दमौली/गृहमन्त्री सुदन गुरुङले बुधबार पदबाट राजिनामा दिएका छन् । विवादास्पद व्यापारी दीपक भट्टसँगको व्यापारिक कनेक्सन र केही इन्स्योरेन्स कम्पनीमा लगानी देखिएपछि विवादमा परेका उनलाई प्रधानमन्त्री बालेन्द्र शाहले मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए ।
२०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै पदबाट राजीनामा दिएको फेसबुक मार्फत जानकारी गराएका छन् ।

उनले गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको र आफ्ना लागि पदभन्दा ठूलो नैतिकता भएको उल्लेख गरेका छन् । गुरुङ भनेका छन्, जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइ बहिनीहरुको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो । आफुसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले गृह मन्त्री पदबाट राजीनामा दिएको गुरुङले उल्लेख गरेका छन् । उनले आफ्नो तर्फबाट नैतिक जिम्मेबारी निर्वाह गरेको बताउँदै यदि साँच्चै परिवर्तन चाहने हो भने सत्य, इमान्दारी र आत्मशुद्धिको बाटोमा सबै उभिनै पर्ने जिकिर गरेका छन् ।
यसअघि कार्यभार सम्हालेको १४ दिनमै तत्कालीन श्रममन्त्री दीपक कुमार साहलाई पनि पदमुक्त गरिएको थियो । क्षेत्राधिकार बाहिरको अभिव्यक्ति र श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा सदस्य बनाएर पदको दुरुपयोग गरेको ठहर भएपछि रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा उनलाई हटाइएको थियो । यो प्रकरणमा मुछिएकी स्वास्थ्यमन्त्री निशा मेहतालाई समेत दलले सचेत गराएको थियो ।
