प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को आज महत्वपूर्ण दिन । आज देशभरका एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता आफ्नो मत मार्फत नेपालको भविष्य कोर्ने काममा संलग्न छन् । तनहुँ जिल्लामा दुई लाख ५४ हजार ३९७ मतदाता छन् । यसमा महिला मतदाताको संख्या एक लाख ३० हजार ९०६ तथा पुरुष मतदाता एकलाख २३ हजार ४९१ रहेका छन् ।
दश स्थानीय निकायका ८५ वडा रहेको तनहुँमा जिल्ला भर एकसय ४४ मतदान स्थल तथा तीनसय नौ मतदान केन्द्र रहेका छन् । ४२ वडा रहेको क्षेत्र नं १ मा ६५ हजार १०४ महिला तथा ६१ हजार ७७८ पुरुष गरी कूल एकलाख २६ हजार ८८२ मतदाता रहेका छन् । यो क्षेत्रमा ६९ मतदान स्थल तथा १५३ मतदान केन्द्र रहेका छन् । ४३ वडा रहेको निर्वाचन क्षेत्र नं २ मा ६५ हजार ८०२ महिला तथा ६१ हजार ७१३ पुरुष गरी कूल एकलाख २७ हजार ५१५ मतदाता रहेका छन् । यहाँ ७५ मतदान स्थल र १५६ मतदान केन्द्र रहेका छन् ।
पुरुषको तुलनामा महिला मतदाताको संख्या धेरै हुनुले राजनीतिमा महिलाको सक्रियता र निर्णायक भूमिका बढ्दै गएको सुखद संकेत गर्दछ । निर्वाचन क्षेत्र नं १ र २ मा लगभग समान संख्यामा मतदाता रहनुले निर्वाचन क्षेत्र निर्धारणमा रहेको सन्तुलनलाई समेत पुष्टि गर्दछ । यतिबेला निर्वाचन सम्पन्न गर्नका लागि सुरुक्षा निकाय, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगेर सम्पूण तयारी सकि मतदान प्रक्रिया आरम्भ गर्न तयार भएर बसेका छन् ।
निर्वाचन केवल संख्याको खेल होइन, यो आगामी पाँच वर्षका लागि आफ्नो प्रतिनिधि छान्ने महाअभियान हो । तनहुँका १० स्थानीय तहका ८५ वडामा छरिएका मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्दा उम्मेदवारको योग्यता, क्षमता र एजेन्डालाई मुख्य आधार बनाउनु पर्दछ । निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । तर निर्वाचनको वास्तविक सफलता शान्तिपूर्ण मतदान र मतदाताको सक्रिय सहभागितामा निर्भर गर्दछ । व्यासको सहरी क्षेत्रदेखि देवघाटका दुर्गम बस्तीसम्मका हरेक नागरिकले निर्धक्क भएर मतदान गर्ने वातावरण निर्माण गर्नु प्रशासन र राजनीतिक दलहरूको साझा कर्तव्य हो । आशा गरौं सबैले आ–आफ्नो ठाउँबाट सहि ढंगले कर्तव्य निर्वाह गर्दा सफलता पूर्वक निर्वाचन सम्पन्न हुनेछ र देशले संक्रमणबाट मुक्ति पाउने छ ।
शान्तिपूर्ण निर्वाचनको अपेक्षा-सम्पादकीय
previous post
