमा आफ्नो धारणा राख्दै उनले उक्त कदमलाई आधारहीन, पूर्वाग्रहपूर्ण र प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको दाबी गरेका छन् । सत्य र लोकतान्त्रिक मूल्यका लागि कानुनी तथा संगठनात्मक माध्यमबाट प्रतिकार गर्ने उनको भनाइ छ ।
त्यस्तै, रास्वपा प्रवास नेपाली सम्पर्क विभाग नर्वेका संस्थापक संयोजक सरोज थापाले पनि दाहालमाथिको कारबाहीप्रति असहमति जनाएका छन् । थापाले तथ्य र प्रमाणबिना गरिएको निर्णयले सांगठनिक मर्यादामाथि प्रश्न उठाउने भन्दै निष्पक्ष छानबिन र संवादमार्फत समाधान खोज्न भनेका छन् ।
दाहालको कारवाही सिफारिस पछि विभिन्न कोणबाट बहस हुन थालेको छ । व्यास नगर सभापति रहेका चुडामणी दाहाल र कारवाही सिफारिस गरिएका राजु दाहाल दुवै मेडिकल व्यवसायी हुन् । व्यवसायिक प्रतिस्पर्धामा रहेको तुस कतै कारवाही मार्फत प्रकट भएको त होइन ? भन्ने आशंका गर्नेहरु पनि भेटिए ।
यसैगरी रास्वपाको पहिलो महाधिवेशनमा राजु दाहालले जित हात नपारे पनि सम्मानजनक मत हासिल गरे । यसले स्थानीय र प्रादेशिक स्तरको राजनीतिमा रुमल्लिएका विश्व बास्तोला लगाएतका नेतामा दाहालले आफुहरुलाई उछिन्न लागेको अनुभूति भएको र त्यसलाई रोक्न कारवाहीको डण्डा चलाइएको त होइन भन्ने आशंका पनि गरिएको छ ।
असार ३२ मा नेता दाहालले लामो स्टेटस सहित रास्वपाका सांसद अमरेशकुमार सिंहसंगको तस्वीर सार्वजनिक गरेपछि अमरेश जस्तै दाहाल पनि रास्वपा प्रति असन्तुष्ट रहेको बुझाइ पनि कतिपयको रहेको छ ।
कुरोको चुरो आसन्न स्थानीय निर्वाचनमा व्यास नपाको मेयर पदको टिकट कसले हात पार्ने भन्नेमा रहेको कतिपयको विश्लेषण छ । अरु तर्क र प्रश्न तपसिलका भएको बताउने उनीहरु मेयर पदको टिकटको एकल दावेदार हुन जिल्ला सभापति बास्तोलाले अर्का आकांक्षी दाहाललाई पन्छाउन कारवाहीको सहारा लिएको तर्क गर्छन् । उपसभापति स्वर्णीम वाग्ले निकट मानिने दाहालले बास्तोलालाई पछि पारेर मेयरको टिकट हात पार्ने सम्भावनालाई नकार्न नसकिने उनीहरुको दलिल छ ।
