दमौली/तनहूँ जिल्ला अदालतका न्यायाधीश, कानुन व्यवसायी र कर्मचारीहरुलाई फौजदारी संहिता चुनौतीका विषयमा एक दिवसीय छलफल र अन्तरक्रिया गर्न व्यास नगरपालिकाले सघाएको छ ।
व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने बरिष्ठ अधिवक्ता रहेको तनहुँ बारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यास नगरपालिकाले चालीस हजार आर्थिक अनुदान सहयोग दिएर अपराध, देवानी संहिता, स्थानीय सरकारको न्यायीक अधिकार र कार्यविधिगत अभ्यास समेतका समसामयिक विषयमा छलफल अन्तरक्रिया गरिएको थियो ।

तनहूँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले देवानी संहितासंग सम्बद्ध विषयमा, न्यायाधीश राजेशकुमार कटुवालले अपराध संहिता सम्बद्ध विषयमा र न्यायाधीश शम्भुप्रसाद बरालले स्थानीय तहको न्यायीक अधिकार र कार्यविधिगत अभ्यासका बारे सहजीकरण गर्नुभएको थियो । बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले समग्र कानुन व्यवसायीले अदालत र कर्मचारीबाट अपेक्षा राखेका सवालमा धारणा राख्नु भएको थियो भने स्रेस्तेदार नन्दप्रसाद आचार्यले अदालतले कानुन व्यवसायीबाट अपेक्षा राखेका सवालमा धारणा राख्नुभएको थियो । धेरै लामो समय बार बेञ्चको बैठक नबसेको सन्दर्भमा यो अन्तरक्रियाले बार बेञ्चको बैठक जस्तो पनि अभाष दिएको थियो ।
तनहुँ जिल्ला नेपाल बार एशोसिएशनको अध्यक्ष सरीता थापा भण्डारीको अध्यक्षतामा उद्घाटन भएको सो अन्तरक्रिया कार्यक्रममा तनहुँ जिल्लामा कार्यरत अधिकाँश कानुन व्यवसायीहरु र शाखा अधिकृतहरु समेतको सहभागिता रहेको थियो ।
