बन्दिपुर/नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट तनहुँ–१ का उम्मेदवार विद्या ढकालले आफ्नो निर्वाचन क्षेत्रमा
घरदैलो र मतदाता भेटघाटलाई तीव्र बनाएका छन् ।

मंगलबार ढकालले बन्दिपुर गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । उनले बन्दिपुरका बस्तीहरूमा पुगेर स्थानीयका समस्या सुन्नुका साथै आफ्नो योजना सुनाएका थिए ।
मतदाताहरूसँगको छलफल र अन्तरक्रियामा ढकालले नीतिगत सुधार र स्थानीय विकासलाई जोड दिएका छन् । अलपत्र अवस्थामा रहेको घुमाउने पुल निर्माणलाई तदारुकताका साथ अगाडि बढाउने, प्राविधिक शिक्षाको विस्तार र स्थानीयस्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्ने, बन्दिपुरको पर्यटनलाई व्यावसायिक बनाउँदै स्थानीयको आर्थिक अवस्था सुधार्ने योजना बन्दिपुरका स्थानीयलाई उनले सुनाए ।
देशको समग्र विकासका लागि संसदमा प्रभावकारी नीतिगत हस्तक्षेप गर्नु जरुरी रहेको बताउँदै ढकालले जनताको आधारभूत आवश्यकता पूरा गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, हामी कुरा होइन, काममा विश्वास गर्छौं ।
