दमौली/माहेन्द्रेश्वर महादेव मन्दिरमा सञ्चालन भइरहेको पुरुषोत्तम महायज्ञको चौँथो दिन बुधबारसम्ममा सहभागि दानवीहरुबाट नौ लाख बराबरको दान भएको आयोजकले बताएको छ ।
दानवीर भक्तजनहरु कथा श्रवण, दानबाट पूण्यलाभ हुने धार्मिक विश्वासले दैनिक जस्तो भक्तजनहरुको उत्साहजन जनसहभागिता रहेको आयोजकले बताए । कथा श्रवण, धार्मिक अनुष्ठान तथा विविध कार्यक्रम अवलोकन गर्न टाढाटाढाबाट श्रद्धालु भक्तजनहरुको आगमनले महायज्ञस्थल व्यास नगरपालिका–९ माझफाँट अहिले एउटा धार्मिक स्थल जस्तो धार्मिक पर्यटकीय स्थल बनेको स्थानीय बताउँछन् ।
महायज्ञमा यसअघिका दिनमा भन्दा बुधबार भक्तजन धेरै आएको र दान संकलन पनि धेरै भएको महायज्ञका आर्थिक संयोजक नारायण न्यौपानेले बताए ।
व्यास नगरपालिका–९ माझफाँटस्थित शिवालय माहेन्द्रेश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजनामा सञ्चालित महायज्ञमा चौथो दिन विभिन्न व्यक्ति तथा संघसंस्थाबाट करिब ६ लाख रुपैयाँ बराबरको दान संकलन भएको र अहिलेसम्म करिब ९ लाख रूपया पुगेको आयोजकले जनाएको छ । यसबाहेक अन्य धेरै भक्तजन तथा शुभेच्छुकहरूले आर्थिक तथा नैतिक सहयोग प्रदान गरेका वडा सदस्य सन्तोष जिसीले जानकारी दिए ।
जेठ २४ गतेदेखि सुरु भएको महायज्ञ ३१ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको संस्थाका सदस्य भोटबहादुर थापाले बताए । महायज्ञमा १८ पुराणका सरस प्रवक्ता बालव्यास नारायण न्यौपानेले दैनिक कथा वाचन गरिरहेका छन् ।
समिति अध्यक्ष बामदेव न्यौपानेको अध्यक्षतामा सञ्चालन भइरहेको कार्यक्रममा सहजीकरण भोटबहादुर थापाले गरिरहेका छन् ।
धार्मिक अनुष्ठानमार्फत मन्दिर संरक्षण, धार्मिक पर्यटन प्रवद्र्धन तथा पञ्चमन्दिर निर्माणका लागि आवश्यक सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको आर्थिक संयोजक नारायणप्रसाद न्यौपानेले जानकारी दिए ।
