वक्तृत्वकलादेखि शोभायात्रा र विद्वत प्रवचनसम्म
दमौली/सनातन धर्मका महान दर्शनशास्त्री, अष्ट चिरञ्जीवीमध्येका एक महर्षि वेदव्यासको अवतरण दिवस
(व्यास जयन्ती तथा गुरु पूर्णिमा) उनको पवित्र जन्मस्थल एवं साधनाभूमि दमौलीमा विभिन्न गरिमामय कार्यक्रमका सहित मनाइएको छ ।
व्यास नगरपालिका र स्थानीय धार्मिक तथा सामाजिक संघ–संस्थाहरूको अगुवाइमा साउन ११ गतेदेखि सुरु भएका विविध कार्यक्रमहरू साउन १३ गते विशेष शोभायात्रा र विद्वानहरूको प्रवचन र बालन नाँचसँगै समापन भएका छन् ।
कार्यक्रमको पहिलो दिन साउन ११ गते वेदअनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमिति तनहुँको आयोजनामा व्यास–३ स्थित पवित्र व्यास गुफा क्षेत्रमा विशेष पूजाआराधना गरियो । सो अवसरमा आयोजित प्रवचन, साहित्यिक रचनावाचन तथा भजन प्रतियोगिताले व्यास क्षेत्रको आध्यात्मिक वातावरणलाई थप गुञ्जायमान बनाएको थियो । कार्यक्रममा उपस्थित वक्ताहरूले वेदव्यासको दर्शन र उनको जन्मभूमिको वैश्विक महत्वमाथि प्रकाश पारेका थिए ।

व्यास क्षेत्र शिव पाञ्चायन विकास कोषको आयोजनामा साउन १२ गते मंगलबार माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । नयाँ पुस्तालाई व्यासको आदर्श र पौराणिक इतिहाससँग जोड्ने उद्देश्यले आयोजित सो प्रतियोगितामा विद्यार्थीहरूले उत्सुकतापूर्वक भाग लिएका थिए ।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै सत्यवती माध्यमिक विद्यालयकी जेशिका प्रथम, महर्षि वेदव्यास माध्यमिक विद्यालयका सुशान्त सुवेदी द्वितीय तथा सत्यवती माध्यमिक विद्यालयकै जोनिसा चिलवाल तृतीय हुन सफल भए । यसैगरी, समीक्षा थापाले सान्त्वना पुरस्कार प्राप्त गरिन् भने पराशर आवासीय माध्यमिक विद्यालयकी एन्जी मल्ल विशेष प्रोत्साहन पुरस्कारबाट सम्मानित भइन् ।
साउन १३ गते व्यास जयन्ती तथा गुरु पूर्णिमाका दिन बिहान दमौलीको अनसन चौतारीबाट विभिन्न परम्परागत बाजागाजा र सांस्कृतिक झाँकीसहितको भव्य शोभायात्रा निकालियो । उक्त शोभायात्रा व्यास नगरपालिकाको परिसरमा पुगी त्यहाँ स्थापित महर्षि वेदव्यासको पूर्णकदको शालिकमा माल्यार्पण तथा पूजा–अर्चना गरिएको थियो ।
तत्पश्चात् बजार परिक्रमा गर्दै ¥याली व्यास गुफास्थित सभाहलमा पुगेर औपचारिकतामा परिणत भएको थियो । समापन समारोहमा महर्षि व्यासको प्राज्ञिक योगदान, अठार पुराण, श्रीमद्भागवत र वेदको वर्गीकरणमा उनको भूमिकाबारे विशेष प्राज्ञिक प्रवचन प्रस्तुत गरिएको थियो ।
व्यास जयन्ती केवल एउटा धार्मिक पर्व मात्र होइन, यो नेपाली माटोमा जन्मिएका विश्वकै महान् दार्शनिकको प्राज्ञिक तथा आध्यात्मिक विरासतलाई स्मरण गर्ने ऐतिहासिक दिन हो । पौराणिक इतिहासलाई केलाउँदा महर्षि व्यास महाभारतका रचयिता मात्र नभएर त्यस कालखण्डका एक जीवन्त र केन्द्रीय पात्र पनि हुन् । ऋषि पराशर र सत्यवतीको आध्यात्मिक समागमबाट व्यासको जन्म भएको मानिन्छ ।
संसारलाई ज्ञानको उज्यालो छर्ने वेद, महाभारत र पुराणका सर्जक व्यासले स्वयं भगवान् महर्षि व्यासले दत्तात्रयलाई समेत दीक्षित गरेको शास्त्रहरूमा उल्लेख छ । ज्ञानलाई संकलन गरी चार वेदमा वर्गीकरण (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद) गरेका कारण नै उनलाई वेदव्यास भनिएको हो । यसैगरी अपरान्ह वेदव्यास वैद्धिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान तनहुँले बालन नाँच मञ्चन गराएको थियो ।
वर्षेनी आयोजना गरिने यस्ता कार्यक्रमले व्यास भूमिको ऐतिहासिक र पौराणिक महत्वलाई विश्वस्तरमा चिनाएको छ । विद्यालय स्तरीय कार्यक्रमहरूले इतिहास र संस्कृति हस्तान्तरणमा टेवा पु¥याएका छन् भने विद्वानहरूको सहभागिताले व्यास भूमिलाई अन्तर्राष्ट्रिय आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न मार्गप्रशस्त गरेको छ । व्यास न.पा., वेदअनुयायी प्रतिष्ठान, व्यास क्षेत्र शिव पाञ्चायन विकास कोष समेतको यो संयुक्त प्रयास सह्राहनीय छ ।
