दमौली/व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा आयोजना गरेको आठौं अल्ट्रा म्याराथनमा नेपाली सेनामा कार्यरत बझाङका करन रावल प्रथम भएका छनर । रावलले निर्धारित ४४ किमि दूरी दुई घण्टा ४८ मिनेट २७ सेकेन्डमा पार गरेर प्रथम भएका हुनर । उनले पुरस्कार स्वरुप नगद रु ८५ हजार ८२ तथा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै रामेछापका तिलक बहादुर सुनुवारले दुई घण्टा ५८ मिनेटमा उक्त दूरी पूरा गर्दै द्वितीय स्थान हासिल गरे भने रामेछापकै होमलाल श्रेष्ठले तीन घण्टा चार मिनेटमा दूरी पार गर्दै तृतीय स्थान हासिल गरे । सुनुवार र श्रेष्ठ दुबै नेपाली सेनामा कार्यरत छन् । प्रतियोगितामा काठमाडौका श्रीकाश राई, एपिएफका राजन चौधर र सोलुखुम्बुका मिलन कुलुङ,अर्जुन कुलुङ र रुकुमका दुर्गाराज बुढाले सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियोगितामा द्वितीय हुनेले नगद रु ६५ हजार ८२, तृतीय हुनेले नगद रु ५५ हजार ८२ पुरस्कार प्राप्त गरे । सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ८२ नगद पुरस्कार प्रदान गरियो ।
व्यास नगरपालिका –५ मानहुँकोटबाट प्रारम्भ म्याराथन सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–दुर्गा मन्दिर–अनसन चौतारी–सफासडक–भोर्लेटारचोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा शहीद स्मारक पार्क पुगेर सकिएको थियो ।
यस अघि म्याराथनको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले गरेका थिए । उक्त अवसरमा बोल्दै श्रेष्ठले म्याराथनले दुई गाउँलाई चिनाउन सहयोग पुग्ने बताएका थिए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले मानुङकोटलाई उच्च प्राथमिकतामा राखेको बताउँदै खेलकुदका माध्यमबाट पर्यटनको विकास प्रयास गरिएको उल्लेख गरेका थिए ।
