
हरेक वर्ष मार्च २४ (चैत्र १० गते) का दिन विश्वभर क्षयरोग दिवस मनाइन्छ । यस वर्ष “हो ! हामी टीबी अन्त्य गर्छौ । राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने दृढ सङ्कल्पका साथ यो दिवस मनाइएको छ । क्षयरोग केवल स्वास्थ्य समस्या मात्र नभई एउटा सामाजिक चुनौती पनि हो, जसलाई सामूहिक प्रयासबाट मात्रै परास्त गर्न सकिन्छ ।
तथ्याङ्क अनुसार विश्वको एक तिहाइ र नेपालको झण्डै आधा जनसंख्या क्षयरोगको कीटाणुबाट सङ्क्रमित छ । यसको अर्थ हो, कोही दुइजना मध्ये एक जनामा क्षयरोगको विषाणु सुसुप्त अवस्थामा भनेपनि रहेको छ । नेपालमा प्रतिवर्ष करिब ४० हजार नयाँ बिरामी थपिन्छन् भने ५ देखि ७ हजार व्यक्तिको यसैका कारण मृत्यु हुने गरेको छ ।
तनहुँको कुरा गर्ने हो भने यस वर्षमात्र १८३ जनामा यो रोग देखापरेको छ । व्यास नगरपालिका यो रोगको जोखिमका हिसाबले सबैभन्दा उच्च स्थानमा रहेको छ । यस वर्षमात्र ८० जना क्षयरोगी भेटिनुले यो संकेत गरेको छ । बाक्लो सहरी क्षेत्र भएकाले व्यासमा यो जोखिम बढी रहेको हुन सक्छ । त्यसैले व्यासले अतिरिक्त सावधानी अपनाउनु र सचेतनाका थप कार्यक्रम गुर्न आवश्यक छ ।
विशेषगरी गरिबी, अशिक्षा, धूमपान र मद्यपानका कारण यो रोगको जोखिम बढ्दो छ । रोग लुकाउने प्रवृत्ति र उपचारमा पहुँचको कमीले गर्दा लक्ष्य प्राप्तिमा बाधा पुगिरहेको छ । जेष्ठ नागरिकहरुलाई यो रोगले छिट्टै समात्ने भएकाले उनीहरुको स्वास्थ्य र पोषणमा विशेष ध्यान दिनु पर्ने देखिन्छ । मधुमेहका रोगीहरुमा संक्रमणको जोखिम १० गुणा बढी हुने तथा एचआइभी संक्रमितमा झन १८ गुणा संक्रमणको जोखिम बढी हुने भएकाले यता तर्फपनि हाम्रो ध्यान जानु जरुरी छ ।लामो समयदेखि मृगौला वा क्यान्सरको औषधि सेवन गरिरहेकाहरू पनि संक्रमणको जोखिममा हुन्छन् ।
ध्यान दिनुपर्ने कुरा के छ भने एउटा क्षयरोग संक्रमितले समयमा उपचार नगर्दा उसले अरु स्वस्थ १० देखि १५ जनालाई रोग सार्न सक्छ । त्यसैले क्षयरोगका लक्षणहरु देखिना साथ सामाजिक भेदभाव, अवहेलना आदिको कुनै डर नराखी परिक्षण गराउनु र उपचार गर्नु जरुरी छ । नेपालको सबै स्वास्थ्य संस्थामा यसको परिक्षण र उपचार निःशुल्क उपलब्ध छ ।
क्षयरोग सर्नबाट जोगिन र समयमै उपचार गर्न निम्न लक्षणहरू देखिनासाथ स्वास्थ्य परीक्षण गराउनु पर्छ । बिरामीले खोक्दा, हाच्छिउँ गर्दा वा थुक्दा निस्कने मसिना थोपाहरू हावाको माध्यमबाट स्वस्थ मानिसको शरीरमा पुग्ने भएकाले संक्रमणबाट जोगिन सतर्कता अपनाउनु पर्छ । यसका साथै नराम्रोसँग हावा ओहोरदोहोर हुने कोठा वा धेरै भीडभाड हुने ठाउँमा बस्दा संक्रमणको जोखिम उच्च हुने भएकाले यस्तोबाट पनि जोगिनु पर्छ ।
तीन हप्ता वा सोभन्दा बढी समय लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो आउनरु र राति सुतेको बेला पसिना आउने , खान मन नलाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने वा सास फेर्न गाह्रो हुने तथा अचानक शरीरको तौल घट्ने, दुब्लाउँदै जाने, अत्यधिक थकान महसुस हुने तथा खोक्दा वा लामो सास फेर्दा छाती दुख्ने भएमा तुरुन्त स्वास्थ परिक्षण गरी टिबी भए नभएको एकिन गरेर यदि भएको भए चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्छ ।
नेपालले सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य गर्ने र सन् २०५० सम्ममा क्षयरोग मुक्त देश बनाउने महत्वाकांक्षी लक्ष्य राखेको छ । यो लक्ष्य हासिल गर्न सरकारी प्रयास मात्र पर्याप्त हुँदैन । यस वर्षको नाराले भने झैं हामी सम्पूर्ण नेपालीको साझा संकल्प र योगदानले लक्ष्य प्राप्तलाई सहज बनाउँछ ।
सरकारले देशभर निःशुल्क औषधीको व्यवस्था गरेको छ, जसको नियमित सेवनले रोग पूर्ण निको हुन्छ । गाउँ–गाउँसम्म स्वास्थ्य शिक्षा पु¥याउनु र बिरामीलाई सामाजिक बहिष्कार गर्नुको सट्टा सहयोग गर्नु आवश्यक छ । धूमपान र मद्यपान त्यागेर रोग प्रतिरोधात्मक क्षमता बढाउने खानपानमा जोड दिनुपर्छ ।
भनिन्छ, “रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो ।” हामी सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्ने हो भने क्षयरोगलाई इतिहासको पानामा सीमित गर्न असम्भव छैन । दैनिक औसत थपिने १९० क्षयरोगीमध्ये हामी आफै त होइनौं ? विचार गरौं र समयमै परिक्षण र उपचार गरौं ।
