
नेपाली साहित्य र राष्ट्रियताको इतिहासमा आदिकवि भानुभक्त आचार्यको नाम स्वर्णाक्षरले लेखिएको छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्त केवल एक कवि मात्र थिएनन्, बरु विभिन्न जातजाति र भूगोलमा छरिएर रहेका नेपालीहरूलाई भावनात्मक रूपमा एउटै माध्यम भाषा (नेपाली) मार्फत जोड्ने एक युगपुरुष हुन् । हरेक वर्ष असार २९ गते देश तथा विदेशमा रहेका नेपाली भाषीहरूले भानु जयन्ती भव्यताका साथ मनाउँदै आएका छन् । यसै सन्दर्भमा, लमजुङका कवि केशवराज अधिकारीले २१३ औं भानु जयन्तीको अवसरमा व्यक्त गरेका भावपूर्ण पंक्तिहरूले भानुभक्तको अमरता र नेपाली जनमानसमा उनको गहिरो छापलाई स्पष्ट पार्दछ ।
कवि अधिकारी लेख्छन्,
तारा एक थियौ अनन्त नभमा साहित्यले सज्जित
पढ्छन सुन्दर स्वरमा जनहरु ठान्छन खुबै गर्वित ।
कत्ती भुल्न सकिन्न स्लोकहरुमा देखिन्छ भक्ती तहाँ
साँच्चैँ भानु समान भानु तिमिछौ सम्झन्छु मैले यहाँ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समिति र भानु नगरपालिकाको सहकार्यले भानु जयन्तीलाई केवल एक औपचारिकतामा मात्र सीमित नराखी व्यापक सामाजिक र सांस्कृतिक जागरणको पर्वका रूपमा स्थापित गरेको देखिन्छ । प्राप्त ऐतिहासिक तालिका अनुसार, नगरपालिका र विकास समितिले स्थानीय स्तरमा सप्ताहव्यापी रचनात्मक कार्यक्रमहरूको आयोजना गरी जनसहभागिता र साहित्यिक जागरणलाई तल्लो तहसम्म पु¥याउने सराहनीय प्रयास गरेका छन् ।
कार्यक्रमको रूपरेखा नियाल्दा, सामुदायिक सरसफाइदेखि खुला कविता प्रतियोगिता र रामायण वाचनसम्मका विधा समेटिनुले समाजका हरेक वर्गलाई राष्ट्रियता र साहित्यको मूलधारमा समेट्ने उद्देश्य राखेको प्रष्ट हुन्छ ।
असार २५ देखि २७ गतेसम्मः टोल सुधार समिति मार्फत सरसफाइ, रक्तदान, र स्थानीय मठ–मन्दिरमा पूजा अर्चना तथा दीपावली जस्ता सामाजिक एवं सांस्कृतिक कार्यक्रमहरू राखिनुले साहित्यलाई सिधै सामाजिक उत्तरदायित्व र मानवीय कार्यसँग जोडेको देखिन्छ ।
असार २८ र २९ गते(मुख्य उत्सव)ः रामायण वाचन प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, कविता वाचन, प्रभातफेरी, झाँकी प्रदर्शन, र पुरस्कार वितरण जस्ता विशुद्ध साहित्यिक तथा विधागत कार्यक्रमहरूले स्थानीय प्रतिभा प्रस्फुटन र वाङ्मयको प्रवद्र्धनमा टेवा पु¥याउँछन् ।
भानुभक्तको साहित्यिक यात्रा र जीवन दर्शनको सबैभन्दा बलियो जग घाँसीसँगको भेट नै हो । कविराज नरनाथ आचार्यको विसं २०१८ मा प्रकाशित भानुभक्त र घाँसी शीर्षकको कवितामा उल्लेख भए बमोजिम, एक सामान्य घाँसीले घाँस काटेर, घामपानी नभनी आर्जन गरेको धनले समाजका लागि कुवा खनाएको र आफ्नो नाम राख्ने इच्छा व्यक्त गरेको प्रसङ्गले भानुभक्तको आँखा खोलिदिएको थियो । सोही ऐतिहासिक प्रेरणाले भानुभक्तलाई समाजका लागि कालजयी योगदान दिन उत्प्रेरित ग¥यो ।
घाँसीको त्यो हितोपदेशले भानुभक्तलाई भौतिक सम्पत्तिभन्दा सामाजिक र साहित्यिक कीर्ति कति महान् हुन्छ भन्ने शाश्वत दर्शन सिकाएको थियो, जसले गर्दा कापी, कलम र मसी समेत सहज उपलब्ध नहुने त्यो विषम परिस्थितिमा पनि उनले अनुपम काव्यहरूको सिर्जना गरे ।
संस्कृत भाषाको रामायणलाई सरल, सरस र जनजिब्रोले बुझ्ने नेपाली भाषामा अनुवाद गर्नु भानुभक्तको असाधारण सामथ्र्य हो । आज भानुभक्तका सिर्जनाले नेपाली साहित्य भण्डार मात्र भरिएको छैन, बरु विश्वभर छरिएर रहेका नेपालीहरूका बीचमा बलियो भाषिक एकता कायम राखेको छ ।
भानु नगरपालिका र जन्मस्थल विकास समितिले भानु जयन्तीको अवसरमा तय गरेका यी कार्यक्रमहरूले भानुभक्तको जन्मस्थल चुँदी रम्घा र प्रेरणास्थल घाँसीकुवाको ऐतिहासिक गरिमालाई जोगाउन ठूलो भूमिका खेलेका छन् । आगामी दिनमा भानुभक्तका कृतिहरू र उनको योगदानमाथि थप गहन खोज, अनुसन्धान र डिजिटल प्रविधिको प्रयोग गरी विश्वव्यापीकरण गर्न आवश्यक देखिन्छ । भानुका कृतिको अमरताको कामनाका साथै हामी सबैमा साहित्यिक र भाषिक चेतना जागृत भइरहोस् भन्ने पनि कामना ।
