दमौली/बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि ‘होमस्टे सर्किट प्रवद्र्धन’ कार्यक्रम सुरु गरेका छन् ।
शनिबार बन्दीपुरबाट सुरु भएको यो अभियान रामकोट, कुलुङ, रुम्सी हुँदै केशवटार पुगेर अन्तरक्रियामा परिणत भएको थियो ।
दुई स्थानीय तहका होमस्टेहरूलाई जोडेर पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो । यो सर्किटले बन्दीपुरका रामकोट, धरमपानी, हुस्लाङकोट, कोरिखा र व्यास नगरपालिकाका कुलुङ, रुम्सी तथा केशवटार जस्ता ग्रामीण बस्तीहरूलाई समेट्नेछ ।
होमस्टे सञ्चालन, पूर्वाधार विकास, स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्याकेज निर्माणका विषयमा सरोकारवालाहरूबीच छलफल भएको कार्यक्रममा बोल्दै व्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपाने होमस्टे सर्किटले दुई पालिकाबीचको सहकार्य मजबुत बनाउने र ग्रामीण पर्यटनलाई एकीकृत गर्ने बताए ।
बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुरलाई केन्द्रमा राखेर आसपासका गाउँहरूको संस्कृति र परम्परालाई पर्यटनसँग जोड्न यो कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे । कार्यक्रममा पर्यटन विज्ञ र व्यवसायीहरूले यस अभियानले नयाँ गन्तव्यको पहिचान गर्ने र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए ।
बन्दीपुर–व्यास ‘होमस्टे सर्किट’ प्रवद्र्धन प्रारम्भ
previous post
